कला

‘दर्शक लुक्स होइन, अभिनय हेर्न चाहान्छन्’

पोखरामा फिल्म ‘रोज’को पत्रकार सम्मेलनपछि नायिका परमिता आरएल राणा (बायाँ), नायक प्रदिप खड्का र नायिका मिरुना मगर ।    तस्बिरः उमेश/नागरिक

पोखरा – आगामी सातादेखि रिलिज हुन लागेको फिल्म ‘रोज’ निर्माण युनिटले मोफसलमा प्रचारप्रसार सुरु गरेको छ । पोखराबाट बिहीबारदेखि निर्माण टिमले फिल्मको प्रचार सुरु गरेको हो।

पोखरा आएका फिल्मका नायक प्रदीप खडका, नायिकाद्वय परमिता आरएल राना, मिरुना मगर, गायक प्रताप दासलगायतले पत्रकारमाझ भदौ २२ गतेबाट रिलिज हुने फिल्मका बारेमा जानकारी दिए।

‘प्रेमगीत’, ‘प्रेमगीत–२’ र ‘लिलीबिली’मा अभिनय गरिसकेका नायक खड्काले अहिलेसम्म ‘लभरब्वाई’ र सकारात्मक भूमिकामा मात्र अभिनय गरेकाले फिल्म ‘रोज’मा नकारात्मक भूमिका र ‘डार्कर लभर ब्वाइ’को भूमिका निभाउन केही ग्राहो महसुस भएको खुलाए । ‘मलाई फरक रोलमा काम गर्न मन थियो । सधैं लभर ब्वाईको रुपमा मात्र दर्शकले पाइरहेका थिए । तर यो फिल्ममा दर्शकले मेरो भूमिका ‘डार्क लभर ब्वाई’ को रुपमा पाउनुहुनेछ,’ प्रदिपले भने, ‘आवेशमा  आएर प्रेमीले कसरी प्रेमिकाको हत्या गर्छ । आवेशमा गरिएको गल्ती र यस्तो गल्तीले भविष्यमा निम्त्याउने समस्या बारेको कथालाई फिल्ममा देखाइएको छ।’

प्रदिपले ‘रोज’ समाजमा भएका घटनामा आधारित रहेको दाबी गरे । उनले फिल्म थ्रिलर, क्राइम र प्रेममा आधारित रहेकोले दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए । ‘दर्शकले अहिले कलाकारको लुक्सलाई मात्र नहेरेर कलाकारले फिल्ममा गर्ने अभिनय पनि हेर्न थालेका छन् । फिल्मको पुरै टिमको लगावले मात्र फिल्म राम्रो बनेको हुन्छ । जुन हामीले यो फिल्ममा दिएका छौ,’ उनले भने। 

नायिका परमिताले फिल्मको कथाले आफ्नो वास्तविक जीवनमा पनि मेल खाने खुलाइन् । ‘फिल्मको कथा नै मेरो जीवनको कथा हो जस्तो लागिरहेको छ,’ उनले भनिन्, ‘आफ्नै कथामा अभिनय गरेको महसुस भएको छ।’ 

अर्की नायिका मिरुनाले आफू फिल्ममा अधिवक्ताको भूमिकामा प्रस्तुत भएको बताइन् । उनले छायांकनको क्रममा निकै रमाइलो भएको बताइन । ‘रोजको गीतलाई जति माया गर्नुभएको छ । त्यो माया फिल्मलाई पनि दिनुस्’ उनले आग्रह गरिन् । गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्म निरक पौडेलले निर्देशन गरेका हुन् । फिल्मको एक गीतको छायांकन टर्कीमा गरिएको छ। 

प्रकाशित: १५ भाद्र २०७५ ०४:५१ शुक्रबार

रोज_फिल्म मोफसल प्रदीप_खडका प्रचार_सुरु