कला/साहित्य

'सन अफ सरदार' फेम मुकुल देवको ५४ वर्षको उमेरमा निधन

हिन्दी सिनेमा आफ्ना लोकप्रिय अभिनेता मुकुल देवको आकस्मिक निधनले स्तब्ध भएको छ। मुकुल देव हालैका फिल्महरू 'सन अफ सरदार', 'आर...राजकुमार', 'जय हो' मा काम गरेका थिए।

५४ वर्षीय मुकुल देवको शुक्रबार राति मृत्यु भएको हो। शनिबार उनको मृत्युको खबर पाएपछि उनका साथीहरू उनको घर पुगेका छन्। उनको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन। उनको परिवार र साथीभाइबाट आधिकारिक बयानको प्रतीक्षा गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

उनकी नजिककी साथी तथा अभिनेत्री दीपशिखा नागपालले सामाजिक सञ्जालमा यो खबरको पुष्टि गरेकी छिन्। उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा पुरानो तस्बिर सेयर गर्दै लेखिन्, “RIP”। मुकुल देव अन्तिम पटक दिव्या दत्ताको अपोजिटमा हिन्दी फिल्म 'एन्ट द एन्ड' मा देखिएका थिए। उनी अभिनेता राहुल देवका कान्छा भाइ हुन्।

धारावाहिक 'मुमकिन' (१९९६) बाट अभिनयमा डेब्यू गरेका मुकुल देवले 'फियर फ्याक्टर इन्डिया' को पहिलो सिजन होस्ट गरेका थिए। उनले 'दस्तक' बाट आफ्नो फिल्मी करियरको सुरुवात गरे जसमा उनले एसीपी रोहित मल्होत्राको भूमिका निभाएका थिए। यो पूर्व मिस युनिभर्स सुष्मिता सेनको पनि पहिलो फिल्म थियो। एजेन्सी

प्रकाशित: १० जेष्ठ २०८२ १३:०७ शनिबार