कला

पियानोबादक उपेन्द्रलालका दुई कृति

काठमाडौं–चर्चित पियानोबादक उपेन्द्रलाल सिंहले एकसाथ सांगीतिक धुनहरुको सिडी नोस्टाल्जिया–२ र नोटेशन बुक बजारमा ल्याएका छन्। द हिडन ट्रेजरले गराएको जमघटमा संगीतकारहरु शुभबहादुर सुनाम र नोर्बु छिरिङले दुबै कृति विमोचन गरेका छन्।

नोटेशन बुक हिमालयन म्याप हाउसले प्रकाशन गरेको हो भने म्युजिक सिडी स्याक कम्पनीले। पुस्तकमा नेपाली र नेवारी भाषाका २० गीतको नोटेशन छ। त्यसैगरी सिडिमा १० वटा गीतको । यस अघि सिंहले नोस्टाल्जिया–१ निकालेका थिए।

नोटेशन बुकमा समाबेश गीतहरुमा ‘असारै महिनामा, वितेका कुराले, चियाबारीमा, गहिरो गहिरो सागरजस्तै, गाजलुले आँखै छोप्ने, जागें सारा रात, जति माया लाए पनि, केही मिठो बात गर, किन यसरी, म मरे पनि, म मौनतामा, मलाई माफ गरिदेऊ, पहिलो जुनीमा, परेलीमा, राजमति, रेशम फिरिरी, शोल्टिनी भनि बोलाको, सोलिसे स्वये मगा, तारा मात्र, तिम्रो त्यो हँसिलो मुहारको’ बोलका गीत छन्।

नोटेशन बुकका आधारमा संगीतप्रेमीले यी गीतका धुन निकाल्न सक्नेछन् भने म्युजिक सिडी सुनेर सबै मुग्ध बन्न सक्छन् । संसारभरका विद्यार्थीलाई आफ्ना कृति उपहार भएको पियानोबादक सिंहले बताएका छन्।

हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिका अनुसार सन् २०१८ मा मुलुकभित्रका केही सहर र भारतीय सहरमा समेत एल्बम र नोटेशन बुक विमोचन गरिनेछ । म्युजिक फर एजुकेशन नाराकासाथ बिर्तामोड, धरान, बिराटनगर, हेटौंडा, नारायणगढ, वुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, पाल्पा, पोखरा, दार्जिलिङ, सिलगुढी, ग्यान्टोक र सिक्किमसम्म सांगीतिक यात्रा गरिनेछ ।

उपेन्द्रलाल तिनै पियानोबादक हुन् जसको व्याण्ड– उपेन्द्र एण्ड फ्रेण्ड्स विदेशमा समेत लोकप्रिय छ। त्यसले सन् २००७ देखि बर्सेनी जापानमा आयोजना हुने फूजी रक फेस्टिभलमा आफ्नो प्रस्तुती दिँदै आएको छ।

लोकसंगीतलाई पाश्चात्य संगीतसँग फ्युजन गराउँदैका छन् सिंहले । उनी पियानो मास्टर समेत हुन्। न्यूरोडमा छ उनको प्रशिक्षण केन्द्र–एट नोट म्युजिक । उनी  थाइल्याण्डमा ८ वर्ष पियानो अध्ययन गरेर स्वदेश फर्केपछि संगीतमै रुझेका छन्।

प्रकाशित: २८ जेष्ठ २०७५ ०८:०७ सोमबार

पियानोबादक उपेन्द्रलालका दुई कृति