कला/संस्कृति

पूर्वराजदूत सुन्दासलाई ‘बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने

सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ। मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गर्ने निर्णय गरेको हो।

पुरस्कार छनोट समितिको बैठकले सुन्दासलाई एक लाख १० हजार रुपैयाँ राशिसहित सम्मान प्रदान गर्ने निर्णय गरेको छ। भोजपुरमा २००२ साल असार ३२ गते जन्मिएका सुन्दास तीन दशकभन्दा बढी समयदेखि सामाजिक न्यायका क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

२०७४ देखि २०७८ सम्म बहराइनका लागि नेपाली राजदूतका रूपमा कार्यभार सम्हालेका उनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दास २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिमा सदस्य थिए।

२०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गर्दै जातीय भेदभावविरुद्ध अभियान चलाएका उनले २०७२ सालमा दलितमैत्री संविधान निर्माणका लागि तीन महिनासम्म शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकका रूपमा भूमिका निर्वाह गरेका थिए।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्षका रूपमा २० वर्ष काम गरेका उनले एशिया दलित अधिकार मञ्चका संस्थापक सदस्यका रूपमा समेत योगदान दिएका छन्।

पुरस्कार प्राप्त गर्न लाग्दा आफूलाई हौसला मिलेको बताउँदै सुन्दासले समाज परिवर्तनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।

‘जीवनमा सक्षम भएपछि बुद्धको सिद्धान्त अनुसरण गरेको छु,’ उनले भने, ‘मैले कमाएको केही हिस्सा समाजको सहयोगका लागि खर्च गर्ने प्रण गरेको थिएँ। नामका लागि होइन, समाज परिवर्तनका लागि काम गरेको हुँ। सम्मान पाउँदा खुसी लागेको छ, तर सम्मानका लागि मात्र म काम गर्दिनँ।’

सामाजिक अभियन्ता मात्र नभई सुन्दास लेखकका रूपमा पनि स्थापित छन्। भोजपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने ‘भोजपुरको चिनारी’ पुस्तक लेखेका उनले ‘चोरिएको रात’ नामक कथा संग्रह पनि प्रकाशित गरिसकेका छन्।

यसअघि २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ द्वारा सम्मानित भएका थिए।

प्रकाशित: २ चैत्र २०८१ २०:३९ शनिबार