कला

कृष्णको ‘द एसेन्ट अफ पेन’

काठमाडौं – नाट्यकर्मी एवं नाटककार कृष्ण शाह यात्रीको नाटकसंग्रह ‘द एसेन्ट अफ पेन’ प्रकाशित भएको छ । लेखक यात्रीले संग्रहमा विभिन्न समयमा लेखिएका प्रतिनिधि नाटकहरुलाई अंग्रेजीमा अनुवाद गरी पुस्तक प्रकाशन गरेका हुन्।

पुस्तकमा ‘द कोल्ड बुद्धज् फ्रम बामियान’, ‘इन्भिजिवल इन्साइड’, ‘द अन्फिनिस्ड एपिसोड’, ‘द सेन्ट्रल क्यारेक्टर’, ‘एन अनआइडेन्टिफाइड प्ले’, ‘एज मेसिन’, ‘बेड नम्वर सेभेन्टिन’, ‘द नाइट’ लगायतका नाटकहरू संग्रहीत छन् । पुस्तकको शीर्ष नाटक ‘द एसेन्ट अफ पेन’ त्रिभुवन विश्वविद्यालयको बीए र बीएड प्रथम वर्षको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा ‘पीडा आरोहण’ शीर्षकमा पढाइ हुँदै आइरहेको छ । यात्रीका यस अघि ६ नाटकसंग्रह, ६ बालनाटकसंग्रह, ३ लघुकथासंग्रह, ६ नाट्य शोध÷समालोचना र दुई दर्जन बालसाहित्यका पुस्तकहरु प्रकाशित भईसकेका छन्।

लेखक यात्रीका अनुसार ‘द एसेन्ट अफ पेन’ मा रहेका नाटकहरूले मिथक, विज्ञान, मनोविज्ञान, आध्यात्म, मानवता लगायतका विषयलाई समेटेको छ । ‘विश्वजनिन परिवेशका समसामयिक घटना र पृथक पात्रहरू पनि नाटकमा देखिएका छन्,’आमसञ्चार अन्तर्गत नाट्यशास्त्रमा विद्यावारिधि गरिरहेका यात्रीले भने,‘नेपाली नाटकलाई अन्तर्राष्ट्रिय साहित्यसँग जोड्नका लागि अंग्रेजीमा नाटकको पुस्तक निकालेको हुँ । मेरा अरु नाटकलाई पनि अंग्रेजीमा प्रकाशन गर्ने तयारी गरिरहेको छु।’

यात्रीको ‘द एसेन्ट अफ पेन’ नाट्य कृतिमा महेश पौड्यालको अनुवाद, देव कोइमीको आवरण डिजाइन, सागर शङ्करको फोटोग्राफी रहेको छ । अमेजनले प्रकाशित गरेको यस पुस्तकलाई अमेजन डटकमले बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, इटली, जर्मन, जापान, भारत लगायतका देशहरुमा समेत मुद्रण गरी बिक्री वितरण गरिरहेको छ।

प्रकाशित: २५ वैशाख २०७५ ०३:३१ मंगलबार

कृष्णको एसेन्ट अफ पेन