कला

‘तीन एकेडमी एक हुँदैनन्’

काठमाडौं – कानुन न्याय तथा संसदिय मन्त्री शेरबहादुर तामाङले नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एकै स्थानमा नगाभिने बताएका बताएका छन्।

शनिबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत कला तथा शिल्पकला विभागले आयोजना गरेको अरनिको कला प्रवद्र्धन विशेष सम्मान कार्यक्रममा मन्त्री तामाङले बजेट भाषणमा तीन एकेडमी गाभ्ने भनी आएको घोषणा भूलवश आएको स्वीकारे। ‘सबै संग्रहालय एउटै बनाउने भन्ने ठाउँमा के मिस्टेकले हो एकेडमी एउटा बनाउने कुरा पर्न गएको छ,’ कानुन मन्त्री तामाङले भने, ‘त्यो हुन दिँदैनौ सच्चिन्छ।’

उनले अहिलेको समयमा कला, संस्कृति, भाषा साहित्यमा थप काम गर्नु पर्ने समय आएको बताउँदै  कला संस्कृति हरेक आम नेपालीको मौलिक पहिचान भएको चर्चा गरे। ‘मेरो हजुरबाले बनाएको थांका अहिलेपनि मसँग छ त्यसले हिजोको इतिहास बोल्छ,’ उनले थपे, ‘त्यस्ता कलाको प्रवद्र्धन गर्नकै लागि छुट्टै प्रतिष्ठान चाहिन्छ।’ कलाकार अरनिकोको बेलाको कलाले सुरु गरेको शैली शान्तिका प्रतीक वुद्धिजम्सँग जोडिएर आजपनि विश्वमा चर्चित रहेको उनले सुनाए। चीन, भियतनाम, जापान, थाइल्यान्ड, नेपाल लगायतका देशमा अरनिकोले जन्माएको प्यागोडा शैली प्रसिद्ध रहेको मन्त्री तामाङ उल्लेख गर्छन्। नेपाली कला र परम्परालाई मर्न नदिनेसँगै र देश निर्माणको बेलामा भएका केही यस्ता गल्ती सच्चिएर सरकार अघि बढ्ने उनले दाबी गरे।

कार्यक्रममा नेपाली थांका र पौभा कलालाई विगत विगत करिब एकदशकदेखि चीनमा संकलन तथा प्रवद्र्धन गरिरहेका चिनिया कलाकार चाओ गोजिङ तथा नेपाली थांकाको विकास र विस्तारमा योगदान पुर्याएका कलाकारद्वय स्वर्गीय सुरेन्द्र बहादुर शाही र केशव ताम्राकारलाई मरणोपरान्त कला प्रवद्र्धन विशेष सम्मान प्रदान गरिएको थियो। चाओ गोजिङले चीनमा इसी कल्चर डेभलपमेन्ट लिमिटेड नै स्थापना गरेर सातसय बढी नेपाली थांका तथा पौभा संकलन गरी चीनमा प्रवद्र्धन गरिरहेका छन्।

यो सम्मान वि.सं.१३०० मा जन्मेका कलाकार अरनिकोले नेपाली कलालाई चीनमा लगेर प्रवद्र्धन गरेको स्मरणमा स्थापना गरिएको हो। नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले सरकारको बजेट भाषणमा आएको तीन एकेडमी एक बनाउने घोषणा सच्याउन पहल गरिरहेको उल्लेख गरिन्। ‘मन्त्रालयका मन्त्रीसँग दुखेसो पोखिरहेका छौं,’ उनले भनिन्, ‘बरिष्ठ कलाकारसँग छलफल गर्दै छौं, नभए भविष्यमा आन्दोलनको कुरा त छदैंछ।’ सदस्य सचिव नवराज भट्टले सरकारबाटै गठित भएपनि यो निर्णय सान्दर्भिक र व्यवहारिक नभएको बताए। ‘मर्यादित र व्यवस्थित बनाउन सक्रिय नै थियौं,’ भट्ट भन्छन्, ‘संघीयतामा जाँदा बरु कसरी जाने भ्नेर थप छलफल गरी अघि बढ्नुपर्छ।’

चिनिया कलाकार चाउ गोजिङले भने सम्मानले दुई देशबीचको कला र संस्कृतिको सम्बन्ध अघि बढाउन हौसला मिलेको जनाए।

कार्यक्रममा चिनिया लेखक तथा कलाकार छिउ छाउ छिनले नेपाली कला र कलाकारका बारेमा लेखेको पुस्तक समेत बिमोचन गरिएको थियो।

प्रकाशित: २० जेष्ठ २०७५ ०६:४७ आइतबार

एकेडमी हुँदैनन्