ठगहरूले इन्टरनेटबाट सेलिब्रिटीका तस्बिर, दृश्य र स्वरमार्फत ठग्ने नयाँ माध्यम फेला पारेका छन्। उनीहरूले सिनेमा तथा टेलिभिजनसँगै ग्ल्यामर उद्योगका नामी व्यक्तिका तस्बिर, भिडियो र अडियो आफूअनुकूल प्रयोग गरी सर्वसाधारणलाई ठग्न प्रयोग गरिरहेको देखिएको छ। पहिले यस्ता सामग्री प्रयोग गर्दा वास्तविक तस्बिर प्रयोग हुन्थे। त्यसबापत नामी व्यक्तिले केही रकम पनि पाउँथे तर एआईको माध्यमबाट बनेका भिडियोमार्फत गरिएका अधिकांश प्रचार र ठगीबाट तिनले सुको पैसा पाउँदैनन्। यसले उनीहरूको छविमा घात पुर्याइरहेको हुन्छ।
सार्वजनिक व्यक्तिका तस्बिर, अडियो र भिडियो प्रयोग गरी कुनै विश्वसनीय सामग्री तयार पार्नुलाई ‘डिपफेक’ भनिन्छ। अमेरिकामा कतिपय सेलिब्रिटीले ‘डिपफेक’बाट दिक्क भएर सिनेटमा कानुन बनाउन दबाब दिन थालेका छन्। तीमध्येका एक हुन्, अमेरिकी टेलिभिजनमा सेलिब्रिटी कार्यक्रम सञ्चालक स्टिभ हार्भे। पुस्तक लेखक तथा टिभी कार्यक्रम सञ्चालक हार्भेको हाँस्य छविलाई धेरै डिपफेकरले एआईमार्फत मिमहरू बनाउने गरेका छन्।
रकस्टार वा राक्षसहरूबाट भाग्दै गरेका हार्भेका ती मिमहरू हाँसो उठ्ने र हानिरहित देखिए पनि पछिल्लो समय अरूलाई आर्थिक रूपमा ठग्न नयाँनयाँ भिडियोसमेत बनाइन थालेको छ। उनी मात्र होइन, प्रख्यात गायिका टेलर स्विफ्टलगायत अन्यका पनि त्यस्ता डिपफेक भिडियोमार्फत सर्वसाधारणलाई ठग्ने कार्य तीव्र भइरहेको छ। उनीहरूले कुनै सरकारी कार्यक्रमका लागि पैसा उठाइरहेको भिडियो देखिन्छ र प्रशंसकले बहकाउमा लागेर ठुलो रकम हाल्ने गरेका छन् ।
यस्तो गुनासो निकै बढेपछि हार्भे अहिले त्यस्ता डिजिटल ठगलाई कानुनी दायरामा ल्याउन वकालत गरिरहेका छन्। सिनेट पनि यसमा गम्भीर भएको देखिन्छ। अमेरिकाले ‘नो फेक्स एक्ट’ लाई अद्यावधिक गर्दै अनधिकृत एआई भिडियो, तस्बिर र अडियोका निर्माता तथा प्लेटफर्मलाई दण्डको दायरामा ल्याउने तयारी गरिरहेको छ। ‘टेक इट डाउन एक्ट’ नामकरण गरिएको यस एक्टले डिपफेक पोर्नोग्राफीलाई अपराध घोषित गर्नेछ। यसमा अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्पले अगुवाइ गरिरहेकी छन्।
डिपफेकर्सबाट ठगिने क्रम पछिल्लो समय चुलिएको छ। एक फ्रान्सेली महिलाले त ब्रान्ड पिटको नक्कली भिडियोबाट प्रभावित भएर साढे आठ लाख डलर गुमाएकी थिइन्।
हलिउडकी अभिनेत्री स्कार्लेट जोन्सन भन्छिन्, ‘एआई र डिपफेकको सुनामी आइरहेको छ तर हाम्रो देशका कानुन निर्माताले त्यसलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिरहेका छन्। जबकि अन्य मुलुकले यसमा पहल गरिसके।’
डिपफेकको तनाव कस्तो भने केही समयअघि प्रख्यात गायक केन वेस्टको एउटा भिडियो सार्वजनिक भएको थियो। सो भिडियोमा उनले यहुदी विरोधी भाषण गरिरहेको देखिन्छ। यो भिडियोपछि त हलिउडका सारा कलाकारहरू आतंकित नै भएका छन्। त्यसैले हार्भेले अगुवाइ गरेको कानुन निर्माण दबाब समूहलाई रेकर्डिङ एकेडेमी, स्क्रिन एक्टर्स गिल्ड, मोसन पिक्चर एसोसिएसन मात्र नभएर ठुला ट्यालेन्ट म्यानेज्मेन्ट कम्पनी र प्रख्यात कलाकारले समेत समर्थन गरेका छन्। ‘यसलाई केहीले अभिव्यक्ति स्वतन्त्रता भन्लान् तर यो त बोल्ने स्वतन्त्रताको दुरुपयोग हो। त्यसैले यसमा सांसदहरू पनि सक्रिय भएर लाग्नुपर्छ। उनीहरू गम्भीर भएनन् भने अन्ततः उनीहरूलाई पनि नोक्सान नै हुनेछ,’ हार्भेले प्रतिक्रिया दिँदै भनेका छन्।
नो फेक्स एक्टलाई पुनः सिनेटमा पेस गर्नुअघि चर्चामा ल्याउन हार्भेले सक्दो अभियान चलाइरहेका छन्।
यो कानुन बन्यो भने डिपफेक भिडियोहरू जुनसुकै प्लेटफर्ममा राखिए पनि दण्डित हुनुपर्नेछ। हुन त पाँच हजार डलर जरिवाना तिराइए पनि त्यसले सचेतनाको काम गर्ने हार्भेको विश्वास छ। तर केही संस्थाले जुन रूपमा कानुन तयार भइरहेको छ, त्यसले बढी नै नियमन गर्ने चिन्ता बढेको बताइरहेका छन्। यस्तो वकालत गर्नेमा पब्लिक नलेज, सेन्टर फर डेमोक्रेसी एन्ड टेक्नोलजी, अमेरिकन लाइब्रेरी एसोसिएसन तथा इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसन जस्ता संस्था छन्।
तिनको भनाइ छ– यस्तो कानुनले भविष्यमा व्यंग्य भिडियो पनि कोपभाजनमा पर्नेछ र अमेरिकी संविधानले प्रदान गरेको स्वतन्त्रता खतरामा पर्न सक्छ ।
त्यसो त डिपफेकरहरूबाट जोगाउन प्रविधि कम्पनीहरूले पनि आफ्नो ठाउँबाट योगदान दिइरहेका छन्। भर्मिलियो एआईजस्ता कम्पनीले हलिउडका ट्यालेन्ट एजेन्सी र फिल्म स्टुडियोसँग मिलेर ट्रेस आइडी नामक एउटा प्लेटफर्म बनाइरहेका छन्, जसले डिपफेक भिडियोहरू पत्ता लगाउने र त्यसलाई वेबसाइटबाट हटाउन सघाउने छ। भर्मिलियोका प्रमुख कार्यकारी ड्यान निनिले भन्छन्, ‘सन् २०१८ मा १९ हजार डिपफेक सामग्री थिए। अहिले हरेक मिनेट १० लाख डिपफेक बनाइन्छन्।’
सेलिब्रिटीको डिपफेक यति चाँडो फैलन्छ कि केही मिनेटमै अर्बौं वेबसाइटमा पुगिसकेको हुन्छ। तिनलाई खोज्नु सेलिब्रिटीका लागि एकदम जटिल र दिक्कलाग्दो बन्न पुग्छ। त्यसलाई सहजीकरण गर्न ट्रेस आइडी नामक एप तयार पारिएको हो। यो एपको सदस्यता लिइसकेपछि हरेक सेकेन्ड सेलिब्रिटीहरूको डिपफेक भिडियो कहाँ कहाँ पुगे भन्ने हेर्न पाइन्छ र तिनलाई रोक्न सकिन्छ।
प्रामाणिक सामग्री र एआई निर्मित सामग्री चिन्न यो एपले डिजिटल फिंगरप्रिन्टिङ तयार पार्छ। एआईको एउटा भिडियो लाखौं डेटाका टुक्राहरूबाट तयार पारिएको हुन्छ। ती डेटाका टुक्राहरू खोज्ने काम यो एपले गर्छ। एपले इन्टरनेटमा वास्तविक तस्बिर कहाँ पाइन्छ भनी खोज्छ।
त्यसो त भर्मिलियो कम्पनीले बनाएको एपको ग्राहक बन्ने औकात सबैको हुँदैन। प्रख्यात सेलिब्रिटीले मात्र त्यसको शुल्क तिर्न सक्छन्। सर्वसाधारणको पहुँचमा यस्ता एप आइपुग्न निकै लामो समय लाग्नुअघि नै सरकारले कानुन बनाएर तिनलाई कस्नुपर्ने हार्भेको भनाइ छ।
प्रकाशित: १ चैत्र २०८१ ०७:५७ शुक्रबार