कला

छैटौं पिजे फोटो प्रतियोगिता हुने

काठमाडौं – नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीलाई बुधबारबाटै फोटो दर्ताको सुविधा दिइएको क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबै किसिमका फोटोग्राफर तथा फोटो पत्रकारले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् ।
आयोजकले खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने व्यवस्था गरेको छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनुपर्ने सर्त राखिएको छ । फोटो दर्ताको समयावधि असार ६ गतेसम्म तोकिएको छ।

क्लबले एक कार्यक्रमबीच सातै विधाका विजेताको घोषणा गरेर पुरस्कार प्रदान गर्नेछ । पुरस्कार वितरणपछि साउन १५ देखि २१  गतेसम्म राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढी उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । राजधानीमा सात दिनको फोटो प्रदर्शनी गरिसकेपछि मोफसलका पाँच स्थानमा पनि उक्त फोटोहरू प्रदर्शनी गरिने क्लबका अध्यक्ष विकास कार्कीले बताए । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज र पोखरामा तीन÷तीन दिन फोटो प्रदर्शनी गरिनेछ।

प्रतियोगितामा यसपटक १ हजार ५ सय भन्दा बढी फोटोग्राफर तथा फोटो पत्रकारका १३ हजारभन्दा बढी फोटोले विभिन्न विधामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ । दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा करिब १२ सय फोटोग्राफर तथा फोटो पत्रकारका ११ हजार फोटो प्रतिस्पर्धामा थिए।

प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आइएमएस डेली लाइफ, ३ एक्सपिरीयन्स नेपाल कल्चर एण्ड टुरिजम,  नेचर एण्ड वाइल्डलाइफ, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन्।

मुख्य प्रायोजक आइएमई समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीको प्रायोजनलाई निरन्तरता दिइने बताए । नेपाल चेम्बर अफ कमर्स तथा आइएमएसका अध्यक्ष दीपक मलहोत्राले यस्ता प्रतियोगिताको आयोजना गरेर पिजे क्लबले सह्रानीय काम गरेको बताए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले फोटोले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले बोर्डले सधैं यस्ता कार्यकक्रमलाई सहकर्मीको रुपमा साथ दिने बताए ।  यसपटकको प्रतियोगिता दक्षिण एसिया तथा भारतका फोटोग्राफर पाब्लो बारथोलोमिओको नेतृत्वमा पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान, फोटोपत्रकार, क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, फोटोग्राफर मणि लामा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एबम क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा छन् ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App