कला/संस्कृति

दृष्टिपथ

दुई लघुकथा

१) दृष्टिपथ

‘रमा, एक कप चिया देऊ न!’ पत्रिका पढिरहेका उनका श्रीमानले आखैँ नउठाई फर्माए।

उनी मोबाइलमा केही पढिरहेकी थिइन्। उनलाई हतारो र चटारो थियो। देशका चर्चित अन्तर्वार्ताकारले लघुकथासम्बन्धी अन्तरवार्ताका लागि केही प्रश्न लेखेर पठाएका रहेछन्। उत्तर लेख्ने क्रममा श्रीमानको कुरा नसुनेझैँ एकोहोरो लेखिरहिन्।

श्रीमान् फतफताउन थाले, ‘पोथी बासे घर बिग्रिन्छ भन्थे, बुढापाकाले! घरव्यवहार भुलेर एकोहोरो लघुकथामा लागेर के पो गर्छु भन्ने सुर होला?’

उनले असन्तोष भावले श्रीमानतिर हेर्दै भनिन्, `हातखुट्टा भएका मान्छेले एक कप चिया पकाएर खान सक्नु हुन्न र मलाई घोचपेच गरिराको?´

बुढीका कुरा सुनेर  रन्थनिदै उनले भने, ‘मैले पकाएर  खाने भए यो घरमा तेरो के काम? कहिले भात डढाएको छ कहिले तरकारी! लघुकथा भनेपछि यसको सुर पनि कता जान्छ  कुन्नि? केके न गरेको भन्ठान्दी हो।’

उनले पनि झोँकै झोकमा जवाफ फर्काइन्, ‘जीवनमा सबैले आआफ्नो रुचिको काम गर्छन्। मैले पनि त्यही गरेर के बिराएँ?’

श्रीमानले झर्किदै भने,`घरकी मूलीलाई घरको पो चिन्ता हुनुपर्छ अनि पो घर स्वर्ग बन्छ।’   

‘मूर्खसँग दैव डराउनुपर्छ’ भन्ने सोचेर उनले काम रोकिन्। जसै चिया उम्लिदै थियो। उनका मनमा विगतका ज्वारभाटाहरू उम्लिदै  थिए। लेखनमा तगारो, हिँडाइमा तगारो! मन अमिलो भयो तर पनि चियो मीठो पकाएर दिइन्। चिया पिउनुको सट्टा श्रीमान जुरुक्क उठे र उनलाई अँगालोमा बाँधेर भने, `मैले मेरी श्रीमतीलाई चिनिनछु। हार्दिक बधाई छ बुढी!’

उनी तीन छक्क परेर श्रीमान महोदयको अनुहार पढन थालिन्। उनले पत्रिकामा छापिएको एउटा समाचार देखाए।

समाचारपत्रमा उनको फोटोसहित लेखिएको थियो, ‘लघुकथाको सर्वोत्कृष्ट सम्मान, रमा कार्कीलाई प्रदान गरिने!´

२) अन्तर्ध्वनि

‘तिमी शक्तिशाली कि म?’ अप्रत्यासित आवाज उसको कानमा ठोक्कियो।

उत्तर दिनको सट्टा उसले प्रतिप्रश्न गर्‍याे, `तिमी को हौ?’

सन्की पारामा उत्तर आयो, ‘अरे, मलाई चिनेनौ? म विज्ञान र प्रविधि हुँ। संसार जित्ने म एक्लो बृहस्पति हुँ। आज विश्व मेरो शक्तिमा टिकेको छ।’

उसले तर्क गर्‍याे, `चेतनशील र विवेकशील प्राणि मानवभन्दा तिमी कसरी ठूलो भयौ?’

हाँसोको अट्टहासभित्र आवाज घन्कियो, ‘मैले चाहे भने संसारका हर सुखसुविधा र सहजता प्रदान गरेर तिम्रो जीवनलाई स्वर्गसरी बनाउन सक्छु। मलाई जिस्क्यायौ भने पलभरमै तिम्रा शान र सभ्यता सबै निमिट्यान्न पार्न सक्छु।’

ऊ झसङ्ग भएर बिउँझियो। आँखा मिच्यो। घडी हेर्‍याे, रातको २ बजेको रहेछ।

‘हैट! सपना पो रहेछ´ भन्दै फेरि निदाउने प्रयत्न गर्दै थियो।

उसको मस्तिष्कभरि एकनासले कुरा खेलिरह्यो, ‘आखिर ऊ पनि त मानिसकै चेतनाको उपज न हो।’

प्रकाशित: १६ चैत्र २०८१ १२:१० शनिबार

# Laghukatha # Nagarik