कला

केशवको ‘जुँगे झाँक्रीको भूत’

धादिङ– पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ।

धादिङवेसीमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उक्त कथा संग्रहको संयुक्त रुपमा विमोचन गरेका थिए।

  ९ वटा कथा समावेश भएको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’का विषयमा धादिङका अग्रज साहित्यकार बद्री प्रसाद दाहालले टिप्पणी गरेका थिए । कथा संग्रहमा समावेश भएका कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पनि पाउन सकिने दाहालकोे टिप्पणी थियो । उनले साहित्यको क्षेत्रमा अग्रसर दुवाडीका कथाहरू रोचक तथा मनन योग्य रहेको बताउँदै सबै उमेर समूहका लागि पठनीय सामाग्रीले भरिपूर्ण रहेको बताए।

पुस्तकका बारेमा बोल्दै कथाकार केशव दुवाडीले बाल अधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा बाल साहित्यप्रति पनि रुचि बढ्दै गएको र सोही क्रममा लेखिएका कथाहरू भेला गरेर  पुस्तक तयार भएको बताए । त्यति बेला कथाका अंशहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा शुभेच्छुकहरूले यसलाई पुस्तक संग्रहको रुपमा प्रकाशित गर्न दिएको  सुझावबाट पुस्तक तयार भएको कार्यक्रममा बताए ।  ४० पृष्ठको कथा संग्रहमा ९ वटा कथा समावेश गरिएको छ । पुस्तकको प्रकाशन नीलकण्ठ नगरपालिका धादिङले गरेको हो ।
 

प्रकाशित: १८ असार २०७५ ०५:०९ सोमबार

केशवको जुँगे झाँक्रीको भूत