कला

चिनियाँ विद्यार्थीको नेपाल चाह

काठमाडौं – नेपाली विद्यार्थी र पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थीबीच एकआपसमा संस्कृति, रीतिरिवाज आदनप्रदान गरेका छन्। गत साता काठमाडौं आइपुगेका २३ विद्यार्थी, २ शिक्षकसहितको २८ जनाको टोलीले काठमाडौंका विविध स्थान तथा विद्यालयको भ्रमण गरेर सांस्कृतिक आदानप्रदान गरेका छन्।

११ देखि २१ वर्ष उमेर समूहका उनीहरुले गत साता सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीसँग आफ्ना अनुभव बाँडे। पहिलोपटक नेपाल आएकी शिक्षिका एलीले आफ्नो अनुभव सुनाइन्, ‘नेपाल र चीनबीच धेरै कुरा समान रहेछ, नेपाली खाना चाहिँ अलि मसलेदार रहेछ।’

चीनका र नेपालका अधिकांश महिला शिक्षण पेसामै आबद्ध भएका, परिवार पाल्ने जागिर खाने व्यापार व्यवसाय गर्ने तरिका समान नै रहेको उनीहरुको बुझाइ छ। यहाँका विद्यार्थी साह्रै मिजासिला र सहयोगी भएको अनुभव नेपाल भ्रमणमा रहेका विद्यार्थी फेलिक्सले सुनाए। काठमाडौं बसाइमा विभिन्न चित्रकला, पेन्टिङ, पेपर क्राफ्ट आदि सिकाएका उनीहरुले नेपालको शिक्षण विधि, संस्कृति, रीतिरिवाज राम्रो रहेको बताए।

सांस्कृतिक आदानप्रदानको कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बताउँदै चिनियाँ शिक्षिका एलीले भनिन्, ‘एक साता बसाइको समय कला, संस्कृति साटासाट गर्न उपलब्धीपूर्ण बन्यो।’

प्रकाशित: ६ श्रावण २०७५ ०५:५३ आइतबार

चिनियाँ विद्यार्थीको नेपाल चाह