कला/संस्कृति

मेरो एउटा साथी छ

कविता

साथीहरू सपना जस्तै आउँछन्

सपना जस्तै बिदा हुन्छन्

के साथी सपना जस्ता हुन् र

साथी जस्ता देखिने साथीहरू

के साथी हुन सक्छन् र?

मेरो एउटा साथी छ

जो मलाई हमेसा सताउँछ

उस्तै हसाउँछ

धुरुक्कै रुवाउँछ

नगर्नु गर्छ

म पनि त उसलाई उसै गर्छु

ऊ उन्मादमा रहन्छ

जसले रहमा पौडी खेल्दा ममाथि घोडा चढेको थियो

र मलाई मृत्युको मुखमा पुयाएको थियो

के मृत्युबोध गराउने पनि साथी हुन सक्छ र?

उ जामुनको रुखमा चढेको छ

र म रुख चढ्न नजान्नेलाई

जामुन चबाउँदै गिज्याइरहेछ

कुकुरसँग डराउँछ भन्ने उसलाई राम्रोसँग थाहा छ

तब

कुकुर डोर्‍याएर मेरोछेउ ल्याउँछ

र मलाई तुरुक्क रुने बनाउँछ

उसलाइ यो पनि थाहा छ

कि झरीमा रुझे भने म बिरामी पर्छु

तैपनि

झरीमा घामपानीको खेल खेलाएर मलाई बिरामी पार्छ

यति हुँदा पनि ऊ मेरो साथी बनेको छ

र म उसको साथी बनेको छु

पोहोर मेरा बा कल्लेरीको भिरबाट लड्दा

उसैले काँध थापेर सदरमुकाम अस्पताल पुर्‍याएको थियो

मेरी बैनीलाई केटाहरूले गिज्याउँदा

उसैले पाखुरा दाँजेको थियो

सरिताका बाले हेप्दा

पख्लास् यसका पनि दिन आउँछन् भन्ने साहसले बोलेको थियो

उसले मलाई अनेक दुःख दिएको छ

र उसले मलाई दुःखमा साथ दिएको छ

तब ऊ मेरो साथी बनेको छ

ऊ मेरो खुसीमा मभन्दा धेरै रमाउँछ

ऊ मेरो दुःख साथै बाडूँ भन्छ

उसलाई थाहा छ म दुःखी हुने कारणहरू

उसलाई थाहा छ म खुसी हुने कारणहरू

ऊ मलाई जे पनि भन्न सक्छ

म उसलाई जे पनि भन्न सक्छु

हामीबिच कुनै ग्रेटवाल छैन

जो आओस् र भत्काओस् हाम्रो मित्रताको पर्खाल

ऊ सपना जसरी आएको हैन

ऊ सपना जसरी जाने पनि छैन

ऊ ह्रदयमा बसेको छ

अचेल म अर्को साथीको खोजीमा छैन।

- अमृत    

प्रकाशित: २२ फाल्गुन २०८१ ११:४६ बिहीबार

# Nagarik ko 'Akshaar' # Muktak # Poem # Nagarik #Pustak lokarpan