कला

नेपाली अर्थतन्त्रको नालीबेली ‘अर्थात् अर्थतन्त्र’

ललितपुर – आर्थिक क्षेत्रका विज्ञका रुपमा परिचित सुजीव शाक्यको पुस्तक ‘अर्थात् अर्थतन्त्र’ सार्वजनिक भएको छ। शनिबार हिमालय होटलमा आयोजित कार्यक्रममा लेखक स्वंयले पुस्तक सार्वजनिक गरेका थिए । अर्थतन्त्रको वर्तमान समस्यामाथि टिप्पणी गरेका सुजीवले पुस्तकको नाम राखिएको प्रसंग सुनाएका थिए। 

‘हाम्रा सबै कुराकानी जताबाट घुमेर गए पनि अन्तिममा टुंगिने अर्थतन्त्रमै हो,’ उनले पुस्तकको नामाकरणको अन्तर्कथा सुनाए, ‘त्यसैले यसको नाम ‘अर्थात् अर्थतन्त्र’ राखेको हुँ ।’ उनले नेपालका आर्थिक क्षेत्रको विसंगतिलाई केलाउँदै पुस्तकले नेपाली समुन्नतिका आधारहरू पहिल्याउने काम गरेको बताए।

कार्यक्रमको शुभारम्भ विदेशमा पढे पनि नेपालमै काम गरिरहेका  ‘फिनलिट नेपाल’ का प्रकाश कोइराला, ‘अर्बन गर्ल’ की निकिता आचार्य, ‘एभरेष्ट समिट लज’ की केन्चो ओङडी र सुजीवकै सुपुत्री सुयेशा शाक्यको प्रस्तुतिबाट भएको थियो। 

अर्थशास्त्रीका विद्यार्थी सुजीवले आफ्नो नेपाली लेखन यात्राको पृष्ठभूमि पनि कार्यक्रममा सुनाए । ‘कालिम्पोङमा स्कुल पढ्दा पारसमणि प्रधानको संगत पाएदेखि नेपाल आउँदा कामकै सिलसिलामा कमलमणि दीक्षितसम्मको सामीप्य पाएँ,’ उनले भने, ‘यसबाट आफुले जानेबुझेका कुरा नेपालीमा लेख्ने हुटहुटी पलाएको हो।’

सुजीवले यसअघि अंग्रेजीमा लेखेको ‘अनलिजिङ नेपाल’ पेन्गुइन बुक हाउसले प्रकाशित गरिसकेको छ । उनको नेपाली पुस्तकमा मैना धितालले सहयोग गरेकी छन् । लेखक सुजीवले एकै कालखण्डमा उदाएका अर्थशास्त्री आदम स्मिथ र नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले पहिल्याएका बाटाहरूबाटै आफ्नो पुस्तक सुरु हुने बताए । पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो।

 

प्रकाशित: ३० वैशाख २०७५ ०५:१६ आइतबार

नेपाली अर्थतन्त्रको नालीबेली अर्थात् अर्थतन्त्र