कला

मनोनयनमा प्रियंकाको हयाट्रिक

काठमाडौं – केही वर्षयता प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्री  विधामा हरेक अवार्डमा दाबेदारी प्रस्तुत गर्दै आइरहेकी छिन्। तर वितरण हुँदा भने यो विधामा अरु कसैले बाजी मार्दै आइरहेका छन्। यो साल वितरण भएका एनएफडिसी पुरस्कार र डिसिने अवार्डमा पनि प्रियंका मनोननयमा थिइन् तर अवार्ड अरुकै पोल्टामा गयो। तर मनोनयनमा ह्याट्रिक गर्ने क्रममा प्रियंका कामना फिल्म अवार्डको पनि मनोनयनमा परेकी छिन्। यो विधामा उनलाई कामना अवार्डमा बेनिशा हमाल, मेनुका प्रधान, नीता ढुंगाना, सारा सिरपाली र शिल्पा पोखरेलले टक्कर दिनेछन्। आयोजकले मंगलबार जारी गरेको ‘कामना फिल्म अवार्ड २०७५’को ‘सर्वोत्कृष्ट अभिनेत्री’को मनोनयनमा ‘ब्लाइन्ड रक्स’बाट बेनिशा, ‘शेरबहादुर’बाट मेनुका, ‘पञ्चायत’बाट नीता, ‘शत्रु गते’बाट प्रियंका, ‘पिँजडा ब्याक अगेन’बाट सारा र ‘मंगलम्’बाट शिल्पा मनोनयनमा परेका हुन्।

त्यस्तै ‘सर्वोत्कृष्ट अभिनेता’ विधामा ‘छक्का पन्जा २’बाट दीपकराज गिरी, ‘घामपानी’बाट दयाहाङ राई, ‘झ्यानाकुटी’बाट सौगात मल्ल, ‘कृ’बाट अनमोल केसी, ‘लिलि बिली’बाट प्रदिप खड्का र ‘मंगलम्’बाट पुष्प खड्का  मनोनयनमा परेका छन्। यसअघि सम्पन्न दुवै अवार्डमा औसत रहेको फिल्म ‘कृ’बाट अनमोल केसीले अवार्ड जितेका थिए।

अवार्डमा ‘सर्वोत्कृष्ट निर्देशक’ विधा तर्फ भने ‘छक्का पन्जा २’बाट दीपाश्री निरौला, ‘लिलि बिली’बाट मिलन चाम्स, ‘शत्रु गते’बाट प्रदीप भट्टराई र ‘कृ’बाट सुरेन्द्र पौडेल मनोनित छन्। यसैगरि सर्वोत्कृष्ट चलचित्र’ तर्फ ‘ब्लाइन्ड रक्स’, ‘घामपानी’, ‘कृ’, ‘लिली बिली’ र ‘शत्रु गते’ मनोनयनमा परेका छन्।

२०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक रुपमा प्रदर्शनमा आएका फिल्म हेरेर निर्णायकले ३१ विधाको मनोनयन सार्वजनिक गरेको हो। सार्वजनिक मनोनयन अनुसार फिल्म ‘छक्का पन्जा २’ निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगार गरी सर्वाधिक १५ विधामा मनोनित भएको छ। फिल्म ‘कृ’ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नव अभिनेत्री, बालकलाकार, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगार गरी १३ विधा र ‘ए मेरो हजुर २’ नव निर्देशक, नव अभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशक गरी ११ विधाको मनोनयनमा परेको छ।

त्यस्तै फिल्म ‘लिलीबिली’ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, नव अभिनेत्री, पटकथा, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण र नृत्य निर्देशक गरी १० विधा, ‘शत्रु गते’ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, हास्य कलाकार, सहअभिनेता, पटकथा, संवाद, पाश्र्वगायक र पाश्र्वगायिका तथा ‘मंगलम्’ निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, संगीतकार, पाश्र्व गायक, पाश्र्वगायिका र नृत्यनिर्देशक विधा गरी समान ९–९ विधा, ‘संरक्षण’ नव निर्देशक, सहअभिनेता, खलपात्र, द्वन्द निर्देशक, गीतकार, पाश्र्वगायक र ध्वनि मिश्रण तथा ‘भुईंमान्छे’ नव निर्देशक, नवअभिनेत्री, बालकलाकार, कथा, पटकथा, संवाद र श्रृंगार विधा गरी समान ७–७ विधाको मनोयनमा परेका छन्। अवार्डमा फिल्म ‘ब्लाइन्ड रक्स’ ६ विधा, ‘घामपानी’, ‘पिंजडा व्याक अगेन’, ‘ऐश्वर्य’ र ‘म यस्तो गीत गाउँछु’ ५–५ विधा, ‘पञ्चायत’, ‘२ रुपियाँ’ र ‘ग्याङस्टार ब्लुज’ ४–४ विधा, ‘शेरबहादुर’ ३ विधा, ‘कान्छी’, ‘झ्यानाकुटी’ र ‘आधा लभ’ २–२ विधा तथा ‘नाका’, ‘लभ लभ लभ’, ‘रानी’ र ‘रुद्र’ १–१ विधाको मनोनयमा परेका छन्।

अवार्डमा आयोजकले तीव्र प्रतिष्पर्धालाई कारण देखाउँदै ‘सर्वोत्कृष्ट अभिनेता’ र ‘अभिनेत्री’ मा उत्कृष्ट ६ को मनोनयन गरेको छ । अवार्डमा एक फिल्मकर्मीलाई उनको योगदानका आधारमा १ लाख रुपियाँ नगदसहित ‘कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड)’, निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेका एक फिल्म, कलाकार वा प्राविधिकलाई ‘जुरी अवार्ड’, संगीत, फेसन र नाट्य विधामा ‘सिजी क्रिटिक्स अवार्ड’ पनि प्रदान गरिनेछ।

प्रकाशित: २८ भाद्र २०७५ ०६:२० बिहीबार

कामना_फिल्म_अवार्ड प्रियंका_कार्की