कला

प्रिया प्रकाश : आँखा झिम्क्याउँदा मुद्दा, जेल जानबाट जोगिइन

मुम्बई– भारतको सर्वाेच्च आदालतले मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरविरुद्ध परेको मुद्दालाई खारेज गरेको छ। 

प्रदर्शनको पखाईमा रहेको फिल्म ‘ओरु अदार लभ’को गीत ‘मानिक्य मलाराया पूवी’मा आँखा झिम्क्याएर चर्चामा आएकी प्रिया प्रकाशविरुद्ध धार्मिक भावनामा ठेस पु-याएको भन्दै मुस्लिम समुदायका युवाले दायर गरेको मुद्दालाई प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीशद्वय ए एम खानविलकर र डी वाई चन्द्रचूडको संयुक्त इजलासले शुक्रबार खारेज गरेको हो। 

प्रधानन्यायाधीश मिश्रले मुद्दा खारेज गर्दै अधिवक्ताहरुलाई सचेत गराएका छन्। ‘कसैले फिल्ममा गीत गायो र तपाईहरु उजुरी गर्न आउने? तपाईहरुसँग अरु कुनै काम छैन र?’ मिश्रले आक्रोश पोखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘मानिक्य मलाराया पूवी’ गीतको म्युजिक भिडियोमा प्रिया प्रकाश आँखा झिम्क्याएर आफ्नो प्रेमी (केटा कलाकार)लाई प्रभावित पार्न खोजेको दृश्य छ। जुन निकै भाइरल भएको थियो। 

भिडियो भाइरल भएपछि मुस्लिम युवाको समूहले दृश्यमा आपत्ति जनाउँदै १८ वर्षीया प्रियाविरुद्ध हैदराबादमा उजुरी दर्ता गरेको थियो। उक्त उजुरीविरुद्ध प्रिया सर्वाेच्च अदालत गएकी थिइन्। सर्वाेच्चले मुद्दा खारेज गर्दै उनलाई न्याय दिएको हो।  

प्रकाशित: १५ भाद्र २०७५ १२:११ शुक्रबार

प्रिया_प्रकाश_वारियर अभिनेत्री मुद्दा