कला

नेपथ्यले स्वयम्भूमा प्रस्तुति दिने

फाइल तस्विर

लण्डन - नेपालको चर्चीत लोक रक ब्याण्ड नेपथ्यले तेश्रो पटक लण्डनमा आफ्नो प्रस्तुती दिएको छ। शनिबार ओ टु ब्रिक्सटनमा आयोजना भएको कन्सर्टमा नेपथ्यले सार्वजनिक हुन लागेको आफ्नो दसौं एल्बमबाट ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ बोलको गितबाट प्रस्तुती दिँदै कार्यक्रमको सुरुवात गरेको थियो। सरुभक्तले लेखेको र विक्रम गुरुङको संगीतले सजिएको यो गीतलाई नेपथ्यले अलिक बेग्लै तरिकाले प्रस्तुत गरेकाे छ।

नेपथ्यले कन्सर्टमा केहि नयाँ र केहि पुराना गीतहरु प्रस्तुत गरेको थियो। नेपथ्यको भर्खरै तयार भएको ‘शिरफूल शिरैमा’ केही समय अगाडी को गीत ‘पल्ला घरका बईका’ र पुरानो गीत ‘आगनै भरि’ लगायतका अन्य थुप्रै गितहरु प्रस्तुत गरेको थियो।

‘जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरुबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ,’ मुख्य गायक अमृत गुरुङले भने, ‘यस्तो मायाले संगीतको यात्रामा लागेर हामीले बिताएको २५ वर्ष सार्थक भएछ भन्ने लाग्ने गरेको छ।’ नेपथ्यले यतिबेला स्थापनाको रजत जयन्ती समेत मनाइरहेको छ।

यसैबीच बेलायतको यो प्रस्तुतीसँगै ब्याण्ड अब नेपालमै आयोजना हुन लागेको कन्सर्टका निम्ति घर फर्किँदै छ। नेपथ्यले आगामी असोज १३ गते काठमाडौंको स्वयम्भूमा प्रस्तुती दिन लागेको हो। स्वयम्भू क्लबले आयोजनाको जिम्मा लिएको यो कन्सर्ट, त्यस क्षेत्रको सम्पदा संरक्षण सहयोगार्थ आयोजना गरिन लागेको हो।

प्रकाशित: १७ भाद्र २०७५ १२:०९ आइतबार

नेपथ्य अमृत_गुरुङ