कला

स्वास्थ्य चौकी बनाउन सहयोग जुटाउँदै मिस नेपाल

मकवानपुर - विकट गाउँमा स्वास्थ्य चौकी निर्माणमा सक्रिय मिस नेपाल २०१८ श्रृङ्खला खतिवडालाई सहयोग रकम जुट्ने क्रम जारी रहेको छ। यसैबीच, मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार उनलाई एक लाख रुपैंया सहयोग रकम हस्तान्तरण गरेको छ। उनलाई गृह नगर हेटौंडामा वन होम फाउण्डेशनद्वारा मकवानपुरको कैलाश गाउँपालिकामा निर्माणाधीन स्वास्थ्य चौकी निर्माणका लागि संघका सम्पूर्ण कार्यसमितिको तर्फबाट एक लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो।

चेक हस्तान्तरण गरेपछि संघका अध्यक्ष कृष्ण कटुवालले खतिवडाले मिस नेपाल भएर मकवानपुरको गरिमा उच्च बनाएको बताए। मिस नेपाल खतिवडाले मिस वर्ल्डका लागि ‘व्युटी विथ पर्पस’ शीर्षक अन्तर्गत कम्तीमा एउटा सामाजिक कार्य गर्नुपर्ने भएकोले आफ्नै गृह जिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिका वडा नम्बर ७ छनौट गरेको बताईन्।

‘त्यहाँ विरामी भएमा उपचारका लागि ५ घण्टा पैदल हिडेर अाउनुपर्ने अवस्था रहेछ,’ उनले भनिन्, ‘त्यो समस्याबाट मुक्त गराउन साेहि स्थानमा स्वास्थ्य चौकी निर्माण गर्न लागि परेकी छु ।’ स्वास्थ्य चौकी निर्माणका लागि सबै क्षेत्रबाट सहयोग संकलन भईरहेको उनले बताइन। विकट स्थानमा भएका कारण चौकी निर्माण गर्न ५० देखि ६० लाख अनुमानित बजेट लाग्ने बताउँदै उनले उक्त पुण्य कार्यमा अझै धेरैको सहयोगको अपेक्षा रहेको बताईन्।

प्रकाशित: २१ भाद्र २०७५ १४:०२ बिहीबार

मिस_नेपाल श्रृङ्खला_खतिवडा