१६१६ साल भदौ २५ गते द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति काजी बनाएर खडा गरिएको नेपाली सेनाको जन्मस्थल गोर्खाको लिगलिग कोट हो। पछि पृथ्वीनारायण शाहको पालामा १८१९ सालमा मात्र पश्चिमा प्याराको कम्पनी अर्थात् गुल्मको संगठन सञ्चालन गर्न थालियो। त्यसपछि एकैपटक गीर्वाणयुद्धको पालामा जनरल भीमसेन थापाले पल्टन अर्थात् रेजिमेन्ट तथा कम्पु अर्थात् ब्रिगेडको संरचना थपे। पछि राणाहरूले बटालियन अर्थात् गण तथा डिभिजन अर्थात् प्रितना थप गरे।
यसरी नेपाली सेनामा परम्परागत संगठन हुँदै कम्पनी, रेजिमेन्ट, बटालियन, ब्रिगेड तथा डिभिजनसम्मको संगठन खडा हुँदै गए। द्रव्य शाहदेखि १८१९ सालबिचमा पक्कै पनि सैनिक संगठन थिए। त्यसमा केकस्ता दरबन्दी थिए? कुन कुन दर्जा थिए? कसकसले कति कमान्ड गर्थे ? भन्ने कुरा हालसम्म खोजतलासी गर्ने काम खासै भएको छैन। सुरुमा पृथ्वीनारायण शाहको सत्तारोहणदेखि १८२५ सालसम्म गोर्खाली सेना, त्यसपछि २०१६ सालसम्म नेपाली सेना, २०१७ सालपछि शाही सेना, त्यसपछि शाही नेपाली सेना र २०६३ सालपछि फेरि नेपाली सेनाको नामले चिनिएको छ। संसारका केही पुराना सेनामध्य अग्र पंक्तिमा पर्छ नेपाली सेना।
छाताधारी सेनाको सुरुवात
नेपाली जङ्गी अड्डाको युद्ध कार्य महानिर्देशनालयको मातहतमा रहेको विशेष फौज हाल विशेष फौज वाहिनीले सञ्चालन गर्छ। यो वाहिनीअन्तर्गत सबैभन्दा पुरानो विशेष फौज भैरवनाथ गण प्यारा कमान्डो, प्यारा तालिम शिक्षालय, सिंहनाथ गण कमान्डो तथा रेन्जर गण रहेका छन्। सुरुमा नम्बर १० वाहिनी र पछि विशेष फौज वाहिनी भएको हो।
यो वाहिनीको सस्थापक वाहिनीपति सहायक रथी चिनियाबहादुर बस्न्यात र त्यसपछि तुलाबहादुर थापा, दिगम्बरशमशेर राणा, प्यारजंग थापा, सदीपबहादुर शाह, छत्रमान सिंह गुरुङ, विप्लव गुरुङ, तोरणजंगबहादुर सिंह, दिलीपशमशेर राणा, विकासविक्रम शाह, हेमन्त कुँवर (दुई पटक), अनुज बस्न्यात, प्रह्लाद थापा, दीपक भारती, टेकबहादुर सिंह, कुबेर थापा (१० वाहिनीबाट विशेष फौज वाहिनी भएको समय), झङ्करबहादुर कडायत, बाबुकृष्ण कार्की, प्रेमध्वज अधिकारी, प्रेम शाही, अनुपजंग थापा, ध्रुवप्रकाश शाह, भुवन खत्री, श्रवणकुमार विष्ट तथा दीपेन्द्र गुरुङ (वर्तमान) वाहिनीपति हुन्।
नेपालमा छाताधारी सैनिक अंगको विकासलाई मूल्याङ्कन गर्दा इजरायल सरकारका तर्फबाट नेपाल आएका लेफ्टिनेन्ट कर्नेल मार्सल तुबियालाई सम्झनुपर्छ। इजरायल सरकारको सहयोगबाट प्राप्त प्यारा तालिम गराउनका लागि नेपालमा सात वर्ष बसेर उनले सम्पूर्ण तालिम संयन्त्रलाई महाराजगन्जस्थित लक्ष्मी निवास दरबार परिसरमा स्थापना गरे।
उनको मातहतमा इजरायली क्याप्टेन खुरे र क्याप्टेन गब्बईले पनि ठुलो भूमिका निभाएका थिए। कर्नेल मार्सलको टोली २०२२ साल असोजमा नै नेपाल आएको थियो। जसले नेपाली सेनामा प्यारा जम्प, प्यारा कमान्डो, पाथ फाइन्डरजस्ता तालिम सञ्चालनमा सहयोग गरी तत्कालीन युवराज वीरेन्द्र तथा अधिराजकुमार धीरेन्द्रलाई पनि प्यारा जम्प गराएका थिए।
नेपाल–इजरायल सम्बन्धमा नेपाली सेनाको छाताधारी फौज कोसेढुङ्गा साबित भएको छ भने नेपाली सेनामा पहिलो पटक विशेष फौज खडा गर्न इजरायलको अहम् भूमिका रहेको छ।
इजरायलबाट तालिम प्राप्त गरी फर्केका एक सय १५ जनाको टोेलीलाई काठमाडौंको महाराजगन्जस्थित मोहनशमशेर राणाको लक्ष्मी निवास दरबारमा २०२२ साल चैत ४ गतेदेखि ६ गतेसम्म राखियो। उक्त दरबारमा नेपाली सेनाको अंग बसेको पहिलो पटक थियो। चैत ८ गते नै उक्त टोलीलाई ‘प्यारा गुल्म’ नामकरण गरी जसअन्तर्गत प्यारा ट्रेनिङ स्कुल, डेलिभरी सेक्सन र फोल्डिङ सेक्सन राखियो।
उक्त टोलीलाई नेपाली सेनाको प्रचलित खाईपाई आएको तलबमा ३० प्रतिशत थप र रासन स्केलमा दोब्बर सुविधा दिएर उक्त गुल्म खडा भएको थियो। क्रमिक रूपले विस्तार गर्दै लगिने क्रममा ‘ओभर अल कमान्ड’ प्रमुख सेनानीले गर्ने गरी प्यारा राइफल गुल्मबाट प्यारा गण र प्यारा तालिम शिक्षालय खडा भए। प्यारा गणलाई पछि भैरवनाथ गणको निशान प्रदान गरी भैरवनाथ नामकरण भयो। यो गण नै नेपाली सेनाको पहिलो स्पेसल फोर्स हो।
सुरुको प्यारा राइफल गुल्म इजरायल पुगेर तालिम प्राप्त स्पेसल फोर्स हो। त्यसैगरी पछि भैरवनाथ गणकै गुल्मको नाम लिएर बेलायतको स्पेसल फोर्सबाट तालिम प्राप्त तीन गुल्म र इजरायली सेनाबाट तालिम प्राप्त भैरव नाथ ‘ङ’ गुल्म थपिए। अहिले ‘घ’ गुल्म र ‘ङ’ गुल्मलाई एकीकृत गरेर युद्ध भैरव गण ‘स्पेसल फोर्स’ बनाइएको छ। वास्तवमा युद्ध भैरव गण पनि भैरवनाथ गणको सन्तति नै हो। हालसम्म नेपाली सेनामा प्यारा जम्प गर्ने अर्थात् छाताधारी तालिम गर्ने हजारौं छन्।
नेपाली सेनाको विकासक्रममा सेनाभित्रका विभिन्न अंगहरूको ठुलो योगदान छ। तीमध्ये प्यारा अंग पनि एक हो। जसलाई हाल आएर छाताधारी फौज वा एअर वोर्न ट्रुप्सका रूपमा चिनिन्छ। नेपालमा यसको इतिहासलाई केलाउँदा २०२२ साल भदौ ६ गते उपसेनानी (पछि सहायक रथी) चिनियाबहादुर बस्नेतको नेतृत्वमा चार जना अधिकृत, तीन जना जमदार र ७ जना बिल्लादार गरी जम्मा १५ जना मित्रराष्ट्र इजरायल गई प्यारा जम्प शिक्षकको तालिम लिएका थिए। त्यो टोलीले सुरुमा प्यारा बेसिक र पछि प्यारा शिक्षक तालिम पाएका थिए।
उक्त शिक्षक तालिम गर्ने टोलीमा उपसेनानीहरू चिनियाबहादुर बस्नेत, तुलाबहादुर थापा, उज्ज्वलनारायण शाह र मानबहादुर शाह थिए। जमदारहरूमा ठाकुरराज थापा, रविन्द्र कार्की, शेखरकुमार हमाल र नारायणराज रेग्मी थिए भने हुद्दामा पूर्णलाल श्रेष्ठ, भरतमान रञ्जितकार, छानबहादुर गुरुङ, वसन्त गुरुङ, इन्द्रबहादुर अधिकारी र कृष्णबहादुर गुरुङ तथा अमल्दार पञ्चसिंह गुरुङ थिए। हुद्दा कृष्णबहादुर गुरुङको सुबेदार छँदा जम्प मास्टर कार्य गर्दागर्दै २०२९ भदौ २९ गतेको हवाई दुर्घटनामा परी मृत्यु भयो भने अमल्दार पञ्चसिंह गुरुé नेपाली सेना छोडेर प्रहरीको डिएसपी हुनुभयो।
पहिलो टोलीले इजरायलमा तालिम गर्दागर्दै नेपाली सेनाबाट थप एक सय जनाको एक गुल्म पनि प्यारा जम्पको बेसिक तालिम गर्न इजरायल पठाइयो। जसमा मेजर यदुवन शमशेर राणाले नेतृत्व गरी मेडिकलबाट क्याप्टेन डा. खगेन्द्र श्रेष्ठ र इन्जिनियरबाट मेजर यज्ञविक्रम राणा पनि सोही टोलीमा गएका थिए।
उक्त दुवै टोली तालिम पूरा गरी २ं०२२ चैत ४ गते नेपाल फर्कियो। नेपाल फर्किएको तीन दिनपछि उक्त टोलीमध्ये एक सेक्सनले चैत्र ८ गते घोडेजात्राको दिन काठमाडौंको टुडिखेलमा प्यारा जम्प गरी पहिलो पटक नेपालमा प्रदर्शन गरेको थियो। यही दिन राजा महेन्द्रबाट पहिला इजरायली प्यारा विङ लगाइसकेका एक सय १५ जनालाई नै नेपाली प्याराको प्यारा विङ प्रदान भएको थियो भने सो अवसरमा राजा महेन्द्रको निमन्त्रणामा इजरायलको राष्ट्रपति जालमान साजारको पनि उपस्थिति थियो। प्यारा विङ प्रदान गर्ने कार्यक्रमका लागि नै उनलाई नेपाल बोलाइएको थियो। नेपाली सेनाको इतिहासमा उक्त प्यारा जम्प गर्ने टोलीलाई ठुलो महत्त्व दिएर नेपाल तथा इजरायलका राष्ट्र प्रमुखहरूको उपस्थिति भएको हो।
अति नै परिश्रम र कडा तालिम गर्ने विशेष फौज (स्पेसल फोर्स) का रूपमा प्यारा गुल्म र पछि विस्तार हुँदै गएका गणसमेत रहेका थिए भने अहिले पनि रहेका छन्। यसरी सुरु भएको छाताधारी फौजको हाल बाहिनी नै खडा भइसकेको छ।
अर्को रोचक तथ्य के पनि हो भने नेपाली सेनाको मेडिकल अंगमा मात्र महिला कर्मचारी भर्ना गरिने गरिएकोमा छाताधारी फौजका लागि प्यारा फोल्डरका रूपमा महिलाहरू भर्ना गरिए। कतिपय महिलाले प्यारा जम्प गरिसकेका छन्। तीमध्ये पहिलो महिला प्यारा जम्पर उपसेनानी श्रीमती अन्नपूर्ण कुँवर हुन् भने पुरुषतर्फ इजरायलमा गई प्यारा जम्प गर्ने नेपाली सेनाको पहिलो प्यारा जम्पर उपसेनानी (पछि सहायक रथी) चिनियाबहादुर बस्नेत हुन्। त्यसैगरी पहिलो टेन्डम जम्प गर्ने सेनानी प्रज्वल बस्नेत हुन्, जसले सहसेनानी (हाल महासेनानी) उज्ज्वल थापालाई साथमा लिएर जम्प गरेका थिए।
वीरगतिप्राप्त छाताधारी सेना
नेपाली सेनाको छाताधारी फौजको इतिहास खोतल्दा तालिम र अभ्यासका सिलसिलामा सैनिक पाइलटसहित धेरैले वीरगति पाएका छन्। वीरगति पाउनुहुने सबैलाई सम्झनुपर्दा अस्ट्रेलियन पाइलट क्याप्टेन किंग, काठमाडौं माली गाउँका पाइलट सेनानी रामबहादुर कार्की, ललितपुर जावलाखेलका पाइलट सहसेनानी उलेन्द्रध्वज कार्की, काठमाडौं नक्सालका पाइलट उपसेनानी योगेन्द्रजंग थापा, सर्लाही मतिपुरका सुवेदार कृष्णबहादुर गुरुङ, मकवानपुर कुलेखानीका जमदार प्रेमबहादुर हमाल, अर्घाखाँची हंसपुरका जमदार पूर्णबहादुर थापा मगर, दोलखा मकैबारीका हुद्दा रिक्तबहादुर खत्री, ललितपुर गोदावरीका प्युठ मिनबहादुर तामाङ र ओखलढुंगा जिनाखुका अमल्दार नरबहादुर थापा मगरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु।
त्यसैगरी सोलुखुम्बु सल्लेरीका सिपाही अगदबहादुर कार्की, लमजुङका सिपाही बुद्धिबहादुर थापा मगर, दोलखा बोचका सिपाही कुलबहादुर कार्की, कास्की पोखराका सिपाही कृष्णबहादुर थापा, सिन्धुलीका सिपाही हरिबहादुर भट्टराई तथा ओखलढुंगाका प्युठ तुलाबहादुर थापा मगर, रामेछापका सिपाही सिंहबहादुर नगरकोटी, गोर्खा बगानका प्युठ वीरमान थापा मगर, काठमाडौं फर्पिङका सिपाही कृष्णबहादुर थापा मगर, दोलखा मागा पौवाका सिपाही टेकबहादुर राना मगर, भक्तपुर कालिकाका अमल्दार नरबहादुर नगरकोटी, दाङ कालेगाँउका सिपाही दामोदर गिरी, लमजुङका सिपाही जितबहादुर कुवर, चरीकोटका सिपाही रामप्रसाद उप्रेती, तनहुँका सिपाही चक्रबहादुर पाण्डे, ओललढुंगाका प्युठ रामबहादुर रायमाझी, सुनसरी पञ्चकन्याका सिपाही देवबहादुर कुँवर, दैलेख तोलीका सिपाही अबिराम थापा मगर, तनहुँका सिपाही बेनीबहादुर थापा मगर, ओखलढुंगा कटुन्जेका सिपाही मीनबहादुर गुरुङ, ललितपुर गोदावरीका सिपाही तेजबहादुर लामा, काठमाडौं नैकापका अमल्दार कर्मचारी उदयबहादुर बस्नेत, भक्तपुर चित्तपोलका अमल्दार तेजबहादुर थापा, लमजुङ कुन्छाका हुद्दा अर्जुन कुँवर तथा चितवन अयोध्यापुरीका आइतबहादुर सुनुवार हुनुपर्छ। ती सबै वीर सैनिक तथा विदेशी पाइलटप्रति हार्दिक श्रद्धाञ्जली !
प्रकाशित: २ चैत्र २०८१ ११:०९ शनिबार