कला/संस्कृति

मुखियालाई वासु शशी साहित्य सम्मान तथा वैद्य र पहाडीलाई पुरस्कार

वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई 'वासु शशी साहित्य सम्मान-२०८१’ प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी साहित्यकारहरू विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार-२०८१’ र सन्ध्या पहाडीलाई ‘कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८१’ प्रदान गर्ने भएको छ।

पुरस्कारको राशि पच्चीस हजार रूपैयाँ रहेको छ। सो निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो।

६ दशकदेखि नेपाली नाटक र गीत लेखनमा सक्रिय मुखियाका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन्। मुखियाका नाटकहरू अनि देउराली रुन्छ र क्रसमा टाँगिएको जिन्दगी तथा एकांकीहरू अँध्यारोमा बाँच्नेहरू र फेरि इतिहास दोहोरिन्छ कृतिहरू प्रकाशित छन्।

यसैगरी चार दशकदेखि सक्रिय वैद्यका चार कवितासंग्रह प्रकाशित छन्। वैद्यका आकाश छुन खोज्ने मनहरू, समय र सपनाहरू, अक्षर सिम्फोनी र युगको तटमा उभिएर कृति प्रकाशित छन्।

यसैगरी तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील पहाडीका कविता र सम्पादनका कृतिहरू प्रकाशित छन्।

पहाडीका मृगतृष्णा र अन्य कविता, घामका अक्षर र विश्व नारी नेपाली कविता (सहलेखन) प्रकाशित छन्। उक्त सम्मान तथा पुरस्कारहरू वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८९औं जन्मजयन्तीको अवसरमा आउँदाे २०८१ चैत १३ गते प्रदान गरिने जानकारी परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताए।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाईं, राधेश्याम लेकाली, माेमिला जोशी, श्यामल र प्रतिसरा सायमी पुरस्कृत भइसकेका छन्।

यसैगरी वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरू तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भाेजपुरे र किरण खरेल सम्मानित भइसकेका छन्।

प्रकाशित: २८ फाल्गुन २०८१ १३:१६ बुधबार

# Kala yatra # Nagarik