कला

जोनलाई भीमसेन थापा स्मृति पुरस्कार

काठमाडौं - यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा. जोन ह्वेल्प्टनलाई प्रदान गरिएको छ ।

नेपालको राष्ट्रिय विभूति भीमसेन थापाको नाममा स्थापित सो पुरस्कार बुधबार एक समारोहबीच ह्वेल्पटनलाई प्रदान गरिएको हो । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले थापाको २४३औं जन्मजयन्ति अवसरमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ह्वेल्पटनलाई ताम्रपत्रसहित ५० हजार एकसय रुपैयाँ राशिको उक्त पुरस्कारले सम्मान गरे।

नेपालको इतिहासबारे अध्ययन, अनुसन्धान तथा लेखनमा विशिष्ट योगदान पुर्याई विश्व सामु परिचित गराएकाले उनलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वर तिमिल्सिनाले बताए ।राष्ट्रिय विभूति थापाले नेपालको अखण्डता र स्वतन्त्रता बचाउन ठूलो योगदान गरेको प्रमुख अतिथि उप्रेतीले बताए । थापाभित्र देशभक्तिको मात्र हैन सिंगो दक्षिण एसियालाई बेलायती साम्राज्यबाट जोगाउनुपर्छ भन्ने चेत भएको पनि उनले स्मरण गरे।

पुरस्कार प्राप्त गरेपछि ह्वेल्प्टनले ‘छोटी गुम्बा र सानो ढुंगा’ जस्तै नेपालको इतिहास रहेको टिप्पणी गरे । नेपालको इतिहास केलाउन मूलस्रोतका रुपमा नेपालका संग्रहालय नै प्रयोग गर्नुको विकल्प नरहेको उनले सुनाए । ‘तर नेपालीलाई जति सजिलो छ त्यति सजिलो विदेशीलाई अध्ययन गर्न छैन,’ उनले भने, ‘भाषागत समस्यासँगै स्रोतको पहुँचमा सकस उस्तै छ ।’ अंग्रेजी अध्यापनका लागि नेपाल आएका उनले इतिहास अध्ययनकै लागि उनले नेपाली भाषा सिकेका थिए । उनले लेखेको भीमसेन थापासँग जोडिएको पुस्तकमा ब्रायन हड्सनसँगको कूटनीतिक सम्बन्धको चर्चा गरेका छन् ।

उनका अनुसार एकदिन भीमसेन थापाले हड्सनसँग बेलायतको व्यवहार नेपाली सैनिकलाई मन नपरेकाले युद्ध भड्किने सम्भावना औल्याउँदै बढी दबाब नदिन चेताएका थिए । त्यही कारण हड्सन थापासँग चिढिएर राजा र अरु भारदार नजिक भएका थिए । राजालाई उक्साएका हड्सन निर्दोष थापा जेलपरेपछि भने पछुताएका थिए । उनले कोलकाताबाट चिठी लेखेर राजालाई पठाउँदासम्म भीमसेन थापाको जेलमै जीवनलीला सकिएको थियो । जुन पछिसम्म हड्सनको पछुताको विषय बनेको ह्वेल्प्टन बताउँछन् । हड्सनको भनाइ उद्धृत गर्दै उनले भने। ‘भीमसेन थापा देशप्रेमी र दुरदर्शी शासक थिए।’

ह्वेल्प्टनले पटकपटकको अध्ययनपछि नेपालको इतिहास बोल्ने कयौं पुस्तक लेखे अनि समीक्षा गरे । उनको पहिलो पुस्तक ‘जंगबहादुर इन युरोप’ हो । सन् २०१६ मा छापिएको सो पुस्तकको दोस्रो संस्करणमा उनले जंगबहादुरअघि नै अर्को नेपाली बेलायत पुगेको रहस्य खोलेका छ्न् । त्यसैगरी नेपाली कला, संस्कृति, गीतसंगीत, खेलकुदलगायत विविध पुस्तकको जानकारी दिने सन्दर्भग्रन्थ पुस्तक पनि उनले लेखेका छन् । भीमसेन थापाको जीवन केलाइएको उनको ‘किङ, सोल्डर एन्ड प्रिस्ट’ नामक पुस्तक पनि प्रकाशित छ । त्यस्तै उनको ‘हिस्ट्री अफ नेपाल’ मा नेपालको संक्षिप्त इतिहासबारे उल्लेख छ।

भीमसेन थापा स्मृति प्रतिष्ठानका सदस्यसचिव लक्ष्मण थापाका अनुसार थापाले राजा रणबहादुर शाहको शासनकालमा २३ वर्षकै उमेरमा सरदार पद पाएका थिए । बुद्धिमत्ताकै कारण उनी १८६१ सालमा काजी भए । सोही समयदेखि नै उनले मुलकमा प्रशासनिकलगायत सुधारका काम थाले । बिर्ता र गुठी जग्गा दर्ता थालेका थिए । रणबहादुर शाहको हत्यापछि नाबालक गिर्वाणयुद्धविक्रम शाह राजा भएका वखत  थापाले मुख्तियारी पाएका थिए । उनले ३१ वर्ष मुख्तियारी सम्हालेका थिए । राजा राजेन्द्रको पालमाा उनका छोरो देवेन्द्रलाई विष खुवाएर मारेको अभियोग लगाएर थापालाई जेल हालिएको थियो । गलत अफवाह फैलाएर १८९६ सालमा उनलाई जेलमै आत्महत्या गर्न बाध्य पारिएको इतिहासमा उल्लेख छ । उनको मरणबारे े इतिहासकारबीच एउटै मत भने छैन।

उनको गुण र काम भने इतिहासमा अमिट रहनेछ । भीमसेन थापाले प्रशासनिक सुधारकका रुपमा पनि चिनिन्छ ।
भीमसेन थापाले बनाएको धरहरा भूकम्पले भत्किएकाले पुनर्निर्माण छिटो गर्न पनि प्रतिष्ठानले अपिल गरेको छ । उक्त ऐतिहासिक सम्पदाको उचित संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नु राज्यको दायित्व हो । ०७२ सालको भूकम्पले भत्किएको धरहराको तीन वर्ष बित्दा पनि पुनर्निर्माण सुरु भएको छैन ।२०५३ सालमा स्थापित प्रतिष्ठानले यसअघि इतिहासकारहरु चित्तरञ्जन नेपाली, ढुण्डीराज भण्डारी, माधवराज पाण्डे र तथा त्रिवि इतिहास केन्द्रीय विभागलाई सो पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

प्रकाशित: १० श्रावण २०७५ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App