कला

तीन भाषामा चाम्लिङ शब्दकोष

शब्दकोष पुस्तक विमोचन गर्दै अतिथिहरु। तस्बिरः सिद्धराज/नागरिक

काठमाडौ – धेरै भाषा लोप हुँदै गइरहेको बेला किरात राई चाम्लिङ खाम्वातिमले चाम्लिङ भाषाको शब्दकोष प्रकाशन गरेको छ । चाम्लिङ भाषामा बोलिने शब्दलाई नेपाली र अंग्रेजी भाषामा उल्था गरेर त्रि–भाषामा ‘चाम्लिङ भाषाः आधारभुत सिकाइ’ शब्दकोष प्रकाशन गरिएको हो । पुस्तकमा लोप हुन लागेका चाम्लिङ भाषाका शब्दहरु राखिएको छ।

चाम्लिङ भाषालाई शुद्ध बनाउन र अन्य भाषीलाई पढ्न सहज होस् भनेर पुस्तक प्रकाशन गरिएको खाम्वातिमका अध्यक्ष युवराज राईले बताए । निनाम्बुवाँछा परिवारको तर्फबाट वैदेशिक रोजगारीमा रहेका रकम चाम्लिङको पहलमा आर्थिक संकलन गरी पुस्तक प्रकाशन भएको हो । पुस्तकमा चाम्लिङ र नेपाली भाषा शब्दको लेखन विजय बलम्ताली चाम्लिङले गरेका छन् भने अंग्रेजी अनुवादको काम म्याम्बर राई चाम्लिङले गरेका छन्।

यो पुस्तकको किरात राई याखोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई, लेखक बलम्ताली, किरात राई चाम्लिङ खाम्वातिमका अध्यक्ष युवराज राईलगायतले विमोचन गरे । कार्यक्रममा पुस्तक लेखेर भाषाको विकास र संरक्षणमा योगदान पुर्याएको भन्दै लेखक विजय बलम्तालीलाई ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा यायोक्खाका कार्यबाहक अध्यक्ष राईले भाषा र संस्कृति संरक्षणको लागि पुस्तकले सहयोग पुग्ने बताए । त्यस अवसरमा निनाम्बुँवाछा परिवारका ज्ञानदिप राई, किरात अभियन्ता किवाहाङ राई, भाषा आयोगका उपसिचव झुमप्रसाद राईलगायतले भाषा र संस्कृति नै किराती पहिचान भएको बताए । पुस्तक विमोचन कार्यक्रम अघि साकेला उभौली (धिरिनाम)२०७५, यलेदेङ ५०७८ को अवसरमा तीनचुलोमा भुमे पुजा गरेका थिए । पुस्तक विमोचन पछि साकेला नाँचेर कार्यक्रम समापन गरेका थिए।

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:२७ आइतबार

भाषामा चाम्लिङ शब्दकोष