कला

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

काठमाडौँ– यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँ, चाल्नाखेलका कवि विनोदविक्रम केसी पुरस्कृत भएका छन्। इच्छुक स्मृति दिवस तथा सांस्कृतिक वलिदान दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कविद्धय सहित चार श्रष्ठा पुरस्कृत भएका हुन्। कविद्धयले प्रमाणपत्र सहित जनही ५०÷५० हजार रुपैयाँ  प्राप्त गरे। 

त्यस्तै इच्छुक प्रतिभा पुरस्कारबाट साहित्यतर्फ काठमाडौंकी कवि शोभा दुलाल र कलातर्फ कालिकोटकी गायिका फूलमाया दर्जी ‘प्रगति हिङमाङ’ पुरस्कृत भइन्। उनीहरुले जनही २५÷२५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे। 

पुरस्कार ग्रहण गर्दै कवि मोदनाथ मरठ्ठाले इच्छुकले देखाएको बाटोमा लागिरहने प्रतिवद्धता जनाए। अर्का पुरस्कृत कवि विनोदविक्रम केसीले प्रगतिवादी साहित्यमा कवि कृष्णसेन इच्छुकले गरेको योगदानको चर्चा गरे। उनले भने, ‘कविता जसले पनि लेख्न सक्छ। पत्रकार जो पनि हुन सक्छ, तर सबै इच्छुक हुन सक्दैनन्। किनभने इच्छुक हिँडेको बाटो खतरनाक छ।’

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले इच्छुकले साहित्यमार्फत देखाएको क्रान्तिको सपनालाई पूरा गर्न प्रतिवद्ध हुनुपर्नेमा जोड दिए। प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले इच्छुक स्मृति दिवस तथा सांस्कृतिक वलिदान दिवसको सान्र्दभिकताबारे प्रकाश पारे। 

कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरुले इच्छुकको सम्झनामा सांगितिक प्रस्तुति दिएका थिए। साथै कवि शिला योगीको कविता सङ्ग्रह ‘सपनाका मेघमाला’ पनि विमोचन गरिएको थियो। 

प्रकाशित: १३ जेष्ठ २०७५ १५:३४ आइतबार

इच्छुक स्मृति पुरस्कारबाट श्रष्टा पुरस्कृत