कला

प्रदर्शनीमा क्यारिकेचर कला

काठमाडौं – नेपाली समाजमा चिनिएका केही व्यक्तित्वका क्यारिकेचर यतिबेला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ।

३४ जना कार्टुनिस्टले तयार पारेका करिब चार दर्जन क्यारिकेचरमा राष्ट्रकवि माधव घिमिरे, डा. अभि सुवेदी, तुलसी दिवसदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्म  अटाएका छन् ।आइतबारदेखि सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले शुभारम्भ गर्दै कार्टुनले समाजमा सशक्त प्रभाव पार्ने बताइन् ।

‘समाजलाई सचेत रुपमा प्रभाव पार्ने कार्टुनले विकृति विसंगतिलाई समेत तिखो गरी प्रहार गरेको हुन्छ,’उनले भनिन्, ‘प्रदर्शनीमा राजनीतिज्ञको क्यारिकेचर नराखी सामाजिक व्यक्तित्व  राखिनु निकै सराहनीय कार्य हो ।’प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य नारदमणि हार्तम्छालीले समाजलाई झक्झकाउने कला नै कार्टुन भएको बताए । ‘कार्टुनमार्फत कलाकारले समाजलाई प्रस्तुत गर्ने र तिनका खराबीलाई चिर्ने काम गरिएको हुन्छ ’ उनले भने।

कलाकार जीवन राजोपाध्यायले गत वर्षभन्दा राम्रा क्यारिकेचर प्रदर्शनीमा आएको बताए । नेपाली कार्टुनमा क्यारिकेचरको औचित्य बढ्दै गएको नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले बताए । ‘क्यारिकेचर अभिनयमा मात्रै नभई रेखा र रङमार्फत पनि अभिव्यक्त हुन्छ । यो प्रदर्शनीको उद्देश्य पनि रङ र रेखाद्धारा समाजका प्रबुद्ध व्यक्तिको चरित्रलाई हास्य रुपमा प्रस्तुत गर्नु हो ’ उनले भने।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबको सहकार्यमा भएको प्रदर्शनी पत्रकार भैरव रिसाल, युवराज घिमिरे, नीर शाह, वसुन्धरा भुसाल, नयन राज पाण्डे, दुर्गालाल श्रेष्ठ, भुवन केसी, दीपाश्री निरौला, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, अमृत गुरुङ, शशी शाह, दुर्गा बराल, किरण मानन्धर, महावीर पुन, रवि लामिछाने लगायतका क्यारिकेचर प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा मनुजबाबु मिश्र, अशोकमान सिंह, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, गंगाधर सारु, वासु क्षितिज, देवेन पाण्डे, देवेन्द्र थुम्केली, केशव राज खनाल, योगेश खपांगी, रवि मिश्र, आरके थापा, उमेशचन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ, सागर शाह, भानु भटट्राई, रविन्द्र मानन्धर पल्पसा मानन्धर, अर्पिता शाक्य लगायतका कलाकारले बनाएका क्यारिकेचर राखिएको छ।

प्रतियोगितात्मक उक्त प्रदर्शनीमा अभिनास मल्लले प्रथम भई १५ हजार नगद प्राप्त गरेका छन् । त्यस्तै सुरज शाक्यले १२ हजारसहित द्वितीय तथा १० हजारसहित रमिला महर्जनले तृतीय पुरस्कार प्राप्त गरेका छन् । कार्यशाला, प्रतियोगिता, प्रदर्शनी तथा गोष्ठीसहित गरिएको उक्त प्रदर्शनी २३ जेठसम्म चल्ने छ ।

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:४८ मंगलबार

प्रदर्शनीमा क्यारिकेचर कला