कला

प्रकाशको मार्मिक बोल माया

काठमाडौं – सुन्दर सपना सजाएर विदेशिए पनि स्वदेश फर्किदा काठको बाकसमा बन्द भएर फर्किने युवापुस्ताको यथार्थमाथि बनेको गीत ‘बोल माया’को भिडियो सार्वजनिक भएको छ। ललितपुरमा बुधबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भिडियो सार्वजनिक गरे।

प्रकाश सपुतको लेखन, संगीत, रचना र निर्देशनमा बनेको गीतमा फिल्म निर्देशक तथा गायक नारायण रायमाझीको स्वर छ। गायक रायमाझीले नेपाली जनजीवनको यथार्थ कथालाई गीतबाट मार्मिक ढंगले प्रस्तुत गरिएको बताए।

गीतमा नारायणसँगै शान्तिश्री परियार र प्रकाशको पनि स्वर छ। मन्त्री विष्टले आफू बढी भावुक व्यक्ति भएकाले गीतले आफूलाई निदाउन नदिने प्रतिक्रिया दिए। ‘गीतमा समेटिएको यथार्थ मैले देखेको छु। यही दुःखद् दिन दूर गर्न हामी अहिले लागिपरेका छौं।’ उनले भने।

गायक प्रकाशले आफ्नै आफन्तले भोगेका पीडालाई गीतमा उतारेको खुलाए। ‘एक जवान युवाको सपना बाकसमा बन्द भएर फर्किएको, एक महिला उमेरमै विधवा भएको र साना नानीहरु टुहुरा भएको दुःख मैले नजिकबाट महशुस गरेको छु । त्यही दुःखलाई मैले गीतमा उतार्ने प्रयास गरेको हुँ,’ उनले भने। भिडियोमा अञ्जली अधिकारीको अभिनय छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:२८ शुक्रबार

प्रकाशको मार्मिक बोल माया