कला

‘दी गिफ्ट’लाई तीन लाख पुरस्कार

पुरस्कारवापतको चेक लिँदै विजेता सुनिल ।   तस्बिरः नागरिक

काठमाडौं – ओस्कार इन्टरनेशनल फिल्म कलेजमा सम्पादन विधामा स्नातक अध्ययनरत युवा सुनिल गुरुङले लेखेको स्क्रिप्ट ‘नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसन ३’मा उत्कृष्ट भएको छ । काठमाडौं स्वयम्भूका सुनिलको स्क्रिप्ट ‘दी गिफ्ट’ले उत्कृष्टसँगै ३ लाख रुपैंयाँ राशीको पुरस्कार जितेको छ । प्रतियोगिता ग्रिन हिल्स इन्टरटेनमेन्ट र न्यू नेपाली सिनेमा (ब्लग)ले आयोजना गरेको हो।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा विजेता गुरुङलाई फिल्म निर्माता छविराज ओझा, आयोजक संस्थाका मनोज अधिकारीलगायतले ३ लाख रुपैंयाँको चेक दिएका थिए । गुरुङले प्रतिष्पर्धामा सहभागी १ सय ४९ प्रतिष्पर्धीलाई पछि पार्दै यो पुरस्कार जितेका हुन् । यो प्रतिष्पर्धामा १ सय ५० मध्येबाट उत्कृष्ट ३० छानिएको थियो।

विजेता गुरुङका अनुसार उनको स्क्रिप्टमा युवापुस्ताको प्रेमकथालाई प्रस्तुत गरिएको छ । ‘दी गिफ्टमा एक जोडीको प्रेमकथालाई प्रस्तुत गरेको छु । कथामा किशोर आर्मी हुन्छन् र किशोरी नर्स हुन्छिन् । उनीहरूकै वरीपरी रहेर कथा लेखेको छु,’पुरस्कृत भएपछि सुनिलले भने, ‘मैले एक वर्ष अघि नै कथा लेखेको थिएँ । तर प्रतियोगिताको लागि फाइनल गर्न झण्डै दुई महिना लाग्यो । मैले पहिल्यै देखि सानोतिनो कथा लेख्ने भएकाले पनि साथीभाईले मलाई हौस्याए ।’ प्रतिष्पर्धाको उत्कृष्ट तीनमा गुरुङको स्क्रिप्टसहित रियाज नतकारको ‘मी र म’ र विपिन भुषालको ‘अड वान आउट’ थिए।

आयोजक संस्थाका अधिकारीले सरकारी निकायले गर्नुपर्ने काम निजी संस्थाले गर्नुपरेको बताए । ‘खासमा सरकारी निकाय चलचित्र विकास बोर्ड र सरोकारवाला निकायले यस्तो कार्यक्रम गर्नुपर्ने हो । त्यस्तो वातावरण नदेखेपछि हामी आफैले यो प्रतियोगिता गरेका हौं,’फिल्म निर्माता तथा निर्देशकसमेत रहेका अधिकारीले भने,‘म अष्ट्रेलियामा बसेरै भए पनि नेपालमा यो कार्यक्रम गरिरहेको छु।’

निर्माता छविराज ओझाले फिल्मका लागि स्क्रिप्ट नै महत्वपूर्ण विषय रहेको बताए । ‘हामीले पहिले फिल्म बनाउँदा फाइट, गीतलाई जोड दिन्थ्यौं । त्यो समयमा स्क्रिप्टको कुरा गौण हुन्थ्यो,’छविले भने,‘तर अहिले फिल्मले फड्को मारिसकेको छ । फिल्मको स्क्रिप्ट चित्त नबुझेसम्म कलाकारले अभिनय नगर्ने समय आउनु राम्रो कुरा हो।’

अर्का निर्माता माधव वाग्लेले नेपाली फिल्ममा स्क्रिप्टको समस्या भइरहँदा यो प्रतिष्पर्धाले नयाँ राम्रो स्क्रिप्ट लेख्न बाटो खोलेको बताए । ‘नेपालमा फिल्मको स्क्रिप्टबाहेक प्रविधिदेखि कलाकारसम्म सबै राम्रा छन् । सानो विषयलाई राम्रो स्क्रिनप्ले गर्न सकियो भने त्यसले राम्रो चर्चा पाउँछ,’वाग्लेले भने,‘त्यसकारण हामी निर्माताले पनि स्क्रिप्टमा ध्यान दिनुपर्ने समय आइसकेको छ।’  

आयोजकका अनुसार यो प्रतियोगिता सन् २०१२ बाट शुरु गरिएको हो । पहिलो संस्करणमा रोहित देवकोटाको स्क्रिप्ट ‘रितु’ उत्कृष्ट भएको थियो । यही नामलाई लिएर निर्माता मनोज अधिकारीले नै फिल्म बनाए पनि यसले बक्स अफिसमा सफलता पाउन सकेन। 

दोस्रो संस्करणमा राजन कठेतको ‘दोख’ उत्कृष्ट भएको थियो । निर्देशक अनुप बरालले यही कथामा निर्माण गरेको फिल्म ‘दोख’ प्रदर्शनको पखाईमा छ।

 

प्रकाशित: ३ आश्विन २०७५ ००:१७ बुधबार

दी_गिफ्ट सुनिल_गुरुङ स्क्रिप्ट_राइटिङ