कला

‘राजेन्द्रलक्ष्मी’ नाटकमा इतिहासलाई प्रश्न

नाटक ‘राजेन्द्रलक्ष्मी’मा अभिनय गर्दै कलाकार । तस्बिर सौजन्य :सोमनाथ खनाल

काठमाडौं – भनिन्छ इतिहास जित्नेहरूको घोडा हो । इतिहास बिजेताकै लेखिए पनि तथ्य परक हुनु यसको शर्त हो।

तर नेपालको इतिहास ‘फ्याक्ट’भन्दा पनि ‘फिक्सन’ले भरिएको छ, सायद यसमा लामो बहस जरुरी छैन । अझ २ सय ४० वर्ष नेपालमाथि शासन गरेको शाह वंशको इतिहास त आधुनिक कालमा पनि शंकास्पद मानिन्छ । तर इतिहास लेखकले गरेको यो गल्ती सधैं यत्तिकै रहिरहन्छ भन्ने छैन । नेपालको इतिहासमाथि विभिन्न माध्यमबाट विभिन्न तरिकाले प्रश्न उठ्न थालेका छन् ।

नाटकको माध्यमबाट उठाइएको प्रश्न, यतिबेला मण्डला नाटकघरमा ‘राजेन्द्रलक्ष्मी’ शीर्षकमा मञ्चन भइरहेको छ । नाटकले इतिहासलाई चुनौती दिँदै शाह वंशमा पहिलो नायबी चलाउने राजेन्द्रलक्ष्मीकोे यस्तो चरित्र पेस गर्छ जुन नेपाली इतिहासका कुनै किताबमा पढ्न पाइन्न ।

पाल्पामा जन्मिएकी राजेन्द्रलक्ष्मी पृथ्वीनारायण शाहकी जेठी बुहारी हुन् । पृथ्वीनारायण शाहका दुई छोरा प्रतापसिंह शाह र बहादुर शाहमध्ये जेठा प्रतापसिंह शाहसँग राजेन्द्रलक्ष्मीको विवाह भएको थियो । तर विवाह भएको केही वर्षमै २५ वर्षको उमेरमा प्रतापसिंह शाहको मृत्यु भयो । सानो उमेरमा विधवा बनेकी राजेन्द्रलक्ष्मीले त्यसयता आफू बच्न मात्र संघर्ष गरिनन्, इतिहासले भन्छ, उनले पृथ्वीनारायण शाहले सुरु गरेको ‘ग्रेटर नेपाल’ बनाउने अभियानका लागि पनि संघर्ष गरिन् ।

संगीत र नृत्यको फ्युजनसँग आउने नाटकले इतिहासले अवमूल्यन गरेको पात्रसँग मात्र  परिचित गराउँदैन, नाटकघरमा दुर्लभ देख्न पाइने नाट्य अभ्याससँग पनि साक्षात्कार गराउँछ । इतिहासको पुनरावलोकनका लागि संगीत र नृत्यको लोभलाग्दो फ्युजनले नाटक दर्शनीय छ ।  

उनकै पालामा बाइसे चौबिसे अन्तर्गतका धेरै राज्य नेपालको अधिनमा आएका थिए । ८ वर्ष छोरा रणबहादुर शाहको नायबी चलाएकी राजेन्द्रलक्ष्मीको यो विजय यात्रा सजिलो भने थिएन । उनले सबैभन्दा पहिले त सती हुनबाट भारदारसँग संघर्ष गर्नु परेको थियो भने शासन चलाउन थालेपछि आफ्नै देवर बहादुर शाहसँग । नाटक ‘राजेन्द्रलक्ष्मी’ले इतिहासमा १ पेजमा लेखिएको यही इतिहासलाई एक घन्टा हाराहारी प्रस्तुत गरेको छ ।

संगीत र नृत्यको फ्युजनसँग आउने यो कथाले तपाईंलाई इतिहासले अवमूल्यन गरेको पात्रसँग मात्र  परिचित गराउँदैन, नाटकघरमा दुर्लभ देख्न पाइने नाट्य अभ्याससँग पनि साक्षात्कार गराउँछ । परिकल्पनाकार तथा निर्देशक नम्रता केसीले इतिहासको पुनरावलोकनका लागि संगीत र नृत्यको यस्तो फ्युजन गरेकी छिन् जहाँ दर्शक उनको समूहको मेहनतको प्रशंसक नभईकन बाहिर निस्कन सक्दैन । राजधानीका नाटकघरमा जति फरक नाटक हेरेको भए पनि यो नाटकको प्रस्तुतिकरणले तपाईंलाई भित्रैदेखि प्रभावित गर्छ ।

नाटकले राजेन्द्रलक्ष्मीको जन्मदेखि बाइसे चौबिसे राज्यको विजययात्रासम्मलाई समेटेको छ । यो क्रममा राजेन्द्रलक्ष्मीको हक्की स्वभावको विकासदेखि तरबारबाजीमा उनको कौसलसम्मलाई समेटेको छ । पिताको घर पाल्पामा पुरुषले मात्र युद्ध कौशल सिक्न पाइने परम्परालाई तोड्दै सारा युद्ध कौशल सिक्छिन् । विवाहपछि पनि भारदारका सारा षडयन्त्रलाई परास्त गर्दै अविच्छिन्न राज्य चलाउँछिन् । यो क्रममा उनले निकै चतुर मानिने बहादुर शाहलाई पनि नियन्त्रणमा राख्न सफल भएको इतिहास छ।

इतिहासको एक छायाँ पात्रलाई लिएर तयार भएको नाटक हो ‘राजेन्द्रलक्ष्मी’ । तर इतिहासको पात्रको कथा भन्नलाई नम्रता र उनको समूहले जुन शैली अपनाएको छ त्यो साँच्चिकै प्रशंसनीय छ । कतिपय कुरा यस्ता हुन्छन् जुन शब्दमा पनि भन्न सकिन्न । कति कुरा शब्दले भने पनि बुझाउन गाह्रो पर्छ ।

नम्रता र उनको कलाकार समूहले त्यहाँ ताली पाउँछन् जहाँ उनीहरूले इतिहासका व्यक्त गर्न नसकिने घटनालाई संगीत र घुँघरुको तालबाट अभिव्यक्त गर्छन् । दर्शक मनमनै नम्रता र उनका कलाकारको कदर गर्न बाध्य हुन्छन् जब युद्धमा घोडा कुदेको दृश्य मञ्चमा आउँछ । नाटकमा यस्ता धेरै ठाउँ छन् जहाँ दर्शक कलाकारको प्रस्तुतिले हैरान हुन बाध्य हुन्छन् ।राजेन्द्रलक्ष्मीको बाल्यकाल हुँदै सुरु हुने नाटक नेपाल राज्यको बिस्तारका उनले पाएको सफलतासँगै सकिन्छ । नाटकको पहिलो भाग उनको बाल्यकालको चरित्र चित्रणमा अलि धेरै रोकिएको छ ।

दर्शकलाई उच्चाट पनि लाग्छ तर राजेन्द्रलक्ष्मीको प्रतापसिंह शाहसँगको विवाहसँगै नाटकले गति लिन्छ र एउटा उचाईमा पुगेर सकिन्छ । नाटकमा गीति शैलीका संवाद छन् । अन्त्यानुप्रास मिलाउने चक्करमा बुनिएका संवाद कहिँ कहिँ बनावटी लाग्छन् तर बाँकी समय संवादले कथालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । लेखनमा नम्रतालाई सोमनाथ खनाल र संयोग गुरागाँईले सघाएका छन् ।

नाटकको प्रस्तुतिलाई रोचक बनाउन प्रत्यक्ष वाद्यवादनको प्रयोग गरिएको छ जसले नाटकलाई सुरम्य बनाउन ठूलो योगदान गरेको छ । सवाई शैलीमा प्रस्तुत अशेष राई, उत्सव बुढाथोकी र सम्यक महर्जनको गायनले नाटकले गर्न खोजेको प्रयोगलाई सार्थक बनाएको छ । यसका लागि वाद्यवादन समूहका तीनै जना प्रशंसाको हकदार छन्।

कलाकारको अभिनय नाटकको उल्लेखनीय पक्ष हो । मञ्चमा साना ठूला गरी १० नारी चरित्रको अभिनय छ । यिनै नारीहरूले पुरुषको पनि भूमिका निर्वाह गरेका छन् तर पुरुष चरित्रमा पनि उनीहरूको अभिनय विश्वसनीय छ । मञ्चमा देखिने निश्मा घिमिरे, नम्रता केसी, रिगा घिमिरे, कुन्ती सिमाली, मनिषा बस्नेत, पवन पाठक,निशा कार्की, रेणु योगी, रीतु दर्शनधारी र आत्मा खतिवडा सबैले उत्कृष्ट नृत्य र अभिनय पेश गरेका छन्।

गत ८ गतेबाट सुरु भएको नाटक २४ गतेसम्म चल्नेछ । यदि तपाईं साँच्चिकै फरक नाटक हेर्न चाहानुहुन्छ भने राजेन्द्रलक्ष्मी नछुटाउँदा राम्रो । यसले तपाईलाई इतिहासलाई प्रश्न गर्न मात्र प्रेरित गर्दैन, रङ्गमञ्चमा विरलै प्रयोग हुने नृत्य नाटिकाको शैलीसँग पनि साक्षात्कार गराउँछ ।


 

प्रकाशित: १४ असार २०७५ ०२:०३ बिहीबार

राजेन्द्रलक्ष्मी नाटकमा इतिहासलाई प्रश्न