कला

ढाकामा नेपाली कला

काठमाडौं –बङ्गलादेशको राजधानी ढाकामा सुरु भएको नेपाल कला मेला २०१८ मा नेपाली कलाको फरकपनको स्वाद पारखीहरूले लिन थालेका छन्  । सोमबारदेखि नेपाल कला मेला सुरू भएको हो।

ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा एक सप्ताहसम्म चल्ने मेलाको उद्घाटन बङ्गलादेशका संस्कृति मन्त्री असादुजमान नुरले सोमबार साँझ उद्घाटन गरेका हुन् ।बङ्गलादेश शिल्पकला एकेडेमीका महानिर्देशक लियाकत अली लक्कीले नेपाली पनको कलाले बंगलादेशीको मन जितेको नेपाली कलाकार समक्ष उल्लेख गरे ।नेपाल ललितकला प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले नेपाली कलालाई सार्क क्षेत्रमा प्रख्यात गराउन मेलाले सहयोग गर्ने बताइन्।

 बङ्गलादेश संस्कृति मन्त्रालयका सचिव नासिर उद्दिन अहमद र ढाकास्थित नेपाली दूतावासका प्रतिनिधि धनबहादुर ओलीले कला मेलाका बारेमा चर्चा गरेका थिए । नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा कला मेलाको महत्व र यसले दुई मित्र राष्ट्रबीचको सम्बन्धमा पार्ने सकारात्मक प्रभावबारे उनीहरूले टिप्पणी गरे।

मेलामा पोखरेली पानी रङ्गका कलाकार मनोज तामाङ, भक्तपुरका कलाकार कान्छाकाजी भासिमा र सप्तरीकी मिथिला कलाकार रन्जु यादवले कलाप्रेमीहरुको आग्रहमा प्रत्यक्ष चित्र कोरेर प्रशंसा बटुलेका थिए ।मेलामा ६० जना नेपाली कलाकारका समसामयिक चित्रकला, लोककला र हस्तकला विधाका कलाकृतिहरु प्र्रदर्शित छन्।
प्रदर्शित कलाकृतिको छनोट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीहरुमा पुरस्कृत भएका लगायतबाट गरिएको प्रतिष्ठनको लोककला विभागका प्रमुख एस.सी. सुमनले जानकारी दिए।

मेलामा सहभागी हुन नेपाल ललितकला प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायको नेतृत्वमा नौ जना कलाकार ढाका गएका छन् ।   नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग दुई वर्ष अगाडि भएको सम्झौतापत्र अनुसार मेला भएको हो । मेलाको आयोजना बङ्गलादेश शिल्पकला एकेडेमी र बङ्गलादेश संस्कृति मन्त्रालयले गरेको हो।

 

 

प्रकाशित: २६ वैशाख २०७५ ०२:२३ बुधबार

ढाकामा नेपाली कला