कला

दामोदरको ‘सहर बिनाको सहर’

काठमाडौं – साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कवितासंग्रह ‘सहरबिनाको सहर’ प्रकाशित भएको छ । तराई र मधेसका विभिन्न जिल्लाहरूमा रहेर पुडासैनीले रचेका तराई मधेस केन्द्रित ५२ कविताहरू संग्रहमा समावेश छन्।

समालोचक एवं साहित्यकार डा. राजेन्द्र बिमलले कविता संग्रह नेपाली भाषामा रचिएको तराई मधेस केन्द्रित पहिलो कृति भएकोले यसको विशेष महत्व रहेको बताए । ‘संग्रहले तराई मधेसका समस्या, संस्कार, भूगोल र सम्भावना समेटेर नयाँ ढंगबाट बहस अघि बढाउन खोजेको छ । हिमाल, पहाड र तराईका जनताबीचको भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउनु पर्ने कविताको आशय छ,’ उनले भने।

कवि पुडासैनीले संग्रहको भूमिकामा मधेसमा हिमाल उठाउन खोज्नेहरू र हिमालमा मधेस व्युँझाउन खोज्नेहरू आँखाका नानी भएको लेखेका छन् । ‘मैले हिमालको पानी र मधेसको जवानी, नेपालभरि मिसाउन खोजेको हुँ,’ उनले लेखेका छन् । पुडासैनीको कविता संग्रह साझा प्रकाशनले प्रकाशन गरेको हो।

पुडासैनीको यो चौधौं कृति हो । यस अघि उनका सात कविता संग्रह, पाँच नियात्रा संग्रह र एक दर्शन कृति प्रकाशित छन् । पुडासैनी नेपाल सरकारका सह–सचिव अर्थात् महालेखा परीक्षकको कार्यालयमा नायब महालेखा परीक्षकको रुपमा कार्यरत छन्।

प्रकाशित: २९ भाद्र २०७५ ०५:५७ शुक्रबार

दामोदर_पुडासैनी कवितासंग्रह प्रकाशित