कला

मृगौलापीडित रानालाई चार लाख सहयोग

काठमाडौं– दुवै मृगौलामा खराबी आएपछि अस्वस्थ रहेका फिल्म निर्देशक किशोर रानालाई उपचारार्थ ४ लाख ५ हजार ५ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको छ । किशोर रानाको सहयोगार्थ राजधानीमा गत असार १८ गते आयोजित ‘सुमधुर साँझ’द्वारा संकलित रकम रानाकी श्रीमति तथा गायिका संगीता राना प्रधानलाई हस्तान्तरण गरिएको हो।

फिल्म ‘परिवर्तन’को छायांकनको क्रममा रानाको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा दुवै मृगौलामा समस्या देखिएको थियो । उनको मृगौला प्रत्यारोपण गराउनका लागि रकम जुटाउन गायिका सुनिता प्रधान, सीमा शाह, गायक सपन श्रेष्ठ, विश्व नेपाली, उदेश श्रेष्ठ र सञ्चारकर्मी मन्दिरालगायतको पहलमा सुमधुर साँझ गरिएको थियो।

सुमधुर साँझमा दीप श्रेष्ठ, संगीता राना प्रधान, कुन्ती मोक्तान, विमला राई, मिथिला शर्मा, एड्रियन प्रधान, विश्व नेपाली, सुनिता प्रधान, उदेश श्रेष्ठ, बानिका प्रधान, सबिना कार्की, सपन श्रेष्ठ, अर्पना श्रेष्ठ, सीमा शाहलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।किशोरले फिल्मी करियरमा  ‘सिमारेखा’, ‘घुम्टो’, ‘राँको’, ‘एक नम्बरको पाखे’, ‘बन्धकी’, ‘करोडपति’लगायत १८ भन्दा बढी नेपाली फिल्म निर्देशन गरिसकेका छन् ।
 

प्रकाशित: १५ श्रावण २०७५ ०१:४६ मंगलबार

मृगौलापीडित रानालाई