जेठ महिनाको मध्यमा हिन्दी फिल्मका चर्चित निर्देशक सुभाष घई काठमाडौँ आइपुगेका थिए । घईलाई भारतमा राजकपुरपछिका ‘ठूलो सो म्यान’ मानिन्छ । काठमाडौँस्थित कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीलाई आफ्नो ज्ञान बाँड्न आइपुगेका घईले विनोद चौधरीको आतिथ्य मात्र ग्रहण गरेनन्, पहिलो र अन्तिम पटक नायिका बनाइएकी मनीषा कोइरालाको घरमा शास्त्रीय सङ्गीतको स्वाद पनि लिन भ्याए । मनीषा मुम्बईमा थिइन्, त्यसैले आफूलाई सुनौलो पर्दामा पदार्पण गराउने ‘सो म्यान’लाई आफ्नै घरमा स्वागत गर्न पाइनन् तर मनीषाकी माता सुषमाले भने घईको स्वागतमा कुनै कमी राखेकी थिइनन् ।
घई घर छिर्नेबित्तिकै शास्त्रीय सङ्गीतमा मङ्गल धुन बज्यो, घरमा उनलाई हेर्न थुप्रिएका वा भेट्न मन गर्ने पाहुनाले फूलका गुच्छा दिए र एउटा सेल्फी तथा फोटो–सेसनको लामो सिलसिला चल्यो । नागरिक परिवारले पनि आफ्नो पत्रकारिताको मर्मअनुसार सेलिब्रिटी निर्देशकलाई घेर्न पुग्यो । उनलाई रमझमबाट केहीबेर निकालेर सोध्यौँ- ‘मनीषाकै घर आइपुग्दा अहिले तपाईंको दिमागमा के चलिरहेको छ ?’
राम्रा फिल्म निर्देशकहरु राम्रो कथावाचक हुन्छन्, उनले पनि मनीषालाई पहिलो पटक देख्दाको अनुभूति सुनाए, ‘उनी आमासहित आएकी थिइन् । मैले जसै ढोका खोलेँ र पहिलो पटकमै थाहा पाएँ, ऊ नै मेरो फिल्मकी हिरोइन हो ।’
उनले सुनाए– मनीषा र सुषमा उनको घरमा आइपुगेका थिए । स्वागतका लागि सुभाष गए र दुवैलाई अन्य पाहुनासँग भेट गराए । पाहुनाले सोधे, ‘यी दुई महिला को हुन् ?’
सुभाषले भने, ‘मेरो नयाँ फिल्मको हिरोइन ।’
‘भर्खरै त भेटेका छौ, अहिले नै निर्णय सुनाइदियौ तिमीले त !’ पाहुनाले आश्चर्य व्यक्त गरे ।
सुभाषले जवाफमा भने, ‘जुन बेला मैले ढोका खोल्दा मनीषालाई देखेँ, उनमा जुन किसिमको ‘डिभाइन फेस’ देखेँ, एउटा सुन्दर र आध्यात्मिक अनुहार देखेँ । त्यो अनुहारमा निर्दोषपना थियो । अनुहारमा बेग्लैपना थियो । त्यै बेला मैले निर्णय गरिसकेको थिएँ, ऊ नै मेरो हिरोइन हो ।’
उनी फिल्म उद्योगमा जमिन्, एउटा उचाइ हासिल गरिन् (मैले घईको लिजेन्ड शब्दलाई उचाइ भनेर अनुवाद गरेँ), उनले बलिउडमा राम्रा दिन देखिन्, खराब दिन पनि देखिन् । क्यान्सर भएपछि मृत्युसँग जुझिन् र मृत्युलाई अस्वीकार गरिन् र फेरि आफ्नै बुतामा उभिन थालिन् । यी सबै कुरा भन्दै गर्दा घईलाई खुसी के लागिरहेको थियो भने, उनी मनीषाको घरमा, मनीषाको कोठामा बसेर हामीसँग उनकाबारे कुरा गरिरहेका थिए ।
मैले सोधेँ, ‘तपाईंले मनीषालाई चाहिँ दोहो-याउनु भएन, एउटा प्रशंसकका रुपमा मेरो ठूलो गुनासो छ !’
उनको अनुहारमा गम्भीरता छायो, भने, ‘हेर्नुस्, मैले ‘रामलखन’मा माधुरी दीक्षितलाई पहिलो पटक खेलाएको थिएँ । मीनाक्षी शेषाद्रीलाई ‘हिरो’मा लिएको थिएँ । अब तपाईंले सोध्न सक्नुहुन्छ, किन माधुरीको ठाउँमा मीनाक्षीलाई दोहो-याइनँ । माधुरीलाई ‘सौदागर’मा किन ‘रामलखन’पछि दोहो-याइनँ ? अथवा तपाईंले भन्न सक्नुहुन्छ, किन मनीषालाई ‘परदेश’मा लिइनँ र महिमा चौधरीलाई ब्रेक दिएँ ? नयाँ अनुहारसँगै तिनले फिल्म नयाँ ऊर्जा ल्याएका हुन्छन् । जब उनीहरु ‘स्टार’ बन्छन्, उनीहरु साँच्चिकै ठूला स्टार बन्न पुग्छन्, जसमा पात्र अटाउँदैनन् । मान्छेलाई पहिल्यै थाहा भइसकेको हुन्छ, माधुरीले यस्तो गर्छिन्, मनीषाले यस्तो गर्छिन् । नयाँ अनुहार हामीलाई किन चाहिन्छ भने दर्शकले केही सरप्राइज पाऊन्, उनीहरुलाई त्यो नयाँ पात्रका बारेमा बेखबर होऊन् र एउटा बेग्लै पना पाऊन् ।’
लामो श्वास फेर्दै उनले भने, ‘जब उनीहरु स्टार बन्छन्, मलाई खुसी लाग्छ । उनीहरुको प्रगतिमा म अति खुसी हुन्छु । लेट् देम फ्लोरिस (फिल्मी बगैँचामा फक्रिऊन् ।) भनेर हामी तिनलाई छाडिदिन्छौँ । र, फेरि नयाँ अनुहारतर्फ लाग्छौँ।’
केही सम्झेजस्तो गरेर उनले भने, ‘म तपाईंलाई बताइदिऊँ– मनीषा साह्रै असल विद्यार्थी हुन् । उनी आउँदा अभिनयका बारेमा खासै जानकार थिइनन् तर समयक्रममा यति पोख्त भइन् कि लिजेन्ड बनिन् ।’
‘सौदागरका बेला मेरो घरमा धेरै स्थापित अभिनेता/अभिनेत्री मलाई लिनू, मलाई बरु पैसा चाहिँदैनसमेत भने,’ उनले थपे, ‘फेरि उनीहरुको चाहना स्वाभाविक पनि थियो किनभने फिल्ममा दिलिपकुमार/राजकुमारजस्ता हस्ती थिए तर म आफ्नो निर्णयमा पक्का थिएँ ।’
सौदागरपछि मनीषा कति व्यस्त भइन् भने ठट्टा गर्दै घईले भने, ‘सौदागर रिलिज भएपछिका पाँच वर्षसम्म त उनी कति व्यस्त भइन् भने मलाई समेत समय दिन नसक्ने अवस्था थियो ।’ यसपछि उनी मज्जाले हाँसे ।
०००
एक समय थियो, सुभाष घईले घर चलाउन फिल्म बनाउने गर्थे । जब उनलाई घर चलाउन पर्याप्त पुग्यो भन्ने लाग्यो, त्यसपछि उनलाई फिल्म इन्स्टिच्युट खोले । यतिबेला मुम्बईस्थित उनको फिल्म इन्स्टिच्युट ह्विस्लिङ वुड एसियाकै सबैभन्दा राम्रो फिल्म इन्स्टिच्युटमध्येको एकका रुपमा चिनिन्छ । त्यो इन्स्टिच्युटको अध्यक्ष उनकी छोरी मेघना घई पुरी छिन् । उनकी १६ वर्षे कान्छी छोरी मुस्कान भने यतिबेला अध्ययनमा व्यस्त छिन् ।
‘जब छोराछोरीहरु हुर्कन्छन् र उनीहरुले एउटा सफलता पार्छन्,’ उनले जेठी छोरीको उदाहरण दिँदै भने, ‘कम्ता खुसी लाग्दैन । मेरा दुइटै छोरी एक–से–एक छन् र उनीहरुको प्रगतिमा म अन्य बाउझैँ निकै खुसी छु ।’
१६ वर्षे मुस्कान नातिनी पुस्ताकी भए पनि उनी सबैभन्दा नजिक महसुस गर्छन् । ‘यो पुस्ता कति प्रतिभाशाली छ भने मानौँ, दुई पुस्ताको प्रतिभा एकै ठाउँमा जोडेर ल्याएका होऊन्,’ उनले नयाँ पुस्ताको बुझाइबारे भने, ‘उनीहरुको औँलामा संसार छ, उनीहरु हामीभन्दा बुझ्झकी छन्, उनीहरुलाई राम्रो–नराम्रो यही उमेरमा थाहा छ । हाम्रा पालामा उनीहरुको उमेरमा के थियौँ र ?’
पुस्तान्तरको समस्या छैन त उनको घरमा ? ‘पुस्तान्तर त त्यहाँ हुन्छ, जहाँ तपाईं आफूलाई अड्काउनु हुन्छ,’ घई भन्छन्, ‘तर जब उसको सोचाइको स्तरमा पुग्ने प्रयास गर्नुहुन्छ, उनीहरुसँगै आफू पनि सिक्ने प्रयास गर्नुहुन्छ, त्यहाँ कुनै समस्या हुँदैन ।’ उनले नयाँ पुस्तासँग धेरै कुरा सिक्न सकिने बताए । त्यसो त परिवारमा उनी अभिभावकभन्दा बढी साथीजस्तो व्यवहार गर्न सकेमा पुस्तान्तरको समस्या नआउने बताउँछन् ।
‘तपाईंका सन्तान तपाईंका ऐना हुन्,’ एकाएक घई दार्शनिक बने, ‘तपाईंको व्यक्तित्वले उनीहरुलाई बनाउँछ अनि जसै उनीहरुले तपाईंको सम्मान बढाउने कुनै काम गर्छन्, तपाईंको सपना पूरा भएको ठान्नुहुन्छ । र, त्यसका लागि तपाईंले ‘भ्यालु’ सिकाउनु हुन्छ र पर्छ ।’
‘कहिलेकाही अभिभावक आफ्ना सन्तान आफ्नो ‘क्लोन’ बनाउन चाहन्छन्, आफूजस्तै बनाउन चाहन्छन्,’ उनले देखेको समस्या बताए, ‘त्यो चाहिँ समस्या बन्न सक्छ । हामीले त सन्तानलाई भ्यालु सिकाउने हो, जीवन सिकाउने हो, उड्न सिकाउने हो ।’ उनले आफ्नै उदाहरण दिए, ‘म फिल्ममा जान चाहन्थेँ तर मेरो डाक्टर बुबाले भन्नुभयो, पढाइ सकेपछि मात्र । मेरो परिवारमा कोही पनि फिल्म उद्योगमा थिएन । टाढाटाढाका रिस्तेदार पनि थिएनन् तर मलाई आफूमाथि विश्वास थियो । मैले जसै पढाइ सकेँ, मेरो सपनामा उहाँ बाधा बन्नु भएन । ठीक त्यसैगरी मैले मेरा सन्तानका सपनामा पनि बाधा बन्नुहुन्न ।’
उनले छोरी मेघना हुर्किएपछि सोधे, ‘तिमी फिल्ममा आउन चाहन्छ्यौ ? तिम्रालागि म फिल्म लञ्च गरौँ ?’
छोरीले जवाफ दिइन्, ‘म पर्दामा होइन, पर्दापछाडिका कुरामा सहज हुन्छु ।’
पहिला घईको निर्माण कम्पनी मुक्ता आर्ट्स्मा उनले पर्दापछाडिका काम गरिन्, केही सिकिन् । त्यसपछि फिल्म स्कुल ‘ह्विसलिङ वुड’ स्थापनालगत्तै उनले अध्यक्षको जिम्मेवारी निभाइन् । र, उनको कामप्रति घई गर्व गर्छन् । ‘उसमा व्यवस्थापनप्रति जुन लगाव छ, त्यो अद्भूत छ,’ उनले छोरी मेघनाप्रति गर्व गर्दै भने ।
‘हाम्रोजस्तो दक्षिण एसियाली परिवारमा बुबाको काम भनेको परम्परा, मूल्य र मान्यताका कुरा अनि सिद्धान्तका कुरा आमामार्फत् हाल्ने, सिकाउने, बुझाउने हुन्छ,’ उनले हाम्रो शैलीको लालनपालनबारे भने, ‘जस्तो म मेरा सन्तानलाई के सिकाउन चाहन्छु भन्ने कुरा मेरी पत्नीलाई बुझाउँथेँ, उनले तिनै कुरा मेरा छोरीहरुमा भरिन् । आज उनीहरुमा मेरा मूूल्य, मान्यता र विश्वासहरु भरिएर आएका छन् । यसको अर्थ, उनीहरुलाई आफूजस्तो बनाउन खोजेको होइन । उनीहरुलाई उनीहरुजस्तै रहन दिने तर आफ्ना मूल्य, मान्यतालाई पनि सँगैमा सिकाउने हो ।’
१६ वर्षे कान्छी छोरीसँग ७३ वर्षे बूढा बाको सम्बन्ध कस्तो छ त ? ‘राम्रो ! म उसको सबैभन्दा असल साथी हुँ,’ उनले भने, ‘ऊ मसँग संसारका सबैथोकका बारेमा छलफल गर्छे । ऊ मसँग कुनै कुरा लुकाउँदिन । ऊ त आफ्ना केटा साथीबारे पनि खुलेर बताउँछे ।’
जो छोराछोरी आमाबुबासँग कुरा लुकाउँछन्, त्यहीँबाट गडबडी सुरु हुने उनको धारणा छ । ‘हामी जे सुन्न चाहन्छौँ, उनीहरुबाट त्यही ओकल्न लगाउँछौँ,’ उनले जोड दिँदै भने, ‘यस्तो लालनपालनमा दोष हुन्छ । यस्तोमा छोराछोरी बिग्रने सम्भावना बढीभन्दा बढी हुन्छ । उनीहरुलाई नियन्त्रण होइन, जीवनमा तीन कुरा सिकाए पुग्ने उनको धारणा छ । उनले औँला पड्काउँदै भने, ‘तपाईंका सन्तानलाई तीन कुरा मात्र सिकाउनु भयो भने उनीहरुले आफ्नो बाटो आफँै खोल्छन् । पहिलो, आत्मसम्मान (डिग्निटी), दोस्रोमा धैर्य (प्यासेन्स) र तेस्रोमा अरुलाई सम्मान (रेस्पेक्ट) । यी तीन वटा गुण भयो भने उसले जीवनमा चाहेको लक्ष्य हासिल गर्न गाह्रो हुँदैन ।’
उनले अझै खुलेर भने, ‘जो व्यक्तिमा आत्मसम्मान र अरुप्रतिको सम्मान भाव छ, उसमा सम्भावना हुन्छ । अरुले त्यो कुरालाई महत्व दिन्छन् । धैर्य त तपाईंको जीवनको सबैभन्दा ठूलो गुण हो । जीवनका सबैभन्दा अप्ठेरा अवस्थामा धैर्यले तपाईंलाई अविचलित रुपमा आफूमाथि विश्वास गर्ने वातावरण दिन्छ । धैर्यले तपाईंलाई सफलताको सिँढी तुरुन्तै चढ्नुपर्ने भावनामा लगाम लगाउँछ । रातारात सफलताको भूतलाई धैर्यले उतारिदिन्छ ।’
०००
कसैले भनेको छ– सफल जीवन त्यो हो, जसले जीवनभर गरेको सङ्घर्ष र त्यसबाट प्राप्त सफलता बाँड्छ । यतिबेला घई आफ्ना भावना, धारणा, विश्वास र सूत्र बाँड्न लालायित छन् । यही भेटका क्रममा पनि उनले आफ्नो जीवनसङ्घर्षका कथाभन्दा आफूले जानेका कुरा बताउन बढी इच्छुक रहे । ‘मेरो जीवनका उतारचढाव त तपाईंले इन्टरनेटभरि पाउनुहुन्छ तर मेरा भावना, मेरो बुझाइ र ज्ञान पाइँदैनन्,’ उनले अन्तरवार्तामा बस्नुअघि भनेका थिए । यही कुरा अन्तरवार्ताको अन्त्यतिर आउँदै गर्दा भने, ‘मैले ३५ वर्षसम्म लगातार फिल्म बनाएँ र जीवनमा थोरबहुत सिकेँ । अब म त्यो जानकारी, आफूले बुझेको कुरा अरुलाई सिकाउन र बाँड्न चाहन्छु भन्ने लागेपछि फिल्म स्कुल निर्माण गरेँ । अहिले पनि म नेपालमा मेरा भावना, ज्ञान र जानकारी बाँड्न आइपुगेको थिएँ । सिकाउँदा सबैभन्दा फाइदा सिकिन्छ पनि । नयाँ पुस्तासँग म आफू पनि सिकिरहेको हुन्छु, मैले सिकेका कुरा उनीहरुसँग बाँडिरहेको हुन्छु । यो मेरो पछिल्लो सोख बन्न पुगेको छ ।’
प्रकाशित: १९ असार २०७५ १२:३७ मंगलबार