कला

जस्टिन इन्गेज्ड

लसएञ्जल्स– क्यानेडियन गायक, अभिनेता तथा गीतकार जस्टिन बीबरले अमेरिकी मोडल तथा टेलिभिजन पर्सनालिटी हेली बाल्डविनसँग इन्गेजमेन्ट गरेका छन्।

बीबरले बहामाजको एक रिसोर्टमा हेलीलाई विवाहको प्रस्ताव गरेका थिए । २४ वर्षे बीबरको प्रस्तावलाई २१ वर्षीया हेलीले तुरुन्तै स्वीकारेकी थिइन् ।बीबरले आफूले हेलीसँग इन्गेजमेन्ट गरेको पुष्टि गरेका छन् ।

उनले आफूलाई हेलीको विषयमा हरेक कुरा मनपरेको बताएका छन् । ‘मलाई तिम्रो हरेक विषयमा प्रेम छ । आफ्नो जिन्दगी तिम्रो हरेक चिजसँग जानकार भएर जिउन चाहन्छु । तिमी मेरो प्रेम हौ हेली बाल्डविन र म अरु कोहीसँग जिउन चाहन्नँ । तिमी मेरो प्राथमिकता हौ ।’ बीबरले इन्स्टाग्राममा हेलीसँगको प्रेम दर्शाउँदै लेखेका छन् ।
समाचार अनुसार बीबरले हेलीसँग इन्गेजमेन्ट गरेपछि बीबरका परिवारले खुशियाली मनाएका छन् । बीबरका पिता जेरेमीले छोराको तस्बिर इन्स्टाग्राममा ‘आउने समयलाई लिएर उत्साहित छन्’ लेख्दै पोष्ट गरेका छन्।

बीबरकी आमा पेटिटले ट्वीटरमा आफ्नो उत्साहलाई साझा गर्दै उनले धेरैपटक ‘लभ’ लेखेकी छन् । गायिका तथा नायिका सेलेना गोमेजसँग लामो समयसम्म अफेयरमा रहेका बीबर सेलेनासँग प्रेमसम्बन्ध टुटाएपछि बाल्डविनसँग नजिकिएका थिए ।हेली अमेरिकन बोग, मेरी क्लेयर र स्पेनिश पत्रिका हार्पस बाजारमा देखिइसकेकी छन् ।

उनी पत्रिकाका अलावा कैयौं टेलिभिजन शो, म्युजिक भिडियो र विज्ञापनमा पनि छाइसकेकी छन् । हेली अभिनेता तथा निर्माता स्टीफन बाल्डविनकी छोरी हुन् । स्टीफलले ‘बर्न अन द फोर्थ जुलाई’, ‘द युजुअल सस्पेक्ट्स’ र ‘द फ्लिनस्टोंस इन वाइवा रक वेगास’जस्ता फिल्ममा अभिनय गरेका छन् ।हेली अभिनेता एलेक बाल्डविनकी भनिजी पनि हुन् । एलेक प्रख्यात कमेडी शो सैटरडे नाइट लाइवमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नक्कल गर्ने कलाकारका रुपमा चिनिन्छन् ।

प्रकाशित: २७ असार २०७५ ०२:४३ बुधबार

जस्टिन इन्गेज्ड