कला

पोखरामा ‘कुरुप हाँस’

काठमाडौं – केही समय अघि राजधानीमा मञ्चन गरिएको नाटक नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ ।

नाजिर हुसेनको परिकल्पना एवं निर्देशनमा बनेको नाटक मञ्चनका लागि नाटक समूह यतिबेला पोखरामा छ ।डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा ‘अग्लीडकलिङ’ कथामा आधारित नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो।

नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्ने अपहेलना र विभेद देखाइएको छ । घरबाट गाउँ हुँदै सुन्दर तलाउको किनारमा पुगेर कालो रङमै आफ्नो सुन्दरता भेट्ने कुरुप हाँसको कथा भन्नका लागि निर्देशकले कन्टेम्पररी डान्स फर्मको प्रयोग गरेका छन्।

‘यो एउटा बिम्वात्मक कथा र प्रस्तुति हो । कथाको केन्द्रमा हाँस भए पनि हाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रङ् वा जात, धर्म, लिङ्गका आधारमा गरिने विभेद संकेत गर्छ ।’ निर्देशक नाजिरले भने । उनले नाटकको कथामा आफू र आफ्ना भोगाइहरु महसुस गरेको बताए ।नाटक महेन्द्रपुल गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नाटक मञ्चन हुनेछ । नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय छ ।नाटक असार १ गतेदेखि ३ गतेसम्म नियमित मञ्चन हुनेछ । पोखराका लागि फ्लोरेन्स कार्कीले कार्यक्रम संयोजन गर्दैछिन् ।
 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०२:५८ बिहीबार

पोखरामा कुरुप हाँस