कला

‘झमक बहादुर’पनि हिन्दीको नक्कल

काठमाडौं – नायिका केकी अधिकारीको डेब्यु निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म बलिउडको ‘मुम्बई एक्सप्रेस’सँग मेल खाने चर्चा चलेको थियो।

फिल्मको ट्रेलरमा बलिउड फिल्मसँग हल्काफूल्का मिल्ने दृश्य राखिए पनि फिल्म हेरेपछिमात्र ‘मुम्बई एक्सप्रेस’सँग केही हदसम्म मिलेको पुष्टि भयो । तर सोमबार राजधानीमा नयाँ फिल्म ‘झमक बहादुर’को ट्रेलर सार्वजनिक भइरहँदा यो फिल्म पनि ‘मुम्बई एक्सप्रेस’कै फोटोकपि हो भन्ने दुईमत रहेन।

फिल्मको ट्रेलर पर्दामा देखिँदा खेरी ‘मुम्बई एक्सप्रेस’सँग मिल्दोजुल्दो गरी दृश्य पर्दामा देखिएपछि पत्रकारले फिल्म ‘मुम्बई एक्सप्रेस’सँग मिलेको भन्दै निर्देशक भोमन कटुवालसँग प्रश्न तेस्र्याए । ‘यो फिल्म मुम्बई एक्सप्रेससँग मिल्छ भन्ने कुरा झुठो हो । यो मौलिक नेपाली फिल्म हो । त्यो फिल्मसँग केही कुरा मिलेको होला तर हामीले कपी गरेको चाहिँ होइन,’उनले दाबी गरे,‘त्यसो भए यसअघि रिलिज भएका ‘कृ’ र ‘लिलिबिली’ पनि त अन्य फिल्मबाट कपी गरिएका छन् । मेरो फिल्म ‘झमक बहादुर’ बलिउडको ‘मुम्बई एक्सप्रेस’बाट कपी भएको हो या होइन् त्यो मलाई थाहा छैन । तर म दाबीका साथ भन्छु यो फिल्म विशुद्ध नेपाली कथामा छ । यो फिल्म कपी फिल्म होइन।’

कार्यक्रममा प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले पछिल्लो समयमा नेपाली फिल्म हेर्ने दर्शकको जमात बढेको देख्दा खुशी लागेको बताए । ‘पहिला पहिला नेपाली फिल्म हेरौं भन्दा मान्छेमा जाँगर देखिँदैन थियो । तर अहिले फिल्म हेरौं नभनी पहिला आफै नेपाली फिल्म हेर्ने चलन बढेको छ,’सिलवालले भने,‘यो फिल्ममा प्रायः सबै नयाँ कलाकार हुनुहुँदो रहेछ । सबैले राम्रो काम गर्नुभएको छ भन्ने कुरा मैले ट्रेलरबाटै अनुमान लगाइसकेको छु ।’ आगामी साउन १८ गते रिलिज हुने फिल्मलाई नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा र वितरक गोपाल कायस्थलगायतले शुभकामना दिएका थिए।

झुपडीमा बस्ने समुदाय र महलमा बस्ने समुदायबीचको द्वन्द्वलाई कमेडी फ्लेबरमा प्रस्तुत गरिएको फिल्ममा मिनकुमार तामाङको लगानी छ । यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको व्यानरमा निर्मित फिल्ममा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित बस्नेत, जेशिका घिमिरे, दिलिशा गुरुङको अभिनय छ।

फिल्ममा कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन, सूर्य र सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन, ओम सुनुवारको संगीत र पवन गौतमको छायांकन छ।

 

प्रकाशित: २५ वैशाख २०७५ ०३:१४ मंगलबार

झमक बहादुरपनि हिन्दीको नक्कल