कला

एकल साँझमा सुनिए टीका

काठमाडौं – २१ वर्षको उमेरमा नेपाली सेनामा रहँदा हाइभोल्टेजका कारण दुवै हात गुमाएका गायक तथा संगीतकार टीका बोम्जनले राजधानीमा एकल साँझ गरेका छन् ।

सुन्धारास्थित आर्मी अफिसर्स क्लबको हलमा आयोजित कार्यक्रममा उनले ‘माटोले माग्दैन आफैंले दिनुपर्छ’ बोलको गीत गाएर एकल साँझको शुभारम्भ गरेका थिए।

हिमालय नेपाली इभेन्टस्को आयोजनामा भएको कार्यक्रममा टिकाले ‘बार प्रिये बार’, ‘तिमी मेरै’, ‘झरना पानी’, ‘यो देशलाई’, ‘सैलुङे गाउँकी’, ‘मैलेभन्दा माया दिने’लगायतका गीत सुनाएका थिए । पवनवाङ लामाको ब्याण्ड संयोजनमा तबलामा कुमार महाराज र भुवन गन्धर्व, लिड गितारमा देवासिस मोक्तान, बेस गीतारमा अनुप दास, बाँसुरीमा गोपालदेव घतानी, किवोर्डमा रुपमसिंङ गुरुङ, अक्टोप्याडमा रुपेशसिंह गुरुङले टीकालाई बाद्यबादनमा साथ दिएका थिए।

कार्यक्रममा दुर्गा परियार, इन्दिरा गोले, सुरेश लामा, अनिल लामालगायतका गायकगायिकाले टीकाद्धारा संगीतवद्ध गीत गाएका थिए भने फिमफेदी गाइजले नृत्य प्रस्तुत गरेको थियो ।उनको कार्यक्रम हेर्न कामु प्रधानसेनापति पुर्णचन्द्र थापा पनि पुगेका थिए । उनले स्टेजमै पुगेर टीकालाई बधाई दिँदै स्वरको तारिफ गरेका थिए।

केही दिनअघि सडक दुर्घटनामा परी उपचार गराई गरेका गायक शिव परियार वैशाखी टेकेर टीकाको गीत सुन्न आएका थिए । ‘टिका अहिले नेपाल सांगीतिक क्षेत्रका प्रतिनिधी पात्र हुन् । मैले उनको संगीतमा धेरै गीत गाएको छु ’ शिवले भने । कार्यक्रममा शिवले टिकाको संगीत रहेको ‘रोसी खोला तिरैमा’ बोलको गीत पनि सुनाए ।
 

प्रकाशित: ३० जेष्ठ २०७५ ०२:४९ बुधबार

एकल साँझमा सुनिए टीका