कला

चित्रमार्फत बालबालिकाको उपचार

काठमाडौं – केहीदिन अघि कान्ति बालअस्पतालको क्यान्सर वार्डमा  एकहुल युवा प्रवेश गरे । वार्डमा आफ्ना बालबलिकाको स्वास्थ्यप्रति चिन्तित अभिभावक थिए, निराश र आशंकित।

झण्डै दुई दर्जनको संख्यामा रहेका बालबालिका आफूले भोगिरहेको पीडा बुझ्न सकिरहेका थिएनन् । घर, आँगन, चउर साथीभाइदेखि टाढा अस्पतालको कोठाभित्र बस्दा बालबालिका नियास्रिएका थिए । एक्कासी युवाको समूह वार्डमा  छिरेपछि सबैको नजर त्यतै गयो ।यसरी आएका युवाले वार्डमा छिर्ने बित्तिकै बालबालिकाको स्वास्थ्यका बारेमा सोधखोज गरे अनि रमाइलो गरी गफिए । बालबालिकाको आँखामा हाँसो देखियो।

किनकि ती नवआगन्तुकले बालबालिकालाई मनपर्ने कुरा गरिरहेका थिए । कोही हजुरआमाले झैं कथा सुनाइरहेका थिए त कोही रमाइला जोक्स भनिरहेका थिए । कोही भने साना बालबालिकाको मनजित्ने कृयाकलाप देखाइरहेका थिए । ‘हेल्थ ट्रान्सफर्म बाइ आर्ट’ नामक परियोजनामार्फत कलाकार  बिरामी बालबालिका भेट्ने र आर्ट थेरापीमार्फत उनीहरूको स्वास्थ्यमा सकारात्मक सुधार गर्ने  अभियानका क्रममा कान्ति पुगेका थिए।

समूहका संयोजक राजु गिरीले मनोवैज्ञानिक उपचारका लागि चित्रलाई माध्यम बनाएर अस्पतालसम्म आइपुगेको बताए ।  ‘हामीले चित्र बनाएर कथा भन्यौं अनि उनीहरूले मानेका हिरोहरूको चित्र पनि बनायौं’ गिरीले भने, ‘उनीहरू नयाँ साथी पाए झैं खुशी देखिए ।’ उनले झैं कलाकार श्रद्धा श्रेष्ठले पनि रङ्गिन चित्रमा बालबालिकाको मुस्कान उतारिन्।

चराको चित्र, जंगलको चित्र, जनावरका चित्र अनि मनपर्ने कार्टुनका चित्र देखेर बालबालिका फुरुङ भए । ‘कोही त म पनि बनाउँछु भन्न थाले,’ अनुज सुवेदीले सुनाए ,‘रङ्गिन कलम बोकेर खाली पानामा कोर्न पनि थाले ।’ बालबालिकासँग घुलमिल हुनुअघि कलाकारहरूले मनोचिकित्सक लज्जा दीक्षितसँग कार्यशालामा सहभागी भएका थिए । जहाँ उनीहरूले बालबालिकाको मनोवस्थालाई सुधार गर्ने उपाय सिकेका थिए।

कलाकारहरू सुजन डंगोल, मेक लिम्बू, किरण महर्जन लगायतले बालबालिकालाई दुई दिनसम्म यसरी नै आर्ट थेरापी दिएका थिए । टेलिभिजन हेर्ने, भिडियो गेम खेल्नेभन्दा बिरामी बालबालिकाको मनस्थितीलाई सक्रिय बनाउन थेरापीले सहयोग गरेको गिरीले बताए । यसरी अस्पताल पुगेका कलाकारले क्यान्सर पीडित बालबालिकासँग मात्र समय विताएनन्, सिंगै अस्पताललाई चित्रमय बनाउन लागि परेका छन् । हरेक दिन तीन बजेपछि उनीहरू अस्पताल पुग्छन् । अनि रङ र कुची समाएर अस्पतालका भित्ता ,कुनाकाप्चा चित्रमय बनाउँछन् । बुधबार अस्पतालको ओपिडीको पिलरमा श्रद्धा श्रेष्ठ म्युरल आर्ट गर्दै गरेको भेटिइन् ।

‘लगातारको तीनहप्ताको कामपछि यत्तिको परिवर्तन आएको हो,’ श्रेष्ठले भनिन् । गिरी लगायका कलाकारले भर्याङ चढेरै माथिको छानो र भित्तामा म्युरल आर्ट बनाएका थिए । तीनहप्ता अघिदेखि उनीहरूले अस्पताललाई चित्रमय बनाउने काम सुरु गरेका थिए ।  चौथो हप्ता चल्दैगर्दा उनीहरूले अस्पतालको वातारणलाई बालमैत्री बनाउन धेरै हदसम्म सफल भएका छन् । यसले बिरामीलाई मात्र होइन, बिरामीका आफन्तलाई पनि रमाइलो बनाएको छ।

 ‘पहिला यसरी बस्दा समय कटाउने मुश्किल पथ्र्यो अहिले चारैतिर हेर्छु रमाइलो लाग्छ,’ अस्पतालमा उपचार गराउन आएका बेन्जामिन श्रेष्ठले भित्तामा कोरिएका चित्र हेर्दै भने । ओपिडीको ढोका छेउमै लामा लामा घाँटी भएका जिराफ, बरण्डाको भित्तामा रंगीचंगी फूल र  पुतलीको चित्र छ भने पिलरमा बेरिएका अजिंगर माथि भित्तामा अनेक जनावरका आकृतिसँगै  सुन्दर निलो चरा बनाइएको छ।

बिरामी बालबालिकालाई चित्रको माध्यमबाट पनि उपचार गर्ने उद्देश्यले ‘हेल्थ ट्रान्सफर्म बाइ आर्ट’ अभियानले बाल उपचार कक्षलाई चित्रमय बनाउने अभियानको सुरुवात गरेको छ।

अस्पतालकी नर्स सरिता पाण्डे पनि चित्र देख्दा पोजेटिभिटी पैदा भएको उल्लेख गर्छिन् । ‘अरु बेला कुनाकाप्चामा देखिने पान खाएर थुकेको धब्बाभन्दा यी रङ्गिन चित्रले साँच्चैको बाल अस्पताल भएको अनुभव गराएका छन्,’ उनले भनिन् ।  उनले भने झैं अहिले अस्पतालको रुप कलाकृतिकै कारण फेरिएको छ । बाल मनस्थितीलाई सुहाउदो वातावरणसँगै प्रकृतिसँग बालबालिकालाई जोडेर सृजनात्कतातिर डो¥याउने अभ्यासको सुरुवात भएको संलग्न कलाकारको अनुभव छ ।  रंगमात्रै कोर्ने हैन असर नगर्ने खालको अस्पतालजन्य फोहरबाट समेत कलात्मक कृतिहरू निर्माण गर्ने तयारी गरिरहेको कार्यक्रम संयोजनमा सघाइरहेकी सृष्टि शाक्यले बताइन्।

उनले यसका लागि फोहर संकलनको काम भइरहेको बताइन् । उनका अनुसार कान्ति, ग्रान्डी, गंगालाल, ओम, मनमोहन र नर्भिक अस्पतालबाट मानव स्वास्थ्यलाई हानी नगर्ने खालका फोहर संकलन गरेर त्यसबाट कलाकृति निर्माण गर्ने परियोजनाको तयारी छ । यसका लागि सूर्यबादुर थापा फाउन्डेसनले आर्थिक र बर्जर पेन्टसले रंग दिएर बालबालिका मैत्री अस्पताल बनाउन कलाकारलाई सहयोग गरिरहेका छन् ।  

 

प्रकाशित: ३१ वैशाख २०७५ ०३:१० सोमबार

चित्रमार्फत बालबालिकाको उपचार