कला

पौभा अन्तर्राष्ट्रियकरण गर्नै सकस

काठमाडौं – पहिचानको कुरा कुनै जाति विशेषमा मात्र हैन कुनै स्थानीय तहको कला र संस्कृतिका लागि पनि उत्तिकै महत्वपूर्ण राख्छ।

आधुनिकीकरणले आकाश छोएको भए पनि गाउँ बेंसी, तराई पहाड, कुना कन्दराका कला संस्कृतिले जो सुकैको मन छुन्छ । कुनै पनि मौलिक कलाले स्वदेशमा मात्र होइन विदेशीको पनि मन जित्छ । नेपाल आउने पर्यटक पनि यहाँको मौलिक संस्कार, संस्कृति र ती सबै समेटिएको कलाकृतिले मुग्ध हुन्छन् ।तराईको मिथिला चित्र होस् वा हिमालको थांका चित्र अथवा काठमाडौं र आसपासका नेवार समुदायमा चर्चित पौभा कलामा नेपाली संस्कृतिको विविधता भेट्न सकिन्छ ।

पौभाको सांस्कृतिक महत्व आफ्नो ठाउँमा हुनुका साथै यसकोे अन्तर्राष्ट्रियस्तरमा समेत कलात्मक महत्व बढ्न थालेका कलाकार स्वयंको अनुभव छ ।पौभा कलामा जीवनको ३५ वर्ष खर्चेका कलाकार उदयचरण श्रेष्ठ नेपालमा भन्दा बढी यसको महत्व विदेशमा रहेको स्वीकार्छन् । ‘विदेशका ठूला ठूला म्युजियममा नेपालको पौभा कला देख्दा अचम्म लाग्छ,’ उनले भने, ‘तर पौभालाई अन्तर्राष्ट्रिय जगतको आम समुदायबीच लैजान भने सकस नै छ।’

केही दिनअघि कला पत्रकार समाजले आयोजना गरेको अन्तरक्रियाका क्रममा नेपाली कलाकारले पौभाको अन्तर्राष्ट्रियरण गर्न राष्ट्र चुकेको बताए । व्यक्तिगत तवरमा केही अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा भाग लिएर पौभा कला विदेशीलाई देखाउने बाहेक सामूहिक प्रयास भएका छैनन् । श्रेष्ठले सरकार र ललित कला प्रज्ञा प्रतिष्ठानलगायत सम्बन्धित निकायले पौभा कलाको प्रवद्र्धनमा ध्यान दिन जरुरी रहेको औंल्याए।

जापानमा उनले केही वर्ष अघि पौभाको कला प्रदर्शनी गरेको स्मरण गर्दै भने, ‘त्यहाँ निकै राम्रो माने तर म एक्लैले उनीहरूको माग पूरा गर्न सक्ने अवस्था नै थिएन ।’तथापि श्रेष्ठले सुरु गर्दाताकाकोे अवस्थाभन्दा अहिलेको पौभाको अवस्थामा आकाशजमिनको फरक छ । शैलीगत रुपमा उतिबेला धार्मिक पौभाको महत्व बढी थियो ।

अचेल स्थानीय जनजीवन समेट्ने पौभा कला पनि उत्तिकै रुचिकर मानिन्छन् । धर्म संस्कार र परम्परागत धार बोकेको पौभामा आधुनिक धार मिसाएरै कलाकारले यसको आयाम  फराकिलो भएको कला समीक्षक बताउँछन् । प्रेममान चित्रकार, मदनलाल सुवाल, अमर चित्रकार लगायतको पौभा हेरेर अनि थोरै सिकेर श्रेष्ठले उतिबेला पौभा कला कोर्न थालेका थिए । पौभा सिकाउने गुरु नपाएपछि उनी कहिले कसकोमा त कहिले कसकोमा पौभा सिक्न पुग्थे ।

‘क्यारमबोर्डमा स्ट्रेन्चर राखेर पौभा कोथ्र्यौं, कताको क्यानभास,’ श्रेष्ठले भने, ‘गुरु हुँदो हो त मैले पौभा सिक्न वर्षौं लगाउनु पर्दैन थियो ।’ क्याम्पसमा कला सिक्नेले ऐच्छिक विषयमा समेत पौभा पढ्ने अवसर थिएन । तर त्यसले उनी जस्ता कलाकारलाई आफ्नो पौभामा आफ्नो शैलीको विकास गर्न भने सघायो । अझ टुडी मा बनिरहेको पौभाचित्रलाई जीवन्त रुप दिने थ्रिडीको विधी उनैले पौभामा भित्र्याएका हुन्।

देवी देवता हुन् वा स्थानीय मानिसका चित्र पौभा कोर्नु छ भने त्यो हलचल गरिरकेको र जीवित मान्छेकै जस्तो देखिनुपर्छ भनेर उनले थ्रिडी प्रविधी पौभामा प्रयोग गरेको बताउँछन् । कलाकृतिभित्र देवीदेवताको चित्र कोर्दा गतिशील र आँखा सजल बनाएकै कारण उनका पौभा अरुका भन्दा फरक लाग्छन् । चित्रबाट निस्किएर बाहिर आउलान् जस्ता उनका पात्रलाई अन्तर्राष्ट्रिय कलाकारले निकै मन पराउँछन्।

उनले पौभा सिक्दै गर्दा विश्वमा आधुनिककलाको विकास तीव्र हुँदै थियो । आधुनिक कला पढ्ने सिक्नेहरू परम्परागत धारको पौभालाई कला हैन प्रतिरुप बनाएको मान्थे । ‘पुनरावृत गर्न पनि पौभा सहज छैन, क्राफ्ट हो भने त्यही गर्न अनि ट्रेस गर्न पनि गाह्रै छ,’ उनी थप्छन्, ‘अझ त्यसमा मौलिकता भरेर नयाँपन दिनु अर्को चुनौती हो।’

पौभा त्यो कला हो जसमा सजिने कलाको रंगिन धर्को वा लाइन नटुटाइकन जति घुमाएर कलात्मक बनाउन सक्यो उति अब्बल ठहरिन्छ ।पौभा बनाउँदा उनी भौतिक विषयवस्तुको अध्ययन मात्र हैन सैद्धान्तिक विषयको अध्ययन पनि गर्छन् । पौभा नेवार समुदायको कला भएकाले धार्मिक, सांस्कृतिक र जनजातीय मिथक हरेक चित्र कोर्दा गहन अध्ययन गर्छन् । देवी देवताका अंगप्रत्यंगको भावभंगिमा अध्ययन गरेको मिथकै आधारमा चित्र कोर्न उनी खप्पिस छन् । हावाको वेगसँगैको पौभा बनाउँदासमेत त्यसमा सजीवता भर्न छाड्दैनन्।

भारतमा कलाकार रवि वर्माले हिन्दू देवी देवतालाई भारतीय संस्कारको अवतारमा ढाले । श्रेष्ठले हिन्दू देवी देवतालाई नेपालीकरण गर्नुपर्छ भन्ने मान्यता बोके । पौभामा बनाइने देवी देवतालाई भारतीय आर्यमूलका कपडा, गरगहना र शस्त्र अस्त्रले सिंगारिन्थ्यो । ‘मैले नेवारी समुदायमै प्रचलित गरगहनालाई पौभामा स्थान दिएर अझ मौलिक बनाएँ,’ उनले सम्झे । नेपालमा १३ औं शताब्दीदेखिको पौभाकलाको इतिहास छ ।
 

प्रकाशित: १५ असार २०७५ ०५:३३ शुक्रबार

पौभा अन्तर्राष्ट्रियकरण गर्नै सकस