कला/संस्कृति

हल्लै हल्लामा चलिरहेछ, मायाको शेयर बजार मेरो!

गजल

१) गजल

निश्चित भएपछि हार मेरो

मलाई चिन्दैन परिवार मेरो

घातक हुन्छ जीतको नशा

यही, ठान्दछ विचार मेरो

सतहमा बस्न मान्दैन मन

कसरी होला त उद्दार मेरो

हल्लै हल्लामा चलिरहेछ

मायाको शेयर बजार मेरो

छरपष्ट छन् नियमन निकाय

यसरी टिक्छ त सरकार मेरो

ख्यालख्यालमै तिमीसँग

जोडियो दिलको तार मेरो

आज आएर बल्ल बुझियो

एकतर्फी रहेछ प्यार मेरो।

२) गजल

भत्किएछ लौ घर हजुरको

सुनेँ नराम्रो खबर हजुरको

दगा दिए सि आफ्नाहरूले

को मान्छ त नि भर हजुरको

हजुरकै घरको मैनिखाँबो

मान्दैन किन डर हजुरको

खोई किन कुन्नि मलाई फेरि

लाग्दैछ माया भर्खर हजुरको

सायद, पागल हुन्छु होला म

चुम्न नपाए अधर हजुरको

पत्थरले पो फूलको जवाफ

दिँदो रहेछ शहर हजुरको।

३) गजल

पिलाइ अधरको मात तिमीलाई

यो साँझ मदहोश रात तिमीलाई

रुझाउनु छ अङ्गप्रत्यङ्ग मेरा

गराएर चुम्बन बर्सात तिमीलाई

भीषण क्रान्ति देखियो क्रीडामा

चुटेछ मायाले निर्घात तिमीलाई

म छोड्नेछु तिम्रो गल्ली सखारै

नलागोस् अरूको बात तिमीलाई

निष्कर्षमा केही दियो प्रीतिले

यादहरूको सौगात तिमीलाई।

४)गजल

जीवनको घुम्ती पार गरेर फर्कें

लाग्दैछ मुटु चिरफार गरेर फर्कें

अति मुस्किलले चल्दैछ धड्कन

कसरी भनौं खै उपचार गरेर फर्कें

माया कै खातिर बगाएर आँसु

मायाकै बग्गी सवार गरेर फर्कें

जसले बेहाल बनाएथ्यो उसैले

लेखेको कथा साभार गरेर फर्कें

नजिकै हुँदो हो गन्तव्य सायद

आज म अल्लि हतार गरेर फर्कें।

५) गजल

बाँचेको पनि हो कसैको निम्ति

मर्दिन भयो भो कसैको निम्ति

सन्च बितोस् एकबारको जुनी

बेकार छ मर्न जो कसैको निम्ति

फुल्नु पनि त झर्नलाई रहेछ

नझर्न सके पो कसैको निम्ति 

न निखार्न सक्छु न सुधार्न सक्छु

लागेको आदत यो कसैको निम्ति

प्यासी थिएनन् अधरहरू मेरा

इनार खनेको कसैको निम्ति।

- सावित्री गिरी

प्रकाशित: २४ फाल्गुन २०८१ १२:०२ शनिबार

# Nagarik ko 'Akshaar' # Kala yatra