कला

राष्ट्रवादी आलिया

मुम्बई – बलिउड नायिका आलिया भट्ट नयाँ फिल्म ‘राजी’मा जासूसको चरित्रमा छिन् । फिल्ममा पहिलोपटक जासूस चरित्रमा अभिनय गरेकी उनलाई आजकल राष्ट्रवादका कुरा निकै आउन थालेको छ । त्यसैकारण उनी देशका लागि निस्वार्थ भावले काम गर्ने व्यक्ति मात्र देशभक्त हुने धारणा राख्छिन्।

‘केवल आफ्नो देशलाई प्रेम गर्नु र गर्व महशुस गर्नु देशभक्त हुनका लागि धेरै हुँदैन,’उनले भनेकी छन्,‘देशका जनताको भलाई लागि निस्वार्थ भावबाट कोशिस गर्नु जरुरी हुन्छ।’ उनले आफूले सम्झिएको देशभक्ति भन्दा असल देशभक्ति ठिक उल्टो हुने बताएकी छन्।

‘हामी भन्छौं कि हामी हाम्रै देशमा बस्ने भएकाले देशभक्त हौं र देशलाई प्रेम गर्ने भएकाले देशप्रेमी हौं भन्ने बुझ्छौं,’उनले भनेकी छन्, ‘यो कुरा गलत हो । हामीले गरेको एउटा कामले देशका जनतालाई भलो हुन्छ भने मात्र त्यो देशभक्ति हो। म आफ्नो आवाज उठाउन सक्दिन भने मेरो सामाजिक सञ्जालमा धेरै शुभचिन्तक भएको केही अर्थ लाग्दैन।’

आलियाको फिल्म ‘राजी’ पुस्तक ‘कालिङ सहमत’मा आधारित फिल्म हो। यो फिल्म कश्मीरको एक युवती वरीपरी घुमेको छ । ‘फिल्ममा कश्मीरलाई नकारात्मक किसिमले देखाइएको छैन । कश्मीर निकै राम्रो ठाउँ हो र मलाई निकै मन पनि पर्‍यो,’उनले भनेकी छन्,‘तर त्यहाँको घटनाले कश्मीरको पर्यटन व्यवसाय प्रभावित भइरहेको छ । आम मानिसलाई कश्मीर असुरक्षित गरिएको छ भने पनि त्यो गलत हो।’

मेघना गुलजारको निर्देशन रहेको फिल्ममा विकी कौशल र सोनी राजदानले पनि अभिनय गरेका छन् । फिल्म मे ११ मा रिलिज हुँदैछ ।

प्रकाशित: २४ वैशाख २०७५ ०५:३४ सोमबार

राष्ट्रवादी आलिया