काठमाडौं - नेपाल चलचित्र संघले अमेरिकामा रहेका तीन नेपालीहरूको संगठनसँगको सहकार्यमा पपुलर फिल्म अवार्ड आयोजना गर्ने भएकोे छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै अवार्डका बारेमा जानकारी गराएको हो।
संघका अध्यक्ष प्रदीप उदयले यही अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म हुने नेपाली नेसनल कन्भेन्सनकोे अवसर पारेर अवार्ड वितरण गरिने जानकारी गराएका छन्। उनले कार्यक्रममा अवार्ड वितरणसँगै नेपाली फिल्मको अवस्थाका बारेमा बृहत अन्तक्रियासमेत हुने जानकारी गराए।
संघले कार्यक्रममा १५ विधामा अवार्ड वितरण गर्ने जानकारी गराएको छ। जसमा पपुलर फिल्म, निर्देशक, अभिनेता पुरुष र महिला, सहअभिनेता, पुरुष र महिला, हास्य कलाकार, संगीतकार, गायक, गायिका, नव निर्देशक, दसकका अभिनेता पुरुष र महिला, नेम्पा अचिभमेन्ट अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड शीर्षकका विधा रहेका छन्।
अवार्ड कार्यक्रममा नीर शाह, भुवन केसी, रेखा थापा, अनमोल केसी, केकी अधिकारी नीता ढुंगाना, जितु नेपाल, केदार घिमिरे आदि कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।
संघले गतसाल पनि अमेरिकामा नै अवार्ड गर्ने गरी उत्कृष्ट ५को मनोनयनसमेत सार्वजनिक गरेको थियो । तर मनोनयनमै परेका अधिकांश कलाकारले भिसा नपाएपछि अवार्ड कार्यक्रम नै रद्द भएकोे थियो।
प्रकाशित: ११ भाद्र २०७५ ०८:३४ सोमबार