कला

सुरु भयो साकेला उभौली

दिक्तेलमा साकेला नाच्दै किरात समुदायका युवायुवती । तस्बिर : दमन राई/नागरिक

खोटाङ– किरात समुदायको महान् चाड साकेला उभौली सुरु भएको छ। वैशाख पूर्णिमाको अवसरमा सोमबार सुरु भएको साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिन्छ।

राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष अञ्जना राईले बताईन्।

साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्न सुरु गरिन्छ । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ।

साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ ।

चराचुरुङगी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ । साकेन्वा, साकेवा, साकला लगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षिको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ।

किरात बसोबास रहेको प्रत्येक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले दिनरात गुञ्जायमान बन्ने गरेको छ । आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने गरिन्छ । विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैर–किरातीले समेत जातीय सदभाव र साँस्कृतिक सहअस्तित्वका रुपमा साकेला नाच्ने गरेका छन्।

साकेला उभौलीको अवसरमा खोटाङका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा साकेला नाचिँदैछ । साकेला उभौलीको सुरुका दिन हरेक वर्ष किराती तथा गैर–किरातीले सदरमुकाम रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलको मझुवागढी, रुपाकोट, बुईपा, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुङ्गा, छोङ्खा, हलेसी तुवाचुङ नगरपालिकाको हलेसी लगायतका ऐतिहासिक महत्व बोकेका पर्यटकीय स्थलमा पुगेर साकेला नाच्ने गर्छन् ।

उभौलीको स्वागतमा दिनभर पर्यटकीय स्थलहरू ढोल, झ्याम्टाको आवाज र गीतले गुञ्जायमान बन्ने गरेको छ । खोटाङमा साकेला उभौलीको पहिलो दिन रमाईलो गर्न पिकनिकको शैलीमा ऐतिहासिक एवं पर्यटकीय स्थलमा साकेला नाच्न जाने प्रचलन किरात राई यायोक्खाले एक दशकअघिबाट मात्र सुरु गरेको हो । हरेक वर्ष दिक्तेलस्थित किरात राई यायोक्खाको कार्यालयमा पूजाआजापछि दिक्तेलमा औपचारिकरुपमा साकेला उदघाटन गर्ने गरिएको छ।

साकेला उदघाटन लगत्तै ढोलझ्याम्टाको तालमा नाचगान गर्दै मझुवागढी पुगेर साँझमा फर्कने प्रचलन छ । बैसाख २२ गते दिक्तेल बजारको हाटडाँडामा, बैसाख २६ गते हेलीप्याडमा, बैसाख २९ गते रत्नपार्कमा र जेठ ५ गते खोटाङ बिकास मञ्चको कार्यालयमा धुमधामकासाथ मनाइने साकेला उभौली आगामी जेठ १२ गते माटिकोरे खेलमैदानमा प्रदर्शनी गर्दै समापन गरिने यायोक्खाकी अध्यक्ष राईले बताईन्।

साकेला पर्व र साकेला नाचको सुरुवातका विषयमा विभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । यद्यपि, किरात समुदायको आदिम पूर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन्।

 

प्रकाशित: १८ वैशाख २०७५ ०३:११ मंगलबार

सुरु साकेला उभौली