कला

२० हलबाट बक्स अफिस सुरु

काठमाडौं – लामो समयदेखि फिल्म क्षेत्रमा  चर्चा र बहसमा रहेको बक्स अफिस प्रणाली अर्थात ‘सेन्ट्रल सिनेमा मेनेजमेन्ट सिष्टम(सीसीएमसी)’ मंगलबारबाट लागु भएको छ।

चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रणालीको शुभारम्भ गरे ।उनले नेपाली फिल्ममा संलग्न फिल्मकर्मीको वर्षौदेखिको बक्स अफिसको सपना पूरा भएकोमा बधाई दिए । ‘ देखेको त्यो सपना साकार हुन्छ भन्ने प्रमाण आज शुभारम्भ भएको बक्स अफिस हो । हामीले विवाद र दबाबका बीच बक्स अफिस सुरु गरेका छौं,’बास्कोटाले भने,‘अहिलेको सरकारले पनि समृद्धिको सपना बोकेर हिँडेको छ । बक्स अफिस प्रणालीको शुभारम्भ पनि एउटा समृद्धिको पाटो हो।

उनले सरकारले विकास बोर्ड र सरोकारवाला संस्थासँग सहकार्य गर्दै फिल्म हलको वर्गीकरणको काम पनि सुरु गर्ने बताए । ‘हल जस्तो देखिने ठाउँलाई मात्र हलको मान्यता दिनेछौं । जहाँ बक्स अफिस प्रणाली जडान गरिनेछ,’उनले भने,‘हेर्दा छाप्रो जस्तो देखिने भवनलाई हलको मान्यता दिन सकिँदैन । किनकि मन्त्रालय, विकास बोर्ड त्यस्ता ठाउँमा लगानी गरेर जान चाहदैन।’

मन्त्री बास्कोटाले बक्स अफिस प्रणालीमा फिल्मकर्मी चलेपछि लगानीकर्ता सुरक्षित हुने र कलाकार तथा प्राविधिकले पनि परिश्रमको मूल्य पाउन सक्नेमा आशावादी रहेको बताए । ‘हामी बलिउड र हलिउडको प्रशंसा गर्छौ । तर हाम्रै कलिउडको अवस्था चाहिँ बेहाल छ,’बाँस्कोटाले भने,‘त्यसकारण बक्स अफिसले गर्दा सरकारलाई पनि राजस्व प्राप्त होस् । जसले गर्दा समग्र फिल्म उद्योगको विकास गर्न राज्यलाई पनि दबाब पर्छ ।’

मन्त्री बास्कोटाले मसालेदार फिल्मभन्दा पनि इतिहाससँग जोडिएका विषयमा फिल्म बनाउन फिल्मकर्मीलाई आग्रह गरे । ‘बीपी कोइराला, पुष्पलाल आचार्यभन्दा अघि सतीप्रथा विरुद्ध लडेकी योगमायाको बारेमा फिल्म बनाउन ध्यान दिएका छैनौं । योगमाया राणाशासनका विरुद्ध आन्दोलन गरेकी  योद्धा हुन् जसले तमोरमा जलसमाधी गरेकी थिइन्,’बास्कोटाले व्यंग्य गरे,‘हामीले दरबारसँग जोडिएका ‘सेतो बाघ’, ‘बसन्ती’ जस्ता फिल्म मात्र बनायौं । अब मसलेदार फिल्मभन्दा पनि इतिहासलाई चित्रित गर्ने खालका फिल्म बन्न आवश्यक छ । सरकारले यस्ता फिल्मलाई सहुलियत दिने कुरा अगाडि सारेको छ , केही दिनमै यसको कार्यविधि बन्छ। ’

चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले राष्ट्रिय चलचित्र नीति,२०७१ र  आर्थिक वर्ष २०७५-७६ को बजेट वक्तव्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सय दिनको कार्ययोजना र मार्ग निर्देशन अन्तर्गत रही बक्स अफिस शुभारम्भ गरिएको बताए । ‘सरकारले आर्थिक वर्ष २०७३।७४ मा बक्स अफिस प्रणालीको व्यवस्था गर्नका लागि विनियोजन गरेको बजेटबाट सफ्टवेयर निर्माण गर्ने कार्यको प्रारम्भ गरिएको थियो।

सरोकारवालाले दिएको राय सुझावलाई मध्यनजर गरी निर्माण गरिएको सफ्टवेयरलाई आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त गरी चलचित्रघरहरूमा परिक्षण पश्चात लागु गर्न सफल भएका छौं,’ उनले भने, ‘बक्स अफिसमार्फत् हरेक फिल्मको वास्तविक तथ्यांक तत्कालै हेर्न सकिने हुँदा फिल्मका निर्माता, वितरक, प्रदर्शकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने, फिल्म प्रदर्शनको वास्तविक तथ्यांक प्राप्त गर्न तथा बोर्डको एक मात्र स्रोत चलचित्र विकास शुल्क र नेपाल सरकारको राजश्व वृद्धिमा समेत सकारात्मक प्रभावको अपेक्षा गरेका छौं ।’

विकास बोर्डका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका ११ वटा मल्टिप्लेक्स हलसहित २० वटा फिल्म हलमा बक्स अफिस प्रणाली लागु गरिएको छ । लागु गरिएका मल्टिप्लेस हलमा सेन्ट्रल सिनेमाज्, सिने डि सेफ, सिनेमार्क मुभिज,   जयनेपाल चित्रघर, म्याक्स ईन्टरटेनमेन्ट, सिने स्टार, कुमारी चित्र मन्दिर, केएल सिनेमा सिटी, सार्थक इन्टरटेनमेन्ट, ललित सिनेमाज् र छायाँ सिनेमाज् छन्।

त्यस्तै सिंगल स्टेसनअन्तर्गत पृथ्वी चलचित्र मन्दिर, सिद्धार्थ सिनेमा, गोपीकृष्ण मुभिज्, अष्टनारायण पिक्चर्स, गंगा चलचित्र मन्दिर, कलंकी चलचित्र मन्दिर, गुण सिनेमा, बाराही मुभिज् र विश्वज्योती सिनेमा भवन छन् । उपत्यका बाहिरका फिल्म हलमा भने माघ १ गतेबाट बक्स अफिस लागु हुनेछ।चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बक्स अफिसले निर्मातालाई कलेक्सनको झण्झट नरहने बताए । ‘फिल्म रिलिजपछि आफ्नो फिल्मले एकदिनमा कति कलेक्सन गर्यो भन्ने कुरा अब निर्माताले इन्टरनेटबाट प्रत्यक्ष थाहा पाउनेछन् ।

जसले गर्दा घाटा भए घाटा र नाफा भए नाफा थाहा पाउन पनि सजिलो हुनेछ,’अधिकारीले भने,‘यो प्रणाली गर्दा निर्मातालाई करको दायरामा पनि बाँधेको छ । यसअघि निर्माताले नाफा र घाटावापतको कर कसैले तिरेका थिएनन् । तर अब कर तिर्दिन् भन्न पाइँदैन । किनकि बक्स अफिसको सर्भरबाटै निर्माताले कति कर तिर्नुपर्ने हो त्यो सबै प्रष्ट देखाउनेछ ।’

 

प्रकाशित: २ श्रावण २०७५ ०२:५१ बुधबार

२० हलबाट बक्स अफिस सुरु