कला

न जेठाजु चिन्छ न जेठानी चिन्छ अहिलेको पुस्ता, न देवर चिन्दछ न देउरानी चिन्छ अहिलेको पुस्ता!

गजल

१) गजल

अचानोको दुःखपीडा खुकुरीलाई के थाहा,

मन कति दुखेको छ निष्ठुरीलाई के थाहा।

मोहित पार्ने बास्ना छर्दै उफ्रदै छ बनपाखा,

आफ्नै सुगन्ध मृत्यु बन्छ कस्तुरीलाई के थाहा।

पिउनेले पिउँछ हरपल होसै गुमाउँछ साथी,

आफू नशालु छु भन्ने माधुरीलाई के थाहा।

बुनेर जाल फैलाउँछे हुर्काउँछे बच्चा पनि,

तिनै पछि काल हुन् माकुरीलाई के थाहा।

खोजेर ल्याउँछ रस बनाउँछ चाका पनि

झिकिदिन्छ मह कस्ले माहुरीलाई के थाहा।

२) गजल

न जेठाजु चिन्छ न जेठानी चिन्छ अहिलेको पुस्ता,

न देवर चिन्दछ न देउरानी चिन्छ अहिलेको पुस्ता।

दही मथेको देखोस् कहाँ कहिले सुनोस् घ्यार्रघुर्र

न नेती चिन्दछ न मदानी चिन्छ अहिलेको पुस्ता।

हिलो टेक्दैन, माटो  खेल्दैन, गर्दैन घास दाउरा पनि,

न फसल चिन्दछ न किसानी चिन्छ अहिलेको पुस्ता।

अन्न कसरी फल्छ केके फल्छ खोज्दैन कहिले पनि,

न ओखल चिन्दछ न मानी चिन्छ अहिलेको पुस्ता।

३) गजल

कृषि प्रधान देश हो मेरो गुन्द्रुक मगाउँछ,

युवालाई रोजगारी भन्छ विदेश भगाउँछ।

प्रजातन्त्र हो कि गणतन्त्र के आयो भन्छन्,

पुलिस अदालतको गेटमा हतकडी लगाउँछ।

न सिद्धान्तले काम गर्छ न नियमले काम गर्छ,

हारी राखेको जुवाडेको किन खाँडो जगाउँछ।

बाहिरबाट दुध आयात गर्छ किसानको लिंदैन,

मिल्क होलिडेमा कृषक दुध बाटोमा बगाउँछ।

जनतालाई दुई दुना चार पनि भएको देखिंदैन,

नेता विकासे गफ दिन्छ गफैले हिमाल नगाउँछ।

४) गजल

म मृत्युशय्यामा अक्सिजन खोजिरहेछु,

डक्टर नर्सको मधुर वचन खोजिरहेछु।

सुखमा एक आकार भएका मान्छेहरू,

दुःखमा पर्दा तिम्रो वदन खोजिरहेछु।

पाइनँ कुनै परिचय आफ्नै जीवनको,

आफैंभित्र आफ्नो वतन खोजिरहेछु।

यात्रा जारी छ नदीका दुई किनारको,

कुनै विन्दु छ ररु म घटन खोजिरहेछु।

लाजै पनि लजाउनेको के कुरा भो,

त्यो लाज छोप्ने म वसन खोजिरहेछु।

५) गजल

जिउँदै छ कि! हेर्दैन चिता बनाउन हतारो छ उसलाई,

अरू त्यस्तै हो आफ्नै मन मनाउन हतारो छ उसलाई।

आकाशमा बिजुली चम्के जस्तै मिलिक्क हुने बानी,

आयो र गयो उपस्थिति जनाउन हतारो छ उसलाई।

भानुभक्तका सङ्घर्षका कथा देख्दैन उसले कतै,

आफ्नै छेउ घाँसी कुवा खनाउन हतारो छ उसलाई।

आफ्नै आङमा भैँसी देख्दैन अरूका जुम्रा खोज्ने,

छारो उडाउँदै शरीरको कनाउन हतारो छ उसलाई। 

प्रकाशित: १२ फाल्गुन २०८१ १०:२१ सोमबार

# Laghuktha # Nagarik ko 'Akshaar' # Laghukatha Soundarya # Hamro Laghukatha Kendra # Poem # Bhanubhakta's story of struggle # Pain and suffering # agricultural country