कला

‘अब थोरै फिल्ममा काम गर्छु’

फिल्म ‘भैरे’का नायक दयाहाङ राई सोमबार पत्रकारमाझ आफ्ना भनाई राख्दै । साथमा नायिकाद्वय सुरक्षा पन्त र वर्षा शिवाकोटी । तस्बिरः नागरिक

काठमाडौं – कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे।

व्यस्त समय तालिकाका कारण उनी फिल्मी कार्यक्रममा कमै उपस्थित हुन्थे । उनलाई फिल्मको प्रमोसनमा पनि समय नदिएको आरोप थियो । यी सबै आरोपलाई मध्यनजर गर्दै दयाहाङले कम फिल्म खेल्ने निर्णय गरेको बताएका छन् ।आगामी साउन ४ गतेबाट रिलिज हुने फिल्म ‘भैरे’को ट्रेलर सार्वजनिक कार्यक्रममा सोमबार राजधानीमा दयाहाङले अब कम फिल्ममा मात्र देखिने घोषणा गरे ।

‘मलाई फिल्मको प्रमोसनमा कम हिँडेको, सुटिङ पछि समय नदिएको भन्ने आरोप आइरहन्छन् । मैले यो कुरा सुन्दै आएको छु र त्यसलाई मनन पनि गर्दै आएको छु,’उनले भने,‘ अब थोरै फिल्ममा मात्र काम गर्छु । एउटा फिल्मको सुटिङ सकेर रिलिज नहुञ्जेलसम्म अर्को फिल्ममा काम नगर्ने योजना बनाएको छु । ’ दयाहाङ पछिल्लो समय  ‘ह्याप्पी डेज’मा देखिएका थिए ।  बक्स अफिसमा दुई दिन पनि दर्शक जुटाउन नसकेको योे फिल्मपछि  ‘भैरे’ षे वर्षको दोस्रो रिलिज हुनेछ । पोष्टप्रोडक्सनमा रहेको फिल्म ‘नीरफूल’मा यही साल रिलिज हुनेछ भने उनले यो फिल्म पछि ‘साइली’मा अभिनय गर्नेछन्।

फिल्म ‘भैरे’का निर्देशक एभरेष्ट सूर्य बोहोराले फिल्ममा कमेडीसँगै सामाजिक सन्देश पनि बोकेको बताए । ‘व्यावसायिक फ्लेबरको फिल्म भएकाले सबै मसला यसमा छन्,’उनले भने,‘दर्शकले मुस्ताङको रमणीय दृश्यलाई फिल्ममा हेर्न पाउनेछन् ।फिल्मकी नायिका सुरक्षा पन्तले ट्रेलरमा देखिए अनुसार नै आफ्नो चरित्र रहेको बताइन् । ‘फिल्ममा मेरो चरित्र कस्तो छ भन्ने कुरा ट्रेलरले नै देखाइसकेको छ । यो चरित्र दर्शकले मनपराउनुहुनेछ ’ उनले भनिन्।

नायक विक्रान्त बस्नेतले लामो समयपछि आफू फिल्म क्षेत्रमा फर्किएकाले आफ्नो पुनरागमन सुखद हुने दाबी गरे । फिल्मका सहनिर्माता तथा गायक यम बरालले संगीत क्षेत्रमा गरिरहेको लगानीलाई अब फिल्म क्षेत्रमा पनि ल्याएकाले लगानी सुरक्षित हुनेमा आफू ढुक्क रहेको बताए ।नेपालय सिनेमा इन्टरनेसनल फिल्मको व्यानरमा बनेको फिल्ममा बुद्धि तामाङ, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मीको पनि अभिनय छ ।

फिल्ममा बसन्त सापकोटा, यम बराल र अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, बसन्त श्रेष्ठ र रामजी लामिछानेको नृत्य, सूर्य थोकरको द्वन्द्व, बनिष शाहको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन छ ।फिल्ममा प्रेमप्रसाद पौडेल र देवी माया निर्माता छन् भने लेखबहादुर पुन कार्यकारी निर्माता छन् । फिल्ममा करुणाकर घिमिरे, सबिता गुरुङ, कुमार बस्नेत र यम बराल सहनिर्माता छन् ।

 
 

प्रकाशित: ५ असार २०७५ ०२:४६ मंगलबार

अब थोरै फिल्ममा काम गर्छु