कला

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

काठमाडौँ- इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कविहरू विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले प्रगतिवादी साहित्य र कला क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्दै आइरहेको छ।

काठमाडौँ, चाल्नाखेल निवासी कवि विनोदविक्रम केसी अन्नपूर्ण ‘सम्पूर्ण’ साप्ताहिकका कार्यकारी सम्पादक हुन्। केसीको यसअघि ‘भोकको क्षेत्रफल’ कवितासंग्रह प्रकाशित छ । उनी कथा, निबन्ध, व्यङ्ग्य–लेखन र अनुवादमा पनि उत्तिकै सक्रिय छन्। अर्का कवि मरहट्टा चितवनमा बसेर कविता लेखनमा सक्रिय छन्। उनका ‘पाइलाहरु शिखरतिर उकासिँदै गर्दा’ (२०५५) र ‘उज्यालो जन्मनुअघि’ (२०६२) कविता कृति प्रकाशित छन्।

त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ कवि शोभा दुलाललाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ कालिकोट निवासी फूलमायाँ दर्जी (प्रगति हिङमाङ)लाई दिइने भएको छ।

‘इच्छुक स्मृति पुरस्कार’को राशी रु. एक लाख भने प्रतिभा पुरस्कार जनही २५ हजार छ। आउँदो जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा पुरस्कार वितरण गरिने आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव हिरामणि दुखीले बताएका छन्।

प्रकाशित: ३१ वैशाख २०७५ १६:५१ सोमबार

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार