कला

मुख्य अभिनेत्रीबिनै फिल्म ‘मायाङ्क’ घोषणा

काठमाडौं – फिल्मको घोषणा गरिँदा प्राय फिल्मका सबै कलाकार सार्वजनिक गरेर सुटिङमा जाने गरिन्छ । तर बुधबार राजधानीमा भने एक फिल्मको घोषणा गर्दै निर्माण पक्षले फिल्मकी प्रमुख नायिका नै लुकाइदिए।

भदौ पहिलो साताबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममा अन्य कलाकार निर्माण पक्षले सार्वजनिक गरे पनि प्रमुख नायिका चाहिँ पत्रकारमाझ सार्वजनिक गरेनन्।

फिल्मका निर्माता जितेन्द्र खतिवडाले कथाको माग अनुसार फिल्मकी अर्की नायिकाको नाम नखुलाइएको बताए । ‘फिल्मको कथामा उनको चरित्र सस्पेन्स राखिएको छ । त्यसकारणले पनि नायिका को हुन् भन्ने सस्पेन्स हामीले लुकाएका हौं,’निर्माता खतिवडाले भने,‘फिल्मको टिजर र ट्रेलरमा मात्र प्रमुख नायिका दर्शकलाई देखाउनेछौं ।’

फिल्ममा रोमी मानन्धरको ‘डेब्यु’ निर्देशन हुनेछ । उनले फिल्मको जन्रा प्रेमकथाको रहेको खुलाइन् । फिल्मका लागि प्रशान्त ताम्राकार, सुशिल उप्रेती र ज्योत्सना योगी फाइनल भइसकेका छन् ।फिल्ममार्फत अभिनयमा डेब्यु गर्न लागेका नवनायक सुशिलले फिल्मका लागि डेढ वर्षदेखि मेहनत गरेको बताए । ओस्कार कलेजबाट अभिनयमा स्नातक उनले निर्देशकले चाहे अनुसारको फिल्म दिनका लागि आफूले मेहनत गर्ने दाबी गरे । उनले फिल्म ‘लुट’ र ‘लुट २’मा सानो भूमिकामा अभिनय गरेका छन्।

अर्का अभिनेता प्रशान्तले फिल्ममा आफ्नो भूमिका अहिलेसम्म गरेका फिल्ममा भन्दा भिन्न रहेको बताए । नायिका ज्योत्स्नाले ‘मायाङ्क’ आफूले खोजेजस्तै फिल्म भएको बताइन् ।फिल्मलाई माघमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । फिल्म प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।

 

प्रकाशित: १५ असार २०७५ ०५:२० शुक्रबार

मुख्य अभिनेत्रीबिनै फिल्म मायाङ्क घोषणा