कला

‘फूलझैं जीवन’ विमोचन

काठमाडौं– प्रेमप्रसाद राज भण्डारी र सन्तोष श्रेष्ठको गीति एल्बम ‘फूलझैं जीवन’ विमोचन भएको छ। 

शनिबार राजधानीमा आयोजित एक समारोहमा वरिष्ठ गायक प्रेमध्वज प्रधान, प्रतिनिधिसभाका सांसदद्वय सुजिता शाक्य र विष्णु शर्मा, प्राध्यापक नेत्र एटम लगायतले ‘फूलझैं जीवन’को विमोचन गरे। 

यो एल्बमबाट भण्डारी सांगितिक दुनियाँमा औपचारिक रुपमै प्रवेश गरेका छन् भने संगीतकार श्रेष्ठको एकल संगीतमा २५ औं एल्बम हो। ६ वटा गीत रहेको एल्बममा भविन ढुंगाना, रामकृष्ण ढकाल, मेलिना राई, कृष्णभक्त राई, मनोज राज र सहिमा श्रेष्ठको स्वर रहेको छ। 

एल्बम विमोचन समारोहमा संगीतकार श्रेष्ठले संगीतले सिगार्ने प्रयास गरेको र स्रोता÷दर्शकले रुचाउने विश्वास गरे। एल्बममाथि समिक्षा गर्दै प्राध्यापक नेत्र एटमले शब्द, स्वर र संगीतले गीतमा विविधता भरेको भन्दै दर्शकले मन पराउने जिकिर गरे। 

सांसद सुजिता शाक्यले गीतले भावुक, जीवनप्रति आशा जगाएको र सकारात्मक उर्जा भरेको बताइन्। ‘रचना उत्कृष्ट छ। पहिलो एल्बम भएपनि त्यस्तो महसुस भएन’, उनले भनिन्। 

वरिष्ठ गायक प्रेमध्वज प्रधानले एल्बमका गीतहरुमा नेपाली मौलिकता पाएको बताए। ‘हाम्रै पालाको जस्तो लाग्यो। लय र शब्दमा नेपाली मौलिकता झल्केको छ। मान्छेले रुचाउँछन्।’

गीतकार प्रेमप्रसाद राज भण्डारीले विदेशमा रहँदा आफ्ना अनुभवलाई काम गर्दा बचेको समयमा कागजमा उतारेको र संगीतकारसँग परामर्श गीत बनेको सुनाए। ‘म आफैलाई खारिएको जस्तो लाग्दैन्। विदेशमा रहँदा आफ्ना अनुभवलाई काम गर्दा बचेको समयको सदुपयोग गर्दै नेफ्किनमा पेन्सिलले लेख्थें। लेखेका कागजहरु संकलन गरेर संगीतकारलाई देखाए। गीत बन्यो’, उनले भने, ‘विदेशमा बस्दा देशका घटनाले दिक्क लाग्थ्यो। माया पनि लाग्ने रहेछ। देशका लागि लेखे। लेबरै भएपनि साहित्य मेरो विधा हो भनेर लेखे।’

समारोहमा गायक भविन श्रेष्ठ, कृष्णभक्त राई र गायिका सहिमा श्रेष्ठले एल्बमा आफूले स्वर दिएका गीत गाएर सुनाएका थिए। 

प्रकाशित: २३ असार २०७५ १३:१३ शनिबार

फूलझैं जीवन विमोचन