कला

आमा बन्दै प्रियंका

फाइल फाेटाे : एजेन्सी

मुम्बई – अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण हुन लागेको नयाँ बायोपिक फिल्ममा आमाको भूमिकामा देखिन लागेकी हुन्।

आयशा चौधरीको बायोपिकमा बन्न लागेको नयाँ फिल्म ‘दि स्काइ इज पिंक’मा प्रियंकाले आयशाको आमा अदितीको भूमिका निभाउन लागेकी हुन् । समाचारअनुसार प्रियंकाको फिल्मी करियरमा उनको यो भूमिका अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण हुनेछ । १३ वर्षको उमेरमा इम्युन डेफिसियन्सी डिसअर्डरबाट पीडित बनेकी उनको पाँच वर्षपछि निधन भएको थियो । यो रोग लागेपछि बिरामीलाई सास फेर्न गाह्रो पर्छ । रोगका कारण उनको फोक्सो कमजोर भएपछि निधन भएको थियो । जन्मिएको ६ महिनामा आयशाको पहिलो बोन म्यारो प्रत्यारोपण गरिएको थियो।

आयशाले निधन हुनुअघि ‘माइ लिटिल एपिफेनिस’ नामक एक किताब लेखेकी थिइन् । यो पुस्तक उनले निधनको एकदिन अघि मात्र सार्वजनिक गरेकी थिइन् । यो पुस्तक र आयशाको अन्य विषयको अध्ययन गरेर निर्देशक सोनाली बोसले फिल्म बनाउन लागेकी हुन् । सोनालीले ‘मार्गरिटा विद ए स्ट्र’ जस्तो अवार्ड विजेता फिल्म बनाएकी थिइन् ।
चूनौतीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भएपछि प्रियंकाले फिल्मका लागि तयारी पनि सुरु गरेकी छन् । फिल्ममा ‘सिक्रेट सुपरस्टार’की कलाकार जायराले आयशाको भूमिका निभाउनेछिन् । अभिनेता फरहान अख्तर जायराका पिताको भूमिकामा हुनेछन्।

आयशा १५ वर्षको उमेरमा प्रेरक वक्ता बनेकी थिइन् । आयशाले आफ्नो पुस्तकमा जीवनमा कसरी खुशी रहने भन्ने विषयलाई स्थान दिएकी थिइन् । आफू निको नहुने रोगबाट पीडित भएको थाहा पाए पनि उनले यसमा कहिलै गुनासो गरिनन्  र आफ्ना वरपर बस्ने आफन्तलाई पनि कहिलै यसको आभास हुन दिएकी थिइनन् । यही कुराबाट प्रभावित सोनालीले आयशाको जीवनलाई फिल्ममा उतार्न लागेकी हुन् ।
 

प्रकाशित: ४ श्रावण २०७५ ०३:३६ शुक्रबार

आमा बन्दै प्रियंका