कला/संस्कृति

प्रयाग महाकुम्भमा छचल्किएको आस्था

नियात्रा

प्रयागराजमा महाकुम्भ हुने प्रचारप्रसार सुरु भएदेखि त्यही अवसर पारेर गंगा स्नान गर्नुपर्छ भन्ने लहर मनमा सुरु चल्न थालेको थियो। कुम्भमेला सुरु भएपछि चर्चित व्यक्ति नै पुगेर स्नान गरेका समाचार र तस्बिर सामाजिक सञ्जालमा छाउन थाले। त्यसले मनलाई झन् अस्थिर बनाउन थाल्यो। त्यही क्रममा घरबाट ६१ वर्षकी वृद्ध आमाको चाहना पनि गंगा स्नान गर्न जानुपर्ने सुनिन थाल्यो। मनको दबाबले झन् आकार लियो।

अन्ततः ४० दिन लामो मनोमन्थनले निष्कर्ष दियो, आमासहित प्रयाग तट पुग्ने। त्यसपछि हतारहतार काठमाडौंबाट निस्किएर कैलालीमा रहेकी आमासँग प्रयागराज पुगेँ। गंगा किनार पुग्दा कुम्भको ४५ औं दिन चल्दैथियो। अर्थात् महाकुम्भको अन्तिम दिन महाशिवरात्रिको संयोग पारेर हामी आमाछोराले पवित्र गंगा स्नान गर्‍यौं।

काठमाडौंबाट यात्राको सुरु

महाकुम्भ यात्रामा काठमाडौंबाट निस्कँदा म एक्लै थिएँ। कार्यालयको आधा दिनको काम भ्याएर दिउँसो दुई बजे नयाँ बसपार्क पुगेँ। टिकट काउन्टरतर्फ पाइला सार्दा बाटोमा टिकट बिचौलिया र बसका कर्मचारीहरूले घेरेर हत्तुहैरान पार्न थाले। दसैंतिहारका बेला तोकिएको भन्दा बढी भाडा तिर्छु भन्दा पनि एक सिट नपाइने तिता अनुभव अक्सर सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणले ब्यहोरेका हुन्छन्। बाँकी समय भने बसपार्क पुग्दा यात्रुको तानातान ब्यहोर्नुपर्छ। जसको भुक्तभोगी यसपटक म पनि भएँ।

धरान, जनकपुर, दाङ, नेपालगन्ज, चितवन, बुटवलका लागि चिच्याउनेका भिडमा एक अत्तरियाका लागि सोध्ने पनि सुनिए। उनको भिआइपी सोफा, लग्जरियस गाडी र त्यसमा पनि भाडामा ठुलै छुटको लोभमा म आस्वस्त भएँ। त्यसमा पनि रोजेकै सिटमा बस्न मिल्ने थप अर्को सुविधा थपे। त्यत्तिले चित्त नबुझेपछि काउन्टर पुग्नै नदिई पार्किङमा खडा बस हेर्न पुगेँ। सब उनले भनेजस्तै ठिकठाक लाग्यो, अनि हातोहात टिकट काटेँ।

टिकट काट्दा साढे तीनमा बस छुट्ने भन्दै बसपार्क बाहिर ननिस्किन चेतावनी सुनियो। घडी हेर्दा त्यो बेला सवा दुई बजिसकेको थियो। एक घण्टाको मात्रै समयमा कहाँ निस्कनु ? त्यसपछि बसपार्कमै रहेको पेट्रोल पम्पको खाली कुर्सीमा प्रतीक्षा गर्न थालेँ।

बसपार्कबाट बस मात्रै छुट्दैनन्। यात्रामा निस्कनेहरू आफन्तसँग छुट्छन्, त कोही जोडिन्छन्। मिलन र बिछोडका संवेदना बसपार्कभर असरल्ल भेटिन्छन्। मात्र ती कैद गर्ने समय र धैर्य हामीमा हुनुपर्छ। मेरा लागि घोषित रूपमै कम्तीमा एक घण्टा समय थियो। त्यो समय खर्चिन चाहिने धैर्य जुटाउन ती दृश्यहरू माध्यम बनाएँ।

यसै क्रममा ‘सालाजी !’ भन्दै पिठ्युँमा धाप बज्यो। मेरो एकाग्रता भंग भयो। पछाडि हेर्दा फुपाजु देखिनुभयो। अकस्मात् भेटिएका फुपाजुसँग केहीबेर हालखबर आदानप्रदान भयो। मैले आमासँग महाकुम्भ जान लागेको सुनाएँ, त्यसैका लागि घर जान लागेको थपेँ। उहाँले खुसी हुँदै प्रोत्साहन गर्न स्याबासी थप्नुभयो।

फुपाजु यातायात व्यवसायी समितिसँग आबद्ध पनि हुनुहुन्छ। उहाँले टिकटको कुरा सोध्नुभयो, मैले आफूले काटिसकेको सुनाएँ। केहीबेरको गफपछि उहाँ काममा जानुभयो, म फेरि एक्लै भएँ।

बल्लतल्ल साढे तीन बज्यो, बस पार्किङबाट बाहिर आएको देखिएन। बस स्टाफलाई फोन गरेँ– चार बजेको भाका सर्‍यो। फेरि पूर्ववत् दृश्यावलोकनमा समय खर्चिएँ। साढे चार बजेछ, बस आएन। कुर्नुको विकल्प थिएन, पाँच बजे बल्ल बस पार्किङ क्षेत्रबाट अगाडि निस्कियो। थप आधा घण्टा कुरेर साढे पाँचमा बसपार्कबाट बस बाहिर निस्कियो। फेरि कलंकीमा एक घण्टा रोकिएर साढे ६ बजे चन्द्रागिरितर्फ अघि बढ्यो।

सडकयात्राका दुःख हाम्रा नियति नै हुन्। यो दुःखबाट हरक्षण गुज्रिनुपर्ने विवशता हामीसँग छ। न त बाटोको अवस्था ठिक छ, न सवारी साधन चुस्त छन्। न सवारी कर्मचारीको बोली र व्यवहारमा नै मिठास छ।

लामो यात्रामा भोग्नुपर्ने अर्को चिन्ता खाना पनि हुन्छ। कमिसनको लोभमा बस कर्मचारीले खाना खान विकल्पहीन ठाउँमा रोक्छन्। जहाँको खाना गुणस्तर त परको कुरा भयो, स्वादशून्य पनि हुन्छ। यसमा सरकारको ध्यान कहिल्यै पुग्न सकेको छैन। जसोतसो फागुन १२ गते दिउँसो एक बजे अत्तरिया पुगेँ।

प्रयाग यात्रा

काठमाडौंबाट हिँडेर घर पुगेको दोस्रो दिन (फागुन १३) गते दिउँसो तीन बजे अत्तरियाबाट प्रयागराजको प्रस्थान गर्ने पूर्व निर्धारित कार्यक्रम तय भइसकेको थियो। महेन्द्रनगरबाट छुट्ने बस भएकाले आमासँग निर्धारित समयअगावै अत्तरिया बसपार्क पुगेँ। निर्धारित समयभन्दा आधा घण्टा बढी घर्किंदा पनि बस आएन।

‘नेपाली समय’ हामीले त्यहाँ पनि झेल्यौं। दुई घण्टा ढिलो बस आयो। धन्न रोजेकै सिट पाइयो। ६ लेनको सडकमा तीव्र गतिमा हिँडेको बस १० मिनेटमै धनगढी पुग्यो। केही मिनेट नबित्दै नेपाल–भारत सीमा गौरीफन्टा पुगेर बस अडियो।

नेपाली सीमा काट्दासम्म सुरक्षाकर्मीबाट केही रोकतोक भएन। सीमा छिचोलेर पारी पुग्दा भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सहज प्रवेश दिएन। धार्मिक यात्राको बस भए पनि झरेर चेकजाँच पार गर्नुपर्‍यो। जहाँ नेपाली नागरिकताको प्रमाणपत्र देखाउनुपथ्र्यो, एसएसबीका जाँचकी एउटै नागरिकता हेर्न तीन मिनेटसम्म लगाइरहेको देख्दा लाग्थ्यो, उनीहरूलाई नेपाली पढ्न कठिनाइ भइरहेको थियो।

पारी पुग्दा दुधुवा राष्ट्रिय निकुञ्ज हुँदै गुज्रिने सडक ‘सिंगल लेन’को थियो। न राम्रोसँग मर्मत गरिएको। ४५ किलोमिटर छिचोल्न डेढ घण्टा लाग्यो। बल्ल उत्तर प्रदेशको पलिया पुगियो। जहाँ इन्धन भरेर बस लखनउका लागि अघि बढ्यो। लखनउ उत्तर प्रदेशको राजधानी पनि हो। यही मार्गबाट अघि बढ्दै सीतापुर, लखनउ, रायबरेली हुँदै चार सय ५० किलोमिटर यात्रापछि फागुन १४ मा प्रयागराज पुग्यौं।

प्रयागराजमा हामी

महाकुम्भका लागि तयार गरिएको अस्थायी बसपार्क पुग्दा बिहानको पाँच बजेको थियो। झिसमिसे उज्यालोसहित नयाँ दिनको सुरुवात हुँदै थियो। लाखौं श्रद्धालु भक्तजनको भिड खचाखच थियो। तस्बिर र भिडिओमा जस्तो जनसागर देखिन्थ्यो, त्यसै दृश्य गंगातटमा उभिएको मेरा आँखासामुन्ने थियो।

वर्षौंदेखि सुन्दै आएका पवित्र नदी गंगा र यमुना आफ्नै गतिमा बहँदै थिए। यी नदी मिसिएको प्रयाग संगमतर्फ पाइला अघि बढे। त्यही संगममा लुप्त सरस्वती नदी मिसिने मान्यता छ। जहाँ हामीसँगै लाखौं मानिस एउटै उद्देश्यले अघि बढ्दै थिए। उद्देश्य थियो त केवल गंगा स्नान, त्यो पनि एक सय ४४ वर्षपछि लागेको महाकुम्भको अवसर पारेर।

प्रयाग तटले कुनै निश्चित जाति, उमेर, लिङ्गका समूहलाई मात्रै डाकेको थिएन। जहाँ साधुदेखि सन्तसम्म, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक र सनातनसँग जोडिएका सबै क्षेत्र र जातजातिका मानिस स्नान लिँदै थिए। जहाँ रौंजत्तिको विभेद देखिन्नथ्यो। गंगाले सबैलाई समान जल दिएर शुद्ध पारिरहेकी थिइन्।

म सोच्दै थिएँ, ४५ दिन चलेको यो कुम्भमा विश्वका कुन कुन कुनाबाट मानिस ओइरिए होलान्? गंगा किनारमा ओइरिएका करोडौं मानिस कुनै एक गाउँ, जिल्ला, प्रदेश वा देशबाटै मात्र आउन त सम्भव भएन होला? आस्थाको डोरीले तानेर सबै डोरिएका हुन्। कसैले जानैपर्ने भनेर धम्काएको थिएन, लोभ देखाएको थिएन। न कसैले निमन्त्रणा कार्ड नै पठाएको थियो। तैपनि करोडौं मानिस स्वेच्छाले महाकुम्भमा समाहित भए।

४५ दिनमा करिब ७० करोड भक्तजनले कुम्भमेलामा स्नान गरेको अनुमान गरिएको छ। जसमध्ये ५० लाख त नेपालबाटै गएको भनिएको छ। यसको आधिकारिक पुष्टि भने भएको छैन। यति छोटो अवधिमा निश्चित स्थानमा यति धेरै मानिसको संख्या भेला भएको ऐतिहासिक रेकर्ड भनेर दाबी पनि गरिएको छ।

स्नान अनुभव

स्नान र पूजाकर्मको काम १२ बजे सक्यौं। मध्य फागुनमै प्रयागराजमा चर्को गर्मी चढिसकेको थियो। गंगा र जमुनाजस्ता ठुला नदीको संगम पनि सूर्यको रापअगाडि नतमस्तक थियो। दशौं किलोमिटर क्षेत्रमा कहीं एक बिरुवासम्म थिएन। किनारमा तातो हावासँगै बालुवा उडिरहेको थियो।

केहीबेर प्रयागराजको कुम्भ मेलाको भव्यता नियाल्यौं। यो दृश्य तयार पार्न केही वर्षअघिकै तयारी प्रतीत हुन्थ्यो। नयाँ एअरपोर्ट, फराकिला सडक, रेलमार्गसँगको कनेक्टिभिटी, सयौं हेक्टरमा फैलिएको बसपार्क (जुन अस्थायी रूपमा निर्माण गरिएको थियो), बसपार्कदेखि संगमसम्मको बाटो, लाखौं शौचालय, अस्थायी विद्युत् व्यवस्थापन।

यी सबैको तयारी केही महिनामा पूरा हुन्न। ठुलो योजना र लामो तयारीले मात्रै सम्भव भएको हुनुपर्छ। तर, यति ठुलो तयारी र योजनामा हरियाली र स्वच्छतामा भने ध्यान नपुगेको झल्किन्थ्यो।

काम फत्ते भएपछि र केहीबेर त्यहाँको भव्यता नियालेर त्रिवेणीधामबाट फर्किने सुरसारमा लाग्यौं। अनि त्यहाँबाट बसपार्कसम्म पुग्न ट्याम्पोको सहारा लिइयो।

प्रयागबाट फिर्ती

प्रयाग कुम्भमा बुबाको श्राद्ध गर्नुपर्ने थियो। जसकारण हामी आमाछोराले दुई दिनदेखि खाना खाएका थिएनौं। काम सकेर बसपार्क फर्कंदा वरिपरिका खाजा पसलमा खान सक्ने अवस्था देखिएन। सँगै त्यहाँको तातो हावा र उडेको बालुवाले स्थिति असहज थियो। बसपार्कमा बसमा सँगै गएका यात्रु जमघट हुँदा दिउँसोको तीन बज्यो।

त्यसपछि त्यहाँबाट फर्किएपछि बिहान दुई बजे पलिया पुगियो। जहाँबाट फेरि राष्ट्रिय निकुञ्जमा राति यात्रा गर्न प्रतिबन्धित भएका कारण पाँच बजे अगावै हिँड्न सम्भव थिएन। जहाँ तीन घण्टा बिताउन निकै कठिन भयो। पलियाका लामखुट्टेको टोकाइसँग रात बिताउनु सहज थिएन। बसभरिका यात्रु गफिएर त्यो समय बितायौं।

पाँच बजेपछि हिँडेको बस अत्तरिया पुग्दा बिहान ७ बजेको थियो। जहाँ घर पुगेर अत्तरियादेखि प्रयागराज र प्रयागराजदेखि अत्तरियासम्मको यात्रा समाप्त भयो।

नेपालले सिक्नुपर्ने पाठ

मलाई सधैं लाग्थ्यो, गंगातट पवित्र मात्र होइन, मनमोहक र शीतल पनि होला, कल्कलाउँदो ध्वनिसहितको स्वच्छ गंगा। जहाँ नदी किनारमा हरियाली होला, बालुवै बालुवाको मरुभूमि नहोला, जसले आध्यात्मिक मनोकांक्षा मात्रै होइन, आत्मीय शीतलता प्रदान गर्ला। तर, प्रयागतटमा यी सबै दृश्य थिएनन्। मरुभूमिबिचमा भीमकाय नदीको संगम र त्यही संगममा एक धार्मिक र आध्यात्मिक विरासत मात्र थियो।

यही कुरा अपवादमा काठमाडौंका केही नदीबाहेक नेपालका नदीहरू स्वच्छ, निर्मल, हरियालीपूर्ण पर्यावरणले लपेटिएका छन्। र, गंगातटजस्तै धार्मिक र आध्यात्मिक विरासत पनि बोकेका छन्। कालीगण्डकी र त्रिशूलीको पवित्र संगम देवघाट क्षेत्र त्यसको एक उदाहरण हो।

यसबाहेक पनि नेपालमा यस्ता हजारौं नदी छन्, जहाँ बर्सेनि धार्मिक मेला लाग्छन्। जुन आफैंमा आस्थाका धरोहर पनि छन्। जसको हालसम्म उपयुक्त प्रचारप्रसार हुन सकेको छैन।

प्रयागराजजस्तै नेपाली धामहरूको पर्याप्त प्रचारप्रसार गर्न सके र त्यहाँजस्तै कुम्भको आयोजना गर्न सके नेपालले मनग्य लाभ लिन सक्छ। जसबाट नेपालमा सनातन मान्यता र हिन्दु धर्मको रक्षा हुने अर्को सकारात्मक पक्ष बन्न सक्छ। पूर्वज ऋषिमुनि, सनातन समाज र प्रकृतिबाटै वरदान पाएको नेपाल आफूसँगै रहेका अमूल्य निधिको उपयोग गर्न चुकेको देखिन्छ। प्रयागराजको कुम्भमेलाले पशुपतिनाथको देश नेपाललाई सिक्नुपर्ने मिठो पाठ सिकाएर बिदा भएको छ।  

प्रकाशित: २४ फाल्गुन २०८१ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App