कला

रिपब्लिक मिडियामा तीजको रमझम

काठमाडौं – हरितालिका तीजको अघिल्लो दिन पारेर नेपाल रिपब्लिक मिडियाले तीज तथा दर खाने कार्यक्रम गरेको छ । मिडियाभित्र आवद्ध महिला पत्रकार तथा कर्मचारी एकै थलोमा भेला भई तीजको रमाइलोसँगै दरखाने कार्यक्रम रिपब्लिक मिडियाले गरेको हो।

कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले तीजलाई भड्किलो रुपमा मनाउनु भन्दा संस्कार र संस्कृतिका रुपमा मनाउनु पर्ने बताइन् । ‘एक महिना अघिदेखि तीज मनाउनु अलिक अमिल्दो नै हो,’ ज्ञवालीले भनिन्, ‘तर हामीले आज साँच्चिकै दरखाने दिन यसरी भेला भएर मनाएका छौं । तीजमा भेला हुँदा एकअर्कासँग खुशी बाँड्न सक्ने अनि वर्षदिनको काम र बेफुर्सदी जीवनलाई पर सारेर रमाईलो गर्दा त्यसको महत्व नै छुट्टै छ।’

ज्ञवालीले तीजको पुरानै कालखण्डको जस्तै पानीसमेत नखाएर ब्रत बस्ने चलनभन्दा आफ्नो स्वास्थ्यको ख्याल राख्नेगरि फलफूल र पानी प्रशस्त पिएर उपवास बस्न सुझाव दिइन्।

कार्यक्रममा रिपब्लिक मिडियाबाट प्रकाशित हुने नागरिक दैनिक, रिपब्लिका, परिवार मासिक, शुक्रबार साप्ताहिक, रेडियो नागरिकतर्फका महिला पत्रकार, कार्यालय व्यवस्थापन शाखा, मानव व्यवस्थापन, बजार शाखा, वितरण शाखा लगायक विभिन्न शाखाका महिला कर्मचारीहरू तीज तथा दरखाने कार्यक्रममा सहभागी भएका थिए।  

पत्रकार पवित्रा सुनार, रुबी रौनियार, प्रजु पन्त, सृष्टी शाह, सविता सापकोटा, सरिता श्रेष्ठ, सिर्जना पाण्डे, केपी ढुंगानालगायतले तीजको महत्वका बारेमा आफ्ना धारणा राखेका थिए । सरिताले तीज नमनाउने समुदायका महिलाले पनि समाजको संस्कारको रुपमा स्वीकार गरेर मनाउनेसँगै दर खाने र रमाइलो गर्ने एउटा माहोल बनाउने गरेको बताइन् । कार्यक्रम रिपब्लिक मिडियाकी कार्यकारी संयोजक समृद्धि ज्ञवालीको संयोजकत्वमा भएको थियो। 

प्रकाशित: २७ भाद्र २०७५ ०२:५५ बुधबार

नेपाल_रिपब्लिक_मिडिया तीज