कला

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

काठमाडाैं - लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ बेलके गीत अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ । श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दसकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको छ । बामपन्थी विचारधाराबाट प्रभावित भइ कुनै समय रामेश र मन्जुलले सुरु गरेको मुलुकब्यापी साँगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन्।

 विशेषगरि पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो जसलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित गरेको थियो ।

यो म्यूजिक भिडियो तयार पार्नका लागि नेपथ्यले केहि समयअघि गरेको नेपाल भ्रमणका क्रममा आयोजित कन्सर्टहरुको दृश्यहरुलाई एकापसमा जोड्ने काम गरेको छ । भिडियोमा यो गीत गाइरहेका बेला मुलुकभित्र र बाहिरका बेग्लाबेग्लै दर्शक जमातको उत्साह र उमंग पनि देख्न सकिन्छ।

‘शान्ति संगीत यात्राको क्रममा एकपटक हामीले यो गीत गाइरहँदा रामेश दाइ र मन्जुल दाइ पनि हेर्न आउनुभएको थियो ,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यतिबेला यो गीतलाई यस रुपमा गाएर पछिल्लो पुस्ताका तन्नेरीहरु माझ लोकप्रिय बनाइदिएकोमा हामीलाई थप प्रोत्साहित गर्नु भएको थियो ।’ अमृतका अनुसार लण्डनको विम्बले एरेनामा आयोजित भब्य कन्सर्टपछि गीतकार श्याम तमोट स्वयं नेपथ्यको कार्यालयमा आएर ब्याण्डले यस रुपमा आफ्नो गीत अघि बढाएकोमा खुशी प्रकट गर्नु भएको थियो । अमृत सम्झन्छन्, ‘उहाँले त्यतिबेला प्रकट गर्नुभएको हार्दिकताले हामीलाई थप प्रोत्साहन मिलेको थियो ।’

‘नेपथ्यले यस गीतलाई आफ्नो बनाएर शान्ति र शिक्षा अभियानमा प्रयोग गरेको देख्दा म असाध्यै प्रभावित भएको छु,’ गीतकार श्याम तमोट भन्छन्, ‘उनीहरुको संगीत प्रस्तुत गर्ने मौलिक तरिकाले यो गीतलाई अझ फराकिलो श्रोता घेरामा पुग्न मद्दत गरेको छ ।’

भिडियाे :

 

प्रकाशित: २ श्रावण २०७५ ११:४४ बुधबार

नेपथ्यको गाउँ गाउँबाट उठ सार्वजनिक